कोरोना महामारी भन्दा गरिबी र भोकमरी पीडादायी

-मोनिका वाईबा

महामारीले संगै ल्याएको भोकमरी र गरिबीका कारण देशका अधिकांश मानिसलाई प्रत्यक्ष प्रभाव पारेको छ । उनीहरु चाहेर पनि न केहि गर्न सक्छन् न चुप लागेर नै बस्न सक्छन । महामारीको शुरुवातमै विज्ञहरुले यसले पार्ने नकारात्मक असरको बारेमा अनुमान लगाए पनि यसलाई रोक्न भने सकेका छैनन् । गरिबी र भोकमरीले अहिले महामारीलाई नै चुनौती दिंदै रफ्तारका साथ मानिसहरुको दुःखको कारण बन्न लागिपरेका छन् । आँसु, आशा र डर एकै बनाएर बसिरहेका छन् मानिसहरु । एक छाक खानको लागि भौतारिरहेका छन् मनहरु । भोकाएको पेट अनी कोरोनाको डरमा परिणत गर्नुपरिरहेको छ ।

निषेधाज्ञाको समयमा ठेलागाडामा तरकारी बेच्न हिडेकी महिलालाई प्रहरीले हातपात नै गरेर ढकतराजु जफत गरे । त्यसपछि ती महिलाको आँखाबाट आँसु बर्सन थाल्यो । मानौं कसैले उसको बालबच्चा उ बाट टाढा बनायो । ठेलागाडामा तरकारी बेच्ने बाहेक आफुसंग अरु कुनै विकल्प नभएको बताउँदै उनी रोइरहेको भिडियो भाइरल बन्यो । एक छाक खानको लागि धेरै संघर्ष गर्नुपर्ने तर  सरकार सर्वसाधारण र निमूखाप्रति उत्तरदायी नबनेको उनको दुखेसो थियो । उनलाई सरकारको आदेश र महामारीको डर भन्दा पनि घरको चुलो कसरी बाल्ने र डेराभाडा कसरी तिर्ने भन्ने चिन्ता ठूलो छ ।

जेठको  बिहानको समयमा डेढ घण्टा हिंडेर बस्न बन्देज गरिएको ठाउँमा एकजना महिला निगुरो बेच्न बसेकी रहिछन् । प्रहरीले उनलाई केही भन्नु भन्दा अगाडी नै उनले आँखा भरी आँसु पार्दै ‘अरु ठाउँमा विक्दैन् सर, यहाँ अली-अली मान्छे आउँदा रैछन ।’ यो निगुरो विक्यो भने चामल किनेर लानु छ, हिजो दिनभर पूरै परिवार खटेर जंगलबाट खोजेर ल्याएको’ भन्न थालिछन् । उनीमा भएको महामारीको डर साहसमा परिणत गर्न उनलाई कत्ति समय पनि लागेन । त्यसको केहीबेरमै प्रहरी त्यहाँबाट फर्किएछन् ।

कोरोना भाइरस बाहेक अन्य रोगीहरुको अवस्था बारे स्पष्ट जानकारी पाउन कठिन छ । भोकलाई जित्न नसकेर सडकमै ज्यान गुमाउनेको पीडा पनि त्यस्तै । खाना खानकै लागि टन्टलापुर घाममा घन्टौ हिँडेर, बच्चा तथा रोगी लाइनमा बस्नेको संख्या बढिरहेका छन् । भरियाहरु काम नपाएर भोकको कारण नाम्लो आफ्नो पेटमा बाँधेर हिंडिरहेका छन । दैनिक काम गरेर जीवन चलाउनुपर्ने कृषि मजदुर वा आम श्रमजीवीहरु सबैको पीडा उस्तै छ । यस्तै यस्तै समस्याहरु बोकेका, भोको पेट भौतारिरहेका मानिसहरुको संख्या बढ्दो छ । यो सबै हुनुमा अभाव र गरिबी नै हो । गरिबीको अवस्थाले अरू धेरै अवसर र स्वतन्त्रतालाई खुम्च्याएको छ । गरिबी आफैंमा एउटा महामारी हो ।

मानव सभ्यताको शुरुवाती देखि नै महामारी विभिन्न रूपमा आइरहेका छन् । कहिले मानव रोगका रूपमा, कहिले पशु रोगका रूपमा, कहिले खडेरीका रूपमा। । महामारी मानव रोगका रूपमा आउँदा विश्वकै चिन्ता र चासोको विषय बन्ने गर्दछ । जति चिन्ता महामारीको हुने गर्दछ त्यो भन्दा बढी पीडा भोकमरीले निम्त्याउने गरेको इतिहास साक्षी छ । भोकको विकल्प भोजन मात्र हो । भोकबाट तडपिएको मानिस गोलाबारुददेखि पनि डराउँदैन भन्ने गरिन्छ । त्यसैले नै होला मानिसहरु भोकको लागि महामारीलाई नै चुनौती दिन बाध्य भएका छन् । समयमै योजना नबनाउनु असफल हुनका लागि योजना बनाउनु सरह हो भने झैं भोकमरीले चरम सिमा नाघ्दैछ । विश्वव्यापी हुँदै गएको भोकमरीले महामारी भन्दा अगाडी आफ्नो अस्तित्व बनाइसकेको भए पनि निर्मूल हुन सकेको छैन ।

भोकमरी र खाद्यसंकट यस्ता मानवीय समस्या हुन् जसको असर दिर्घकालिन र बहुआयामिक हुने गर्छ । कोरोना महामारीबाट पार नलागेसम्म भोकमरीलाई पार लगाउन निकै अफ्ट्यारो हुनु स्वाभाविक भएपनि त्यसमा ध्यान दिन आवश्यक छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनाको महामारी पूर्ण रूपमा साम्य हुन अरू दुईवर्ष कुर्नु पर्नेछ । यद्यपी, कोरोना भाइरसको भ्याक्सिन बन्यो भने अलि सहज हुन्छ । डब्लुएचओले पनि विश्वका करिब ७७ देशका १४० जनाभन्दा बढी वैज्ञानिकहरूसँग समीपमा रहेर काम गरिरहेको जनाए पनि लगभग नौं महिना देखि विश्वलाई कैद गरेको महामारीले अन्य महामारीसँग नजिक बनाउँदैछ ।

द स्टेट अफ फुड सेक्युरिटी एन्ड न्युट्रिसन इन द वल्र्डद्वारा सन् २०२० जुलाई मा प्रकाशित एउटा रिपोर्ट अनुसार सन् २०१९ मा मात्र ६९० मिलियन मानिस भोकमरीमा फसेका थिए । त्यो संख्या सन् २०१८ को भन्दा १० मिलियन बढी हो । त्यस्तै ६० मिलियन मानिस करिब ५ वर्षभित्रमा पोषिलो खाद्यान्न नपाएर कुपोषणमा परेका थिए ।

त्यसैगरि करिब पाँच महिना अघि संयुक्त राष्ट्र संघले चेतावनी दिंदै रिपोर्ट सार्वजनिक गरेको थियो । जसअनुसार महामारी सकिँदासम्म विश्वव्यापी गरिबी थप बढेर ५० करोड मानिसहरु गरिबीमा धकेलिने छन । ३० वर्षयताकै बढी विश्वव्यापी रुपमा गरिबी बढ्ने उक्त रिपोर्टले जानेको छ । करिब ४० प्रतिशत नयाँ गरिबहरु पूर्वी एसिया र प्यासिफिकमा देखापर्ने र एक तिहाइ दक्षिण एसिया र सबसाहारा अफ्रिकामा देखा पर्ने बताइएको छ ।

विश्व भोकमरी सूचकांकको रिपोर्टलाई संयुक्त राष्ट्रसंघको दिगो विकास एजेण्डासँग पनि आबद्ध गरिएसंगै सन् २०३० सम्म प्राप्त गर्ने भनिएको दिगो विकास एजेण्डामा एउटा लक्ष्य भोकमरीलाई शून्य पार्ने पनि हो । अबको भोकमरीले त्यसलाई थप जटिल पार्ने विज्ञहरु बताउँछन् । यी सबै रिर्पोटहरु र बर्तमान अवस्था हेर्दा कोरोना महामारी भन्दा पनि भोकमरीको महामारी भयानक बन्ने निश्चित देखिन्छ ।

टिप्पणी थप्नुहोस्