जनगणनामा लेखाउने लिम्बु समुदायको पुख्र्यौली भाषा बारे अन्यौल

-हर्ष सुब्बा

धरान । बार्‍हौं राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रिय तथ्यांक विभागले तयारी शुरु गरेसंगै पूर्वका मुख्य आदिबासी जनजाति समुदाय सम्बद्ध संस्थाहरु उनीहरुको धर्म र भाषाको महलमा के लेखाउने भन्ने बहस र छलफलमा जुटेका छन् ।

बाह्रौं जनगणनासम्म आइपुग्दा तथ्यांकका लागि धेरै महत्वपूर्ण प्रश्नावलीहरु थपिएका छन् । तर २०४६ साल पछिको राजनीतिक परिवर्तनपछि आदिबासी जनजाति समूदायले जनगणनामा उनीहरुको पहिचान खुल्ने कुरालाई प्राथमिकता दिदैं आएका हुन् ।

‘जनगणनामा धर्म, जाति र भाषाको तथ्यांक खुले नेपालका आदिबासी जनजातिको छुट्टै धर्म र भाषाको अस्तित्व संरक्षण गर्न राज्यलाई जिम्मेवार बनाउन सहज हुनेछ,’ लिम्बु समुदायको सामाजिक संगठन किराँत याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष डा.कमल तिगेला लिम्बु भन्छन् । त्यसैले जनगणनामा आदिबासी जनजातिहरुले धर्म र भाषा लाई प्राथमिकता दिदैं आएको उनको भनाई छ ।

पूर्वका मुख्य जाति समुदाय राई र लिम्बु समुदाय सम्बद्ध संगठनहरुले नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि २०५८ यताका जनगणनामा धर्मको महलमा किरात लेख्न अभियान नै चलाए । देशमा संघीय गणतन्त्र आएपछि पहिलो पटक हुने यसपालीको जनगणनामा लिम्बु समुदायमा भने धर्मको महलमा किरात र युमा धर्म लेख्ने मतभिन्नता देखिएको छ ।

चुम्लुङ उपाध्यक्ष डा.तिगेला लिम्बुका अनुसार लिम्बु समुदायमा देखिएको यो मतभिन्नताले नेपालका आदिबासीको छुट्टै धर्मको अघिल्लो तथ्यांक लाई घटाउने बाहेक नयाँ तथ्यांक बनाउने कार्य भने गर्दैन । उनका अनुसार २०६८ को जनगणनाले चौथौ स्थानमा नेपालमा किरात धर्मवालम्बी ४ लाखको हाराहारीमा रहेको देखाएको थियो ।

दुईवर्ष अघि गठन भएको युमा साम्यो महासभाले भने लिम्बु समुदायको मुन्धुममा उल्लेख भए अनुसार मौलिक धर्म युमा साम्यो भएको बताउँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति तिलविक्रम नेम्वाङ वैरागी काइला सहितका विव्दानहरुले लिम्बु जातिको धर्म युमा साम्यो भएको घोषणापत्र नै जारी गरेपछि महासभा यसैको प्रचारमा लागेको छ ।

युमा साम्योका केन्द्रिय महासचिव डा.रमेश इजम लिम्बु भन्छन् ‘लिम्बु जातिको मौलिक धर्म युमा नै हो, यस्लाई ओझेलमा परिएको थियो,जनगणनामा धर्मको सूचीमा नपरेपनि यसपाली युमा धर्म मान्नेहरुको संख्या खुलाउन हामी प्रचारमा जुट्ने छौं ।’ उका अनुसार १० वटा धर्मको सूचिमा नपरेपनि अघिल्लो जनगणनामा वहाई धर्म मान्ने १५०० रहेको तथ्यांङक जस्तै यसपाली युमा धर्म मान्नेहरुको तथ्यांक आउने निश्चित छ ।

पूर्वको लिम्बु समुदायमा राम्रै प्रभाव रहेको राजनीतिक पार्टी संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध, संघीय लिम्बुवान मञ्च भने जनगणनामा धर्मको सवालमा मौन रहने बताइएको छ । नेता कुमार लिङदेनका निकट मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भने ‘धर्मको सवालमा पार्टीले केही बोल्दैन, आफुले मान्ने धर्म लेख्ने अधिकार सबैलाई छ भन्ने मान्यता मञ्चले राखेको छ ।’

यसपालीको बाह्रौं जनगणनामा लिम्बु भाषाको तथ्यांकमा गडबढी हुनसक्ने कुरामा चुम्लुङ र युमा साम्यो दुवै पक्षले चिन्ता जनाएका छन् । चुम्लुङ उपाध्यक्ष डा. तिगेला लिम्बुका अनुसार अघिल्ला जनगणनाको प्रश्नावलीमा मातृभाषा र दोश्रो भाषा मात्र रहेकाले विवरण दाता लाई सहज थियो । पहाडी भेगका लिम्बु समुदायले मातृभाषा र बोलीचालीका दोश्रो भाषा पनि लिम्बु लेखाएका थिए । यसपाली पुख्र्यौली भाषा सोधरे अल्मलिन ठाउँ बनाएको उनि बताउँछन् ।

नेपाल राजपत्रमा प्रकाशित भाषा सम्बन्धि प्रश्नावलीमा सोधिने प्रश्नरु १–पुर्खाको भाषा कुन हो ? २–मातृभाषा कुल हो ? ३–दोश्रो भाषा कुन हो ? रहेका छन् । पछिल्लो समय लिम्बु समुदायमा मुन्धुममा उल्लेख भए अनुसार मौलिकतातर्फ फर्किने कुराहरु निकै उठ्ने गरेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले गैरप्राज्ञिक रुपमा यस्ता कुराहरुको प्रचार बढी भैरहेका छन् ।

युमा साम्यो महसचिव डा. इजमका अनुसार व्यक्तिगत धारणाको सामाजिक सञ्जालमा हुने प्रचारले समुदाय लाई अन्योल बनाउन सघाउँछ । उनले भने ‘लिम्बु जातिको पुख्र्यौली भाषा, मातृभाषा र बोलीचालीको भाषा सबै लिम्बु भाषा नै हो ।’ तर मौलिकता र मुन्धुमी भाषामा लिम्बु लाई याक्थुङ भनिन्छ । यसरी बुझेर पुख्र्यौली भाषाका नाम छुट्टै लेखियो भने पुख्र्यौली भाषाकै छुट्टा छुट्टै तथ्यांक बन्न सक्छ ।

उनले अघिल्लो जनगणनामा नै मातृभषा लिम्बु र दोश्रो भाषामा फरक फरक तथ्यांक आएको बताए । उनका अनुसार मातृभाषा लिम्बु लेखाउनेको संख्या तिनलाख ४५ हजार रहेको थियोे भने दोश्रो भाषा लिम्बु बोल्नेको संख्या भने तिन लाख ८५ हजार देखाइएको छ । लिम्बु भाषा बोल्ने भएपनि बहुभाषी समाजमा खश नेपाली बोल्ने पर्ने हुँदा अधिकांशले बोलिचालीको भाषा नेपाली लेखाए जस्तै पुख्र्यौली भाषा लेखाउन पनि अल्मलिन सक्ने उनको भनाई छ ।

चुम्लुङ उपाध्यक्ष डा. तिगेला लिम्बु भन्छन् ‘आदिबासी जनजाति र खस भाषा लाई मिनिमाइज गरेर संस्कृत लाई पुख्र्यौली भाषा भनि स्थापित गर्न यो अल्मल्याउने प्रश्नावली बनेको बुझिन्छ ।’ नेपालमा बोलिने भाषाको इतिहासबारे भाषा अनुसन्धानका ऐतिहासीक तथ्यहरु सहितका पुख्र्यौली भाषाका दस्तावेज रहेको उनले बताए । उनले भने ‘त्यस्मा जनगणनाको नाममा नयाँ मित्थ्याङ तयार गर्न खोजिएको हो कि भन्ने आशंका छ ।’

उनका अनुसार लिम्बु समुदायको मातृभाषा नै पुख्र्यौली भाषा हो । मातृ सत्तात्मक लिम्बु समाजमा पुर्खाहरुले मातृभाषा लिम्बु बोल्दै आएका हुन् । नेपालको ५९ आदिबासी जनजातिको सूचिमा लिम्बु जाति आदिबासी जातिको रुपमा सूचिकृत छ । जाति लिम्बु भएपछि पुख्र्यौली भाषा फरक हुन्न ।

उनले भने ‘यसबारे अन्यौलता हटाउन चुम्लुङले संस्थागत पहल गर्ने तयारी गरेको छ ।’ उनका अनुसार किरात याक्थुङ चुम्लुङ, किरात साहित्य उत्थान संघ र युमा साम्यो महासभा एकै ठाउँमा बसेर छलफल गरी एउटा टुंगोमा पुग्ने कार्ययोजना बन्दैछ । छुट्टै किरात सिरिजंगा लिपिमा साहित्यको भण्डार समेत भएको भाषाको कुरामा एक रुपता हुन जरुरी भएकोमा उनले जोड दिए ।

युमा साम्योले पनि पुख्र्यौली भाषाको सवालमा एक रुपता कायम गर्न चुम्लुङ संग सहकार्य गर्न खोजेको छ । महासचिव डा. इजमले भने ‘धर्मका सवालमा हामी स्पष्ट छौं, पुख्यौली भाषा, मातृभाषा र दोश्रो भाषाको तथ्याङमा एक रुपता आउनु पर्छ भन्ने हाम्रो धारणा छ ।’ महासभाले भाषाका कुरामा तत्काल कुनै निर्णय नगरेको उनले बताए । जनगणनाको मिति बाँकी नै रहेकाले यसबारे ठोस निर्णयमा पुग्ने उनले बताए ।

उनका अनुसार सामाजिक सञ्जालमा व्यक्तिगत रुपमा प्रकट गरिएको विचारहरुले अन्यौलता बढाउने भएकाले संस्थागत धारण बने पछि त्यस्मा सुधार आउन सक्छ । प्राज्ञिक वर्गका परामर्श, अघिल्ला जनगणनाहरुमा भएका त्रुटी सच्याउँदै अघि बढे यथार्थ तथ्यांकको नजिक पुग्न सकिने उनले बताए ।

संघीय लिम्बुवानका इजमका अनुसार लिम्बु भाषा अन्य भाषाहरु भन्दा वैज्ञानिक भाषा भएकाले मानिसको नामहरु समेत उल्था गर्ने क्षमता राख्दछ । यसै अनुसार लिम्बु लाई लिम्बु भाषामा उल्था गर्दा याक्थुङ हुन्छ । तर पुख्र्यौली कालदेखि लिम्बु जातिको लिम्बु भाषाका रुपमा सबै समुदायको जनजिब्रोमा बसेको छ ‘तथ्यांकमा यही तथ्य आउनु पर्छ ।’

तथ्याङ विभागको कार्यतालिका अनुसार आउँदो वैशाख २६ गतेदेखि जेठ १४ गतेभित्र घर तथा घरपरिवार सूचीकरण कार्य हुनेछ । त्यसैगरी जेष्ठ २५ देखि असार ८ गतेभित्र मुख्य प्रश्नावली जनगणना सकिने लक्ष्य राखिएको । असार ८ गते ‘जनगणना दिवस’ मनाइने छ ।

जनगणनामा सुपरिवेक्षक र गणकले सोध्ने प्रश्नावली ८० वटा छन् । जनगणनामा खटिने सुपरिवेक्षक र गणकले सोध्ने प्रश्नावली ८० वटा रहेका छन् । घरको प्रयोग, संख्या, तला, परिवारको बैंक खाता र ऋणमा पहुँच, सरकारी अनुदानमा बनेका घरको विवरण समेत संकलन गरिने छन् । व्यवसायिक तथा प्राविधिक शिक्षा वा तालिम, परिवारका महिला, पुरुष र अन्य लिंगी संख्या र परिवारको कृषि विवरण संकलन गरिने छ ।

घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तीको स्रोत, खाना पकाउने इन्धन खपतको समेत प्रश्नहरु छन् । मृत्यु, विदेश गएका, महिलाको नाममा घरजग्गा स्वामित्व विवरण, साना घरेलु व्यवसाय, घरायसी साधन र सुविधा सोधिने छन् । १३ किसिमको अपांगता सूचिकृत छने ।

टिप्पणी थप्नुहोस्