कम्युनिष्टहरुले संविधान र संघीयता फेल गराउन लागे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार र सत्तारुढ दलले संविधान र संघीयता प्रणाली सिद्ध्याउन लागिपरेको आरोप लगाएका छन् ।

केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्बर १ अन्तर्गतको मेची अन्चलका नेता कार्यकर्ताहरुसँगको जुम प्रशिक्षणका क्रममा उनले सरकारले हामीले लडेर ल्याएको संविधान र संघीयता प्रणालीलाई फेल गराएर जनवादी शासन ब्यवस्था ल्याउन लागेको आरोप लगाए ।

‘हामीले स्थापित गराएको समावेशी सिद्धान्त, राज्यको पुर्नसंरचना र संघीयताप्रति सरकार गम्भीर नभएको साथै प्रदेश सरकारको अधिकार खोसेर अधिनायकवादी बन्दै गएको छ,’उनले भने, ‘यो लोकतन्त्रका लागि यो ठुलो खतरा हो ।’

उपसभापति निधिले पार्टीको आगामी महाधिवेशन राष्ट्रिय निर्वाचनका लागि शसक्त निती र योजना बनाउन केन्द्रित हुँदै कांग्रेसलाई विजयी गराउन केन्द्रित हुनुपर्ने औंल्याए । ‘हामीले आगामी दुई बर्षभित्र राष्ट्रिय निर्वाचनका लागि योजना बनाउने मात्र होइन शासन प्रणाली जोगाउन पनि केन्द्रित हुनुपर्छ ।’उनले जनतालाई कांग्रेप्रति विश्वास दिलाउन र सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न सबै कार्यकर्ताहरुलाई आब्हान पनि गरे ।

उनले भने,‘कम्युनिष्ट सरकारले लोकतान्त्रिक शासन ब्यवस्थालाई सिद्ध्याउन लागिपरेकाले हामीले पार्टीलाई जिताउन र हामीले ल्याएको शासन प्रणालीलाई कस्तो बनाउने भन्ने बहस गर्नुपर्छ ।’

नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आगामी १४ औं महाधिवेशन निष्पक्ष ढंगबाट सम्पन्न हुनेमा शंका उत्पन्न भएको बताए ।

पार्टीका केन्द्रिय पदाधिकारी, जिल्ला नेतृत्व साथै आम कार्यकर्ताहरुले नै आगामी महाधिवेशन निष्पक्ष हुन नसक्ने बताइरहेका बेला यसतर्फ सबै सचेत हुनुपर्ने बताएका हुन ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न पार्टीलाई प्रविधिमैन्त्री बनाउँदै युवाहरुलाई आकर्षित गर्नुपर्ने बताए । कार्यक्रममा केन्द्रिय सदस्य भिष्मराज आङदम्बे, सरिता प्रसाइँ, नेता केशव कुमार बुढाथोकीलगायत ताप्लेजुङ, पाँचथर, इलाम र झापाका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री