कोरोनाबाट काठमाडौं उपत्यकामा मात्र ९१ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो एक महिनायता कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदरसमेत बढेको छ ।

बढ्दो जनघनत्व रहेको उपत्यकामा हालसम्म संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३८३ जनाको मृत्यु भएको छ । यो संख्या कुल संक्रमित संख्याको ०.६४ प्रतिशत हो ।

हाल काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको दर कुल मृतक संख्याको २४ प्रतिशत रहेको छ । जसमा काठमाडौंमा ६९, भक्तपुरमा १३ र ललितपुरमा नौजना छन् । मृत्यु हुनेमध्ये धेरै दीर्घरोगी छन् ।

पछिल्लो समय उपत्यकामा संक्रमणको दर उच्च रहेको छ । १४ हजार बढीमा संक्रमण देखिएको छ । काठमाडौंमा ११ हजार ८३६, भक्तपुरमा एक हजार १८६ र ललितपुरमा एक हजार ३४७ जना संक्रमित छन् । संक्रमितमध्ये धेरैजना होम आइसोलेसनमा छन् ।

उपत्यकामा बुधबार अहिलेसम्मकै धेरै ७३९ जनामा संक्रमण देखिएको थियो । बिहीबार यो संख्या ६१८ जना रह्यो । दैनिकरुपमा कुल संक्रमित संख्याको झन्डै ५० प्रतिशत संक्रमित उपत्यकाका नै रहने गरेका छन् । संक्रमण समुदायस्तरमा नै गइसकेका कारण प्रतिदिन जोखिम बढ्दो छ ।

कोरोनाभाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो गरेसँगै सम्पूर्ण बजार, व्यवसायहरु खुलेका छन् भने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी(साधन पनि सञ्चालनमा आएका छन् । जसले अब संक्रमितको संख्या थेग्न नसक्ने अवस्था आउनसक्ने चिन्ता बढेको छ ।

टिप्पणी थप्नुहोस्