मगमग बासना आउने सांङ्गधुपको महिमा र महत्व

-मोनिका वाईबा

काठमाडौं । धार्मिक स्थलहरुमा बालिने धुपको बेग्लै महत्व छ । त्यसमध्ये बौद्ध गुम्बा तथा स्तुपाहरुमा बालिने साङ्गधुप प्राकृतिक र स्वास्थ्यका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । निषेधाज्ञा केही खुकुलो भएसँगै धार्मिक स्थलहरुमा पनि भक्तालुहरुको चहलपहल बढेको देख्न पाइन्छ । जहाँ मगमग बासना आउने साङ्गधुपको धुँवामा रमाउनेहरुको संख्या उल्लेख्य छ ।

हिजोआज साङ्ग धुपको सुगन्धले ठुलो र शान्त वातावरण भएको धार्मिक स्थल बौद्धनाथ स्तुपामा मानिसहरुको चहलपहल बढेको छ । निषेधाज्ञा अवधिभर जान रोक लगाएको स्तुपामा बिहान बेलुका कोरा गर्न आउने मानिसहरुको चहलपहल बढेको हो । ठुलो तामाको भाडामा बिहानदेखि रातीसम्म साङ्ग बालिने यस क्षेत्रमा धुपले आफ्नै पहिचान बनाएको छ । यहाँ उच्च लेकाली भेगमा पाइने कोणधारी बनस्पती धुपीलगायत अन्य धेरै बनस्पतीको पातलाई आगोमा बाल्ने गरिन्छ ।

धुप बाल्नुको अर्थ र महत्व एउटै भएपनि धार्मिक स्थल अनुसार धुपहरु फरक फरक हुन सक्छन् । बनस्पतिको पात तथा बोक्राबाट तयार भएको धुलो धुप प्रयोग हुने स्तुपा वरिपरि करिब २० प्रकारको जडिबुटीयुक्त धुप पाइने स्थानीय व्यापारीहरु बताउँछन् । औषधीय गुण र प्राकृतिक सुगन्ध भएको धुपको धुवाँ उडिरहनाले मानिसहरुलाई आनन्द महसुस गराउँछ । धेरै समयसम्म बस्न प्रेरित गरिरहन्छ । यहाँ बालिएको धुपको सुगन्ध लिनपनि धेरै मानिसहरु आउने गर्दछ । यसबाट आउने धुँवाले स्वास्थ्य संगसंगै पर्यावरणमा पनि फाइदा गर्दछ । प्राकृतिक वनस्पतिको धुपको सुगन्धले मानव शरीरको स्नायू प्रणालीमा प्रभाव पार्छ । त्यस्तै वायूमण्डलमा भएको हानीकारक जीवाणु नष्ट गर्नुका साथै वायू शुद्ध समेत पार्ने गर्दछ ।

साङ्गधुपको कच्चा पदार्थ आयात गरिएपछी त्यसलाई आवश्यकता अनुसारको आकारमा पिस्ने, छान्ने, मिसाउनेसम्मको विधी हुन्छ । स्तुपा परिसर भित्रै १०/१२ वटा साङ्ग धुपका पसलहरु छन । साङ्ग उपभोग गर्नेमा स्थानीयसंगै विदेशीहरु पनि रहेको पसलेहरु बताउँछन । त्यस्तै वरपरका गुम्बाका लागि पनि धेरै धुप चाहिने उनीहरुको भनाई छ । धुपी, साल तितेपाती लगायत सुगन्धित बनस्पति मिसाएर बनाइएका धुप बालेर ध्यान अर्थात मेडिटेसन गर्दा शरीरलाई ऊर्जा प्राप्त हुन्छ  । यस्ता जडिबुटीमा शरीरमा भएको टक्सिनलाई बाहिर निकाल्ने गुण हुन्छ । यसले फोक्सो, लगायत शरीरका भित्री अंगलाई पनि शक्ति प्रदान गर्छ ।

धुपको प्रयोग नै धार्मिक विधी पूरा गर्नको लागि भएको इतिहास पाइन्छ । त्यस्तै बौद्ध भिक्षुहरुको ध्यानसंग जति सम्बन्ध छ त्यतिनै धुपसंग पनि छ । बौद्धधर्ममा ८औं शताब्दीमा गुरु पध्मसंभव विभिन्न जडिबुटी बालेर ध्यानमा बसेको भन्ने गरिन्छ । सोही अनुसार उनका चेलाहरुले पनि ध्यान गर्दा धुप बाल्ने गरेको र अहिले हरेक बौद्धधर्म अनुयायीहरुले बाल्ने गरेको बताइन्छ । धुप बालेर पूजा र ध्यान गर्दा मनमा नकारात्मक विचारहरु नआउने र मन आनन्दित हुने भिक्षुहरु बताउँछन । त्यसैले उनीहरु पुरादिन धुपको सुगन्धमा बसिरहन्छन् । धुपको सुगन्धले इन्द्रीयहरुलाई शान्त गर्छ । धुपको धुँवा बिना कुनैपनि पुजा अपूर्ण नहुने उनीहरु बताउँछन । धुपको सुगन्धले उनीहरुको स्मरण शक्तिको क्षमता बढाउने समेत उनीहरुको तर्क छ ।

बजारमा दुई थरी धूपहरू पाइन्छ । केमिकलयुक्त र जडिबुटीयुक्त । बजारीकरणले गर्दा धुपमा जडिबुटी सट्टा विभिन्न केमिकलको प्रयोगले हानीकारक धुप पनि पाईने हुँदा यहाँको स्थानीय बासिन्दाहरु प्याकिंङ्ग नगरेको धुप किन्ने गरेको बताउँछन । खुला धुप किन्दा त्यसलाई प्रत्यक्ष छुन पाउने र सुँघ्न पाउने हुँदा उनीहरु सधै खुला साङ्गधुप किन्ने बताउँछन् ।

सन् २०१५ मा चीनमा भएको एक अध्ययन अनुसार अगरबत्ती धुप र चुरोटको धुवाँको दाँजोमा धुप नै बढी खतरनाक भएको समेत निस्कर्ष थियो । अध्ययनले धुपमा पाइने केही रसायनहरु चुरोटमा पनि पाइने बताउँदै अगरबत्ती प्रयोग नगर्न समेत सुझाव दिएको थियो । अध्ययनले धुपको नजिक लामो समयसम्म रहँदा शरीरको डिएनएमा नै परिवर्तन ल्याउने, मुटाजेनिक, जेनोटोक्सिक र साइटोटोक्सिक हुने र यसले क्यान्सर र फोक्सोको रोगहरु लाग्न सक्ने जनाएको हो ।

वन विभागले एक तथ्याङ्क अनुसार नेपालमा वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित १५ प्रतिशत साङ्गधुप चीन निर्यात गर्दै आएको अगरबत्ती उद्योग संघले जनाएको छ । त्यस्तै हाल नेपालमा प्रयोग हुने अधिकांस धुप विदेशबाट र कुनै कुनै हिमाली र पहाडी भेगबाट आयात हुने धुप अगरबत्ती उद्योगले जनाएको छ । अगरबत्ती उद्योग संघका अनुसार नेपालमा डेढ सय भन्दा बढी अगरबत्ती उद्योग छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री