असोज १ गतेबाट लामो दूरीका गाडी र आन्तरिक उडान संचालन

काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत चैत ११ देखि बन्द गरिएको आन्तरिक उडान र लामो दूरीका सवारीहरु असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आन्तरिक उडान र लामो दूरीका सवारीसाधनहरु असोज १ बाट सञ्चालन गरिने जानकारी दिए । उनले असोज १ गतेबाट नै होटल, रेष्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने बताए ।

सरकारले लामो दूरीको सवारी साधनमा भाडा ५० प्रतिशत बढी लिन सक्ने व्यवस्था गरे पनि हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने निर्णय गरेको छ ।

सरकारको निर्णयअनुसार हवाईजहाज र सार्वजनिक सवारी साधनले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, प्रत्येक एक सिटमा एक जना मात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ । प्रवक्ता ज्ञवालीले अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन भने कात्र्तिक ३० सम्म बन्द रहने बताए ।

यद्यपि, दार्चुलाको खलंगा पुलघाट र इलामको पशुपति नगर नाका आवश्यकता अनुसार दुबै देशको सहमतिमा खोल्न सकिने बताइएको छ । सरकारले चीनतर्फको रसुवागढी नाकाबाट पनि समस्यामा परेकाहरुलाई आउन दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यता अनुसार अन्तर्राष्ट्रिय नियमित र चार्टर्ड उडान पनि थप्न पाउने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

सरकारले हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने विदेशी नागरिकहरुलाई कार्तिक ३० गतेबाट (अक्टोबर १७) अनुमति दिने निर्णय पनि गरेको छ । विकास आयोजनामा आवश्यक पर्ने प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि पनि अनुमति खुला गरिएको छ ।

तर, पीसीआर परीक्षण गरी रिपोर्ट नगेटिभ हुनुपर्ने आयोजनाले व्यवस्था गरेको क्वरोन्टिनमा बस्नुपर्ने सर्तहरु राखिएको छ । शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टि, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने उनले बताए । सैलुन, ब्युटी पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार लगायतमा पनि तत्काल नखुल्ने भएका हुन ।

मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणमा परी घाइते भएकाहरुको जीवनभरीको उपचारको जिम्मा लिने पनि निर्णय गरेको छ । सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकास, शिक्षा र रोजगारीका लागि पनि सरकारले व्यवस्था गर्ने भएको छ ।

सरकारका प्रवक्ता ज्ञवालीले एसिड आक्रमणमा परेकाहरुलाई सीप विकासको अवसर मिलाउँदै योग्यता अनुसारको रोजगारी पनि उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए । यस्तै पेसा, व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसमेत सरकारले निर्णय गरेको छ ।

एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुयाउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिने सरकारले निर्णय गरेको छ । यस्तै भदौ २५ गतेलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय पनि सरकारले गरेको छ ।

१५ दिनभित्र कानुनको मस्यौदा तयार गर्ने र सरकारका निर्णयहरुको कार्यन्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा प्रत्येक मन्त्रालयका सचिवहरु सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मुख्य सचिवले तोकेको एक जना सहसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री