ओलीले सरकार र दाहालले पार्टी हाँक्ने !

?????????????????

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्य विभाजनमा केन्द्रित भएको छ ।

शुक्रबारको बैठकमा मध्यभागमा बसेका अध्यक्ष दाहाललाई पार्टीको सबै कामकारवाही हेर्ने र अर्का अध्यक्ष ओलीले सरकारको सबै काम कारवाही हेर्नेगरी जिम्मेवारी बाँडफाड भएको बताइएको छ ।

एक महिना १३ दिनको स्थगनपछि बसेको बैठकमा अध्यक्षद्वय ओली र दाहालका आसन परिवर्तन गरेको दृश्यले धेरैको ध्यान पनि खिचेको छ ।

दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री र कार्यकारी अध्यक्षको दुबै अधिकार ओलीले नै प्रयोग गरेको भन्दै असन्तुष्ट बनेका दाहाललाई फकाउन ओलीलाई झण्डै डेढ महिना लागेको बताइन्छ ।

डेढ महिना अगाडी आफ्नै पद धरापमा परेको ओलीले यो बीचमा पाँच वर्ष प्रधानमन्त्री हुने बाटो मात्र खुलाएनन अध्यक्ष पद पनि जोगाए ।

त्यसका लागि दाहाललाई अध्यक्षको कार्यकारी अधिकार प्रयोग गर्न दिने सहमति गरेका थिए । सोही कार्यकारी अधिकार प्रयोगको पहिलो दिन थियो, शुक्रबारे स्थायी कमिटी बैठक ।

जहाँ नेताहरुको आसनको व्यवस्था पहिलेभन्दा फरक ढंगले गरिएको थियो । दाहालको कुर्सीको ठाउँ फेरेर बीचमा राखिएको थियो भने अर्का अध्यक्ष ओली र नेता माधव नेपाललाई दायाँवायाँ बस्ने व्यवस्था गरिएको थियो ।

दाहालको दायाँतिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल तथा वायाँतिर नेता नेपाल र उपाध्यक्ष वामदेव गौतम बसेका थिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यकारी अधिकार प्रयोग गर्दै दाहालले स्थायी कमिटी बैठक शुरुवात गरेका थिए ।

दाहालले बैठक शुरुवात गरेपछि प्रधानमन्त्री ओली करिब २० मिनेट बैठकमा बसेर बाहिरिएको तथा दाहालले बैठक सञ्चालन गरेका छन् ।

संभवत अब नेकपाभित्रको आन्तरिक विवाद मिल्ने संकेत देखिएको छ । ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउने र दाहालले पार्टीका कामकारबाहीमा केन्द्रित रहने स्थायी कमिटी बैठकले निर्णय गरेसँगै विवाद साम्य हुने भएको हो ।

टिप्पणी थप्नुहोस्