बन्दाबन्दीले बाँकेको होटल व्यवसायमा ७ अर्बको नोक्सानी

-सिराज खान

नेपालगन्ज । कोभिड १९ महामारीका कारण बाँकेको होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ । महामारी नियन्त्रणका लागि भनेर गरिएको बन्दाबन्दी र निषेधाज्ञाले गर्दा जिल्लाको होटल व्यवसायमा सात अर्ब बढीको नोक्सानी भएको व्यवसायीले जनाएका छन् ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलका अनुसार करिब ६ महिना जिल्लाका सबै ठुला साना गरि चार हजार होटल बन्द हुँदा व्यवसायीलाई ७ अर्ब भन्दा बढीको नोक्सानी भएको हो ।

उनले बन्दाबन्दीका कारण जिल्लामा रहेका साना ठुला सबै होटल र रेष्टुरेन्ट ६ महिना पुर्ण रुपमा बन्द रहेकोले व्यवसायीलाई धेरै ठुलो आर्थिक नोक्सानी हुनुका साथै त्यहाँ काम गर्ने करिब १५ हजार युवा युवती बेरोजगार बनेको बताए ।

अध्यक्ष कँडेलले चार हजार होटल तथा रेष्टुरेन्टहरु बन्द भएका कारण एकातिर व्यवसायीलाई ७ अर्ब बढी नोक्सानी भएको र अर्कोतिर सरकारलाई तिर्दै आएको ठुलो परिमाणको राजस्व पनि गुम्दा मुलुकलाई समेत नोक्सानी भएको बताए ।

बैंक तथा वित्तिय संस्थाहरुबाट २० अर्ब र व्यक्तिगत क्षेत्रबाट १० अर्ब गरेर ३० अर्बको लगानी रहेको बाँकेका होटल व्यवसाय लामो समयदेखि ठप्प हुँदा सो लगानी पनि धरासायी हुने अवस्थामा पुगेको संघले जनाएको छ ।

होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले मानसरोवर यात्राको ट्रान्जिट प्वाइन्ट, पश्चिम नेपालको पर्यटन द्धार तथा भ्रमण वर्षलाई लक्षित गरेर बाँकेमा ठुला ठुला तारे होटलदेखि सामान्य होटल खुल्ने क्रम बढेकोमा बन्दाबन्दीले गर्दा व्यवसायनै धरासायी भएको बताए ।

बन्दाबन्दीले देशको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जनाउँदै उनले होटल व्यवसायीलाई धेरै ठुलो नोक्सानी भएको र सो व्यवसायमा गरिएको अर्बौको लगानी डुब्ने अवस्था आएकोले सरकारसंग पटक पटक राहत प्याकेज माग गरिएको बताए ।

होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष एकनारायण चापागाईले धरासायी बन्दै गएको होटल व्यवसायलाई माथि उकास्न सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने माग गरेका छन् ।

सरकारलाई व्यवसायीको सुझाव

यसैबीच होटल व्यवसायी संघ बाँकेले धरापमा परेको व्यवसायलाई पुनः माथि उठाउनका लागि तीन चरणमा विभिन्न काम गर्न सरकारलाई सुझाव दिएको छ ।

संघले दिएको सुझाव अनुसार पहिलो चरणमा होटलहरुको घरभाडा छुट दिनुपर्ने, बिजुली पानीको महसुल एक बर्षका लागि छुट र टेलिफोन इन्टरनेटमा पनि बिषेश सहुलियत दिनुपर्ने, एक बर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गर्नुपर्ने र चालु व्यवसायलाई नै धितोको रुपमा मूल्यांकन गरी न्यून व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने रहेका छन् ।

दोस्रो चरणमा आन्तरिक पर्यटन प्रर्वद्धनका साथै विदेशमा नेपाली पर्यटन क्षेत्रको प्रचार गर्नुपर्ने, २०२२ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्नुपर्ने र पर्यटन पुर्वाधार निर्माणमा विशेष ध्यान दिनु पर्ने सुझाव रहेका छन् ।

यसैगरी संघले दिएको सुझाव अनुसार तेस्रो चरणमा विदेशी पर्यटकलाई धेरै भन्दा धेरै संख्यामा भित्र्याएर यो वर्षमा भएको सबै नोक्सानीको भरपाई गर्ने रहेको छ ।

८० प्रतिशत होटल खुले तर पाहुना छैनन्

६ महिनादेखि बन्द रहेका बाँकेका ८० प्रतिशत होटल र रेष्टुरेण्ट हाल आएर सञ्चालनमा आएका छन् । होटल संचालनमा आएपनि पाहुना र ग्राहकहरु पर्खिरहेको व्यवसायीहरुले जनाएका छन् ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कँडेलले कोभिड १९ का कारण ६ महिनादेखि बन्द रहेका होटलहरु स्वास्थ्य मापदण्ड पुरा गरेर खुलेपनि होटलमा पाहुना र ग्राहक निकै कम आएको बताए ।

स्वास्थ्य सम्बन्धि सबै मापदण्डको पालना गरेर जिल्लामा रहेका ८० प्रतिशतजति होटल र रेष्टुरेण्टहरु आधाभन्दा कम कर्मचारी र सेवाका साथ संचालनमा आएको उनले बताए । पाहुना र ग्राहक बढ्दै गएपछि कर्मचारी र सेवा दुबै थप्दै जाने योजना रहेको अध्यक्ष कँडेलले जनाए ।

टिप्पणी थप्नुहोस्