पोल गाडेको २७ वर्षपछि बघौडामा विद्युत पुग्यो

-सिराज खान

बघौडा,(बाँके) । केही वर्षपहिलेसम्म बाँकेको अति नै पिछडिएको मानिने राप्तीपारीको बघौडा क्षेत्रमा पोल गाडेको २७ वर्षपछि बत्ति पुगेको छ । सो क्षेत्रमा तीन दसकको प्रतिक्षापछि बत्ति बल्दा उक्त क्षेत्रका स्थानीयले खुशीयाली मनाएका छन् ।
वि.स. २०५१ सालको निर्वाचन अघि पुर्वमन्त्री प्रेम बहादुर भण्डारीले आफ्नो उम्मेद्वारीसँगै बिजुली पुर्याउने वाचा गरेर सो क्षेत्रमा आफ्नै निजी लगानीमा पोलहरु गाड्न लगाएका थिए । २०५१ साल यता चारवटा निर्वाचन सम्पन्न भए, बत्ति पुर्याउने वाचा सबैले गरे तर सो क्षेत्रमा बत्ती पुगेन । २७ वर्षपछि अहिले आएर सो क्षेत्रमा विद्युत पुगेको छ ।

‘पोल गाडेको २७ वर्षपछि, अहिले आएर बत्ती बलेको हेर्न पाइयो, हामी अत्यन्तै खुशी छौं’–नरैनापुर गाउँपालिका वडा नम्बर १ का दिलसाद खाँले भने, ‘२७ वर्षसम्म पोल हेरेरै बस्यौं, तर बत्ती बाल्ने सपना बल्ल पुरा भएको छ ।’

राप्तीसोनारीको फत्तेपुरदेखि नरैनापुर बघौडाको सीमावर्ती गाउँ सुईयासम्मको सडकका पोलहरुमा बत्ती बलेको देखेर सो क्षेत्रका स्थानीय अहिले दंग छन् ।  नरैनापुर गाउँपालिका–१, सुइयाका ७० वर्षीय जाबिर खाँले भने,‘गाउँमा बत्ती पुगेको हेरेर मर्ने चाहना पुरा हुँदैन कि भन्ने लागेको थियो तर अहिले बत्ती बलेको देख्न पाउँदा निकै खुशी लागेको छ ।’

उनले सीमापारीको बत्ती हेरेरै बुढो भएको सुनाए । तर अहिले आएर आफ्नो गाउँका पोलमा पनि बत्ती बलेको देखेर दंग परेको बताए । खाँले थपे,‘२०५१ सालमा गाडिएका पोल ढलिसकेका कारण बत्ती बाल्न पाउने आश मरिसकेको थियो, तर अहिले आफ्नै आँखाले बत्ती बलेको हेर्न पाउँदा आगामी पुस्ताको भविष्य सुनौलो हुनेमा ढुक्क छु ।’

यस्तै नरैनापुर–१, मजरोटीका रशिद साईले वर्षौदेखि बत्ती विना बस्नु पर्दा धेरै कठिनाई सहनुपरेको जनाउँदै अब यो क्षेत्रको कायापलट हुने आशा जागेको बताएका छन् । ‘सडक पनि घर अगाडी नै पुगेकोछ, अहिले बत्ती पनि बलेको छ, अब यो क्षेत्रमा पनि उद्योग कलकारखाना र कृषिका लागि बोरिंगहरु धमाधम गर्न सकिनेछ’,साईले भने ।

बिद्युत नभएकै कारण रोजगारीका धेरै अवसर नहुँदा यस क्षेत्रका अधिकांस युवाहरु भारतको मुम्बई, दिल्ली र अहमदाबादमा गएर मजदुरी गर्न बाध्य रहेको पनि उनले बताए ।सो क्षेत्रमा विद्युत पुगेकोले अब रोजगारीका ढोकाहरु खुल्ने स्थानीयको विश्वास छ ।

नरैनापुर गाउँपालिकाको कार्यालयमा अहिले बत्ती बल्नुका साथै पंखा चलिरहेको छ । नजिकका धेरैजना त त्यहाँ हावा खान मात्र पुग्ने गरेको कर्मचारीहरु बताउँछन् । कार्यालयमा पंखाको हावा खाइरहेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लामो प्रतिक्षा र संघर्षपछि गाउँमा बिजुली आएकोले अब यो क्षेत्रको समृद्धिको ढोका खुलेको आशा व्यक्त गरेका छन् ।

उनले खुशी हुँदै भने,‘लामो संघर्षपछि बिजुली आयो, अब गाउँमै उद्योगधन्दा स्थापनासहित कृषि विकासको वातावरण बनाउँछौं, यहाँ चिनीलगायत अन्य धेरै उद्योग खोल्ने संभावना प्रवल छ । सिंचाइका लागि डिप बोरिङ जडान गरिने छ ।’
गाउँमा बिजुली पुगेपछि नरैनापुर अस्पतालमा एक्सरे मेसिन, ल्याब लगायतका आधुनिक सेवाहरु सञ्चालनमा ल्याईएको अध्यक्ष शाहले बताए ।

कोरोनाको महामारीले केही समयअघि आक्रान्त बनेको नरैनापुरमा बिजुली र सडक पुगेपछि अब यो क्षेत्रले छिट्टै ठूलो फड्को मार्ने विश्वास जनमानसमा बढेको उनको भनाई छ । नरैनापुरमा बिजुली पुर्‍याउन एक हजार पोल गाडिएको विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले सो क्षेत्रका सडकका सबै पोलमा विद्युत बलिसकेको जनाउँदै अब गाउँगाउँमा पनि पोल गाड्न र तार जडान गर्ने शुरु गरिएको बताए । नेपालगन्ज-बघौडा हुलाकी सडक वरिपरिका सबै गाउँबस्तीलाई छिटै झिलिमिली पारिने प्राधिकरणले जनाएको छ ।

टिप्पणी थप्नुहोस्