इलामको भविष्य बनाउन दुनियाँभरका इलामेलीहरु जोडिए

-हर्ष सुब्बा

धरान । कहिल्यै एकै ठाउँमा भेला भएर छलफल गर्ने कल्पना नगरिएको कुरा इलामेलीहरुका लागि गएको शनिवार सम्भव भयो । इलाम पुख्र्यौली थलो भएर संसारको धेरै देशमा छरिएका उनीहरु भौतिक रुपमा एकै ठाउँमा भेला हुने कुरा शायद कसैले सोचेका थिएनन् ।

कोरोनाको डर, त्रासले ल्याएका लकडाउन र त्यसलाई सदुपयोग गर्ने अनलाइन प्रविधिको उपलव्धिका रुपमा इलामेलीहरुको भर्चुअल विश्व भेला सम्पन्न भएको हो । संसारको भिन्न गोलार्धमा रहेकाहरुको मनमा जन्मथलोका लागि केही गरौं भन्ने भएपनि भौतिक अवस्थाले केही गर्न नसकी रहेकाहरुले भर्चुअल संवादमा त्यो भावना प्रकट गरे ।

‘इलामको भविष्य बनाउन संसार भरका इलामेलीहरुवीच भर्चुअल संवादले एकात्मक सोच बनाउन सफल भएको’ विश्व भेला आयोजक समितिकी सदस्य इलामेली समाजका सुनसरी जिल्ला अध्यक्ष यशोदा कायस्थले बताइन् । समाजको प्रदेश १ समिति धरानको प्राविधिक पहलमा नेपालभरका इलामेली समाजले विश्व भेला गरेको हो ।

नेपालको प्राकृतिक पर्यटन र चियाको इतिहास आउँदा पूर्वको ऐतिहासीक गौंडा इलामको नाम आउँछ । नेपालमा हरेक विहान सूर्योदय इलामबाटै हुन्छ । डेढसय वर्षका इतिहासमा अहिलेसम्म इलामले दार्जिलिङलाई विर्साउने स्वरुप धारण गर्नुपर्नेमा गतिहीन भएर बसेको अवस्था भेलामा छलफलका मुख्य एजेण्डा बनेको थियो ।

अहिलेसम्म सरकारी योजनामा ओझेलमा परेको इलामबाट लगातार नीति निर्माण तहमा प्रतिनिधित्व गरेका नेताहरुका भनाई पनि विश्व भेलामा सहभागी चारसय बढी इलामेलीहरुले सुन्न पाए । पूर्व प्रधानमन्त्री, नेकपा वरिष्ठ नेता झलनाथ खनालले इलामलाई नमूना जिल्ला बनाउन सबैले आफ्नो आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताए ।

संविधानसभा अध्यक्ष, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको समृद्धिका लागि सबै इलामेको सक्रियता चाहिने बताए । तर, इलामबाट उपल्लो नीति निर्माण तहमा रहेका उनीहरुले इलाम अहिले कस्तो भैसक्नु पर्ने थियो र कस्तो अवस्थामा छ भन्ने कुरा भने बताएनन् ।

डेढ सय वर्षअघि राणाहरुले इलाममा शुरु गरेको चिया बगानले चियाको अन्तर्राष्ट्रिय बजारमा पहिचान पाउन भाग्दै आएको समस्या नेपालको आर्थिक क्षेत्रमा चर्चा भैरहने विषय हो । राज्यबाट भने इलामको विकास अहिले पनि शून्य विन्दुबाट गर्नुपर्ने जस्तो धारणामा रहेको पाइन्छ ।

भेलामा प्रदेश १ का कृषि राज्यमन्त्री राम रानाले भने ‘इलामलाई कृषिसंगै औद्योगिकरण गर्दै दीर्घकालिन योजना बनाएर अघि बढ्न जरुरी छ ।’ भेलामा इलाका पूर्व सांसदहरु, राजनीतिक दलका प्रतिनिधीहरु, सबै स्थानिय तहका प्रतिनिधिहरुका कुराहरु इलाम बाहिर र विश्वका विभिन्न देशमा रही त्यहाँका विकास अनुभूत गरेका इलामेलीहरुले सुने ।

उनीहरु बाहिरिंदा, विदेशिदा जस्तो इलाम छाडेका थिए, त्यसमा कुनै बदलाव नभएको अनुभूतिले चिन्तित भई भेलामा सहभागी भएका थिए । अधिकांश सहभागीहरुका राज्यले इलामलाई उपेक्षा गरेको धारणा पाइन्थ्यो । उनीहरुले इलामका लागि इलेमेलीहरुले आफैं प्रयास गर्ने र राज्यमा दबाब सिर्जना गर्ने सुझाव दिए ।

भेलाले इलामको अबको विकासका लागि योगदान जुटाउन विश्वमा रहेका इलामेलीहरुको तथ्यांक संकलन गरी इलामेलीहरुको विश्व मञ्च तयार घोषणा गरेको छ । सात बुँदे घोषणापत्रमा इलामको चियासहित कृषि उत्पादन र पर्यटनलाई विश्व बजारमा बजारीकरण गर्ने पहल गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।

इलामको पर्यटन विकास र कृषि औद्योगिकरण गर्न स्रोतहरुको पहिचान गर्न र पहुँचमा पुग्न सहयोग, सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । इलामलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्दै इलामलाई उच्च शिक्षाको केन्द्रको रुपमा विकास बनाउन पहल गरिने प्रतिबद्धता जाहेर गरिएको छ ।

कोभिड १९ को संक्रमणबाट बच्न इलामेली बीच सूचना आदान प्रदान गर्ने संजाल निर्माण गरिने उल्लेख छ । साथै इलाम कोरोना मुक्त राख्न विश्वभरबाट इलामको स्वास्थ्य संस्थाहरुको स्तर वृद्धिमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । भेलाले परिस्थिती सहज भएमा आगामी बर्ष इलाममा विश्व इलाम समृद्धि सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको छ ।

भेला इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको सभापतित्वमा भएका हो । समन्वय समितिले भेला आयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आयोजक समितिमा संयोजक बराल थिए । सदस्यहरु इलाम विकास समाज अध्यक्ष राधेश्याम लेकाली, इलामेली समाज प्रदेश १ संयोजक कृष्ण शाह, मोहन सुवेदी, इलाम समाज काठमाडौंकी सरस्वती कर्माचार्य, यशोदा कायस्थ र सदस्य सचिव अर्जुन भट्टराई रहेका थिए ।

टिप्पणी थप्नुहोस्