प्रममा भिल्ल जस्तो लडाकु नेताको दावा : राष्ट्रिय सभाको बाटो रोकिएको त होइन ?

-राजेन्द्र प्रसाद धिताल

नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमको राष्ट्रिय सभामा प्रवेश संदिग्ध भएकोछ । राष्ट्रिय सभामा गौतमको मनोनयनलाई लिएर नेकपाभित्रै मतभेद र बिरोध शुरु भएकोछ । राजनीतिक दलहरुमा युवा पुस्ताको प्रतिनिधित्व गराउनुपर्ने मांग त छँदैछ, कति नेताले गौतमको छवि धूमिल भएको प्रश्न पनि उठाएका छन् ।

बामदेव गौतमले राष्ट्रिय सभामा मनोनीत सदस्य पनि प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने मांग राखेका छन । संविधानमा संशोधन गरेर आफूलाई प्रधानमन्त्री बनाएको खण्डमा देशलाई दश बर्षमा चीनभन्दा माथिल्लो स्तरमा पुर्याउने उनको दावी छ । संविधान संशोधनै गरेर बामदेवलाई प्रधानमन्त्री बनाउने कुनै बाध्यतामा नेकपा छैन होला । स्वयं गौतममा पनि प्रधानमन्त्री बन्न आवश्यक योग्यता देखिदैन ।

बामपन्थी राजनीतिमा भिल्लको जस्तो लडाकु चरित्रका कारण बेलाबेलामा चर्चामा आउने गर्छन बामदेव गौतम । एमालेले नौ महिना अल्पमतको सरकार चलाएको बेला उनलाई पार्टीको उप-महासचिव बनाइएको थियो । एमालेको बिधानमा उप-महासचिव पदको प्रावधान थिएन । अल्पमत सरकारका प्रधानमन्त्री हुनुहुन्थ्यो मनमोहन अधिकारी । उहाँको हैसियत “डिजुरे” थियो । एमालेका महासचिव माधवकुमार नेपाल सरकारका उप-प्रधानमन्त्रीको हैसियत राख्दथे र डिफ्याक्टो प्रधानमन्त्री थिए । मनमोहन अधिकारीलाई बास्तबिक प्रधानमन्त्री बनाउँदा उहाँ पार्टीको कार्यनीतिभन्दा बाहिर जाने ठूलो त्राश थियो एमाले नेताहरुलाई ।

मनमोहन अधिकारीकै लोकतन्त्रका प्रतिको निष्ठा र त्यागको राग र तापको बलमा एमालेले स्थानीय चुनावमा अत्यधिक बिजय प्राप्त गरेको थियो । त्यतिबेला बामदेवले मदन भण्डारी बिरचित “जनताको बहुदलीय जनवाद,” छोटकरीमा, “जबज” बिश्व ब्रम्हाण्डमा फैलिने बताएका थिए । उनको अर्को चर्चित भनाइ थियो, “कांग्रेस र राप्रपा लगायतका प्रतिक्रियावादी शक्तिलाई एउटै खाल्डोमा पुर्नुपर्छ ।”

कांग्रेस खाल्डोमा पुरिएन । मनमोहन अधिकारीले संसद बिघटन गरेर मध्यावधि चुनाव गराउने घोषणा गर्नु भएपछि कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले त्यो घोषणाका बिरुध्द सर्वोच्च गुहारे । मनमोहनजीको घोषणालाई अदालतले निरस्त गर्यो । त्यसपछि देउवा राप्रपाको सहयोगमा प्रधानमन्त्री भए । पछि, देउवा सरकार आफनै पार्टीका कारण ढल्यो । त्यसपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठन भएको एमाले राप्रपा सरकारमा बामदेव उप-प्रधान तथा गृहमन्त्री भए । त्यतिबेला उनको नाम सुन तस्करहरुसंग जोडिएको थियो ।

वि.स. २००५ सालमा असार २६ गते प्युठानको दाखाक्वाडी गाविसमा जन्मेका वामदेवले स्थानिय मुक्ति हाइस्कुल बाट प्रवेशीका उत्तीर्ण गरेका थिए । मामा काङग्रेस नेता अनिरुद्र पण्डितको घरमा बसेर शिक्षा आर्जन गरेका भए तापनि विद्यार्थी साथीहरुको प्रभावमा गौतम वामपन्थी राजनीतितर्फ आकर्षित भए ।

कपिलबस्तुको पिपलहवा क्याम्पसमा प्रवेश गरिसकेपछि गौतमको राजनैतिक जीवनले नयाँ गति लियो । त्यसपछि कम्युनिस्ट पार्टीको राजनीतिगर्दै उनी बागलुङ जिल्लामा शिक्षक पेशामा लागे । २०२७ सालमा मालपोत कार्यालयको जागीरे वामदेव गौतमले बर्दियालाई आफ्नो राजनैतिक कर्म भूमि बनाए ।

२०४८ सालको संसदीय निर्वाचनमा बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित गौतमले २०५१ सालको मध्यावधि निर्वाचनमा पनि त्यहीबाट विजय हासिल गरे बर्दियालाई कर्मभूमि बनाएकाले यहाँको विकासको लागि पनि गौतमले पहल थाले । विशेष गरी बबई सिचाई योजनामा उनले गरेको कामको तारीफ गर्छन बर्दियाबासीहरु । एमाले पार्टी फुटे पछि गौतम २०५६ सालको संसदीय आम निर्वाचनमा काङग्रेस उमेदवार काशी पौडेलसंग पराजित भए । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा (माओवादी) का उमेदवार सरला रेग्मीसंग पराजित भए ।

गौतम दोस्रो संविधानसभाको चुनामा प्युठान र बर्दिया दुबै ठाउँबाट विजयी भएका हुन । पछि उनले बर्दिया क्षेत्र नम्बर १ छोडे । वामदेवलाई बर्दियासंग जोडेर हेर्ने कतिपय उनका शुभचिन्तकहरु उनले बर्दिया छोडे पछि रुष्ट भएका थिए । गत आम निर्वाचनमा गौतम पुन नेकपाको उमेदवारको रुपमा बर्दिया क्षेत्र नंं. १ मा उपस्थित भए । तर, दुई शक्तिशाली कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपाका नेता गौतम यस पटक नेपाली काङग्रेसका जिल्ला सभापति संजय गौतमसंग पराजित भए ।

राष्ट्रिय राजनीतिमा चर्चित गौतमले बर्दियालाई आफ्नो राजनैतिक थलो मात्र बनाएर यसको विकासमा ध्यान नदिएको आरोप लगाउनेको कमी छैन । छिमेकी जिल्लाहरुको दाँजोमा बर्दिया अवसरहरुबाट वञ्चितछ । बर्दियाको विकासमा वामदेव गौतमले बर्दियाको बिकासमा खासै ध्यान नदिएको आरोपलाई गलत भन्न नसकिने तर्क अधिवक्ता वीर बहादुर रोकायको छ ।

यसपटक वामदेब गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णयमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन । विरोधीहरुले उनलाई सत्ताको लोभी, झ्याल बाट छिरेर सत्तामा जान खोजेको आरोप लगाएकाछन । गत चुनावमा उनलाई पराजितगर्ने काङग्रेस नेता संजय कुमार गौतम यसलाई नेकपाको आन्तरिक राजनीति मान्दछन् । उनी भन्छन्, यस्तो निर्णयले लोकतन्त्रप्रति जन–आस्था बढाउदैन, त्यसैले प्रत्यक्ष चुनावमा हारेको ब्यक्तिलाई राष्ट्रिय सभामा मनोनीतगर्ने जस्तो विषयमा, जुनसुकै पार्टीका भएपनि, नेताहरुले सोचेर निर्णय लिनुपर्छ ।

गौतम राष्ट्रिय सभाको सदस्य हुनलागेकोमा ब्यबसायिकहरु खुशी छन । स्थानीय व्यवसायिक राम बहादुर चौधरी भन्दछन, “उनी सांसद बन्नमात्र राष्ट्रिय सभामा जान लागेका हैनन । उनले सत्ताको महत्वपूर्ण जिम्मेवारी पाउनेछन । यसले बर्दियाबासीलाई लाभ पुग्नेछ ।”

नेकपाका पुराना नेता प्रेम पोखरेल वामदेव गौतमलाई इमादार नेता ठान्छन र भन्छन, “वामदेवले अव पुराना कमजोरी बाट सिक्दै बर्दियाको विकासलाई आफ्नो प्राथमिकतामा राख्नु पर्नेछ । नेता गौतमलाई सत्तारोहणको नजिक देखेर उनको गृह जिल्ला बर्दियामा फेरि एक पटक आशा र उत्साह छाएको छ । तर, के यो उत्साह पूरा होला त ? अहिलेको नेकपा राजनीतिको एउटा यक्षप्रश्न यो पनि बनेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री