अनलाइन कक्षा: अविभावक मारमा, विद्यार्थी अन्योलमा

काठमाडौं । भदौ १९ गतेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालय अन्तर्गतको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेसंगै अविभावकहरु मारमा परेका छन् ।

अनलाइन कक्षाबारे बहसहरु चलिरहेकै समयमा उक्त निर्देशिकाले शुल्क लिन अनुमति दिएको कारण अविभावकहरु मारमा परेको हो । लामो समयदेखि पढाईबाट टाढा रहेका आफ्ना छोराछोरी पढाईबाट बन्चित हुने डरले विद्यालयमा आफ्नो गुनासो सुनाउन गएका अविभावक आफै त्यहाँका कर्मचारीहरुको गुनासो सुनेर आउन परेका छन् ।

सरकारले अनुमति दिनुभन्दा अघि देखिनै बिना तयारी अनलाइन कक्षा चलाउने हतारोमा रहेको निजी शिक्षण संस्थालाई शुल्क सूचना दिन भ्याईनभ्याई छ । कोभिड १९ महामारीले दबिनु परिरहेको अविभावकहरुलाई उक्त सुचनाहरुले राम्रै संग पेलिरहेका छन । विद्यार्थीले अनलाइन कक्षाबाट सिकेको शिक्षा पनि मुल शैक्षिक कार्यक्रममा गणना हुने भएको कारण यसकै लागि मात्र पनि अविभावकहरु ऋण लिन बाध्य भैरहेका छन ।

अनलाइन कक्षाको लागि लाग्ने खर्च समेत जुटाउन गार्‍हो भएको बेला विद्यालयको शुल्क कसरी तिर्ने भनेर चिन्तित रहेका अविभावकहरुको धेरै गुनासो छन । एक भन्दा बढी छोराछोरी भएको अविभावकको लागि त झनै कठिन परिस्थितिको सिर्जना भएको छ ।

कति अविभावक त यो शैक्षिक क्षेत्र नै खेर गएपनि जाओस भनेर बसिरहेका छन । नेपालमा लकडाउन शुरुभए देखिनै बन्द रहेका शैक्षिक संस्थाहरु कहिले खुल्ने अझै टुंगो भएको छैन । अनलाइन कक्षाको लागि शैक्षिक संस्थाहरु तँछाडमछाड गरिरहे पनि सबै विद्यार्थी समक्ष भने पुग्न सकेको छैन ।

सन् १९९० को मध्यदेखि इन्टरनेटको विकास भएपनि अहिलेसम्म इन्टरनेटले आफ्नो पहुँच बनाउन नसकेकोले धेरै विद्यार्थीहरु यसकै कारणले अनलाइन कक्षाबाट टाढा भएका छन् । टिच फर नेपालले गरेको एक सर्वेक्षण अनुसार ९६ प्रतिशत भन्दा बढी विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । त्यस्तै संयुक्त राष्ट्रसंघको बालबालिका कोषले विश्वभर ४६ करोड ३० लाख बालबालिकालाई भर्चुअल कक्षाको पहुँच नपुगेको बताएको छ ।

निजी शैक्षिक संस्थाहरुले पनि सबै विद्यार्थी भने समावेश गर्न सकेको छैन । जतिपनि विद्यार्थीहरु अनलाइन कक्षा लिइरहेका छन् उनीहरुको अनुभव पनि खासै राम्रो छैन । अझै पनि अनलाइन कक्षाको नाममा विद्यालयहरुले विद्यार्थीहरुको लागि ‘ग्रुप च्याट’ बनाएर, किताबको फोटो खिचेर गृहकार्यनै गरिराखेका छन् । त्यस्तै ‘जुम एप’ बाट संचालन गरिने कक्षा पनि प्रभावकारी नरहेको विद्यार्थीहरुको भनाई छ ।

कसले के बोलिरहेको छ भन्ने नै अन्योलमा भएको उनीहरु बताउछन । ’विद्यालयमा त नबुझेको कुरा यहाँ बाट कसरि बुज्छ’ भन्ने विद्यार्थीहरुको पनि कुनै कमी छैन । एक दुई दिन नयाँ लागेर रमाइलो लागेको तर अहिले मन नलागेको उनीहरुको भनाइ छ । त्यसैगरी कतिपय विद्यार्थीहरु मोबाइल डाटाबाट कक्षा लिइरहेका छन । अनलाइन कक्षाको लागि बिजुली बत्ती, इन्टरनेट, मोबाइल वा ल्यापटप नभइ हुँदैन ।

शिक्षा मन्त्रालयले महामारीको समयमा चुनौतीलाई अवसरमा बदल्दै वैकल्पिक शिक्षालाई पनि गणना दिने निर्णय गरिसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलले महामारीका बीच जोखिम लिएर हतारमा शैक्षिक संस्था खोल्न नचाहेकोले वैकल्पिक विधिमा जोड दिएको बताउनु भएको छ ।

कोरोनाका कारण देशभरका विद्यार्थीको पढाई प्रत्यक्ष प्रभावित भएको छ । शिक्षाविद्हरु भने नयाँ धारको शिक्षा प्रणालीमा जाने अवसर आए पनि अनलाइन पद्धतिमा मात्रै भर पर्न नहुने तर्क गर्छन् । उहाँहरुका अनुसार वेभसाइट, रेडियो, टेलिभिजनमार्फत गरिएको दुरशिक्षा पढाई पनि अपेक्षाकृत कम प्रभावकारी हुन्छ । शैक्षिक क्षेत्रको प्रणाली नै सुधार्नु पर्नेमा अनलाइन कक्षालाई मात्रै जोड दिन नहुने उहाँहरुको भनाई छ ।

बच्चाहरुको स्वास्थ्यलाई लिएर पनि अभिभावकहरु चिन्तित छन् । अनलाइन कक्षा भन्ने बित्तिकै डिजिटल उपकरणहरु आउँछन । जससंग स्क्रिनको प्रत्यक्ष सम्बन्ध छ । बन्द कोठाभित्र अनलाइन कक्षा, दिनभरी घोरिएर विभिन्न उपकरणको स्क्रिन हेरिरहनुपर्ने बाध्यताले गर्दा आँखामा पर्ने तत्कालका असरहरूमध्ये आँखा पोल्ने, बिझाउने, आँसु बगी हेर्न कठिनाइ हुने मुख्य हुन् ।

अहिलेको अवस्थामा औसतमा ४ देखि ६ घण्टाको अनलाइन कक्षा, त्यसपछिको अनलाइन खेल तथा मोबाइल फोनको प्रयोगले कुल ८ देखि १० घण्टा डिजिटल स्क्रिन प्रयोग भइरहेको देखिन्छ । त्यसैगरी एकनास रूपमा हेर्दा आँखा झिम्काई सामान्य अवस्थामा भन्दा न्यून हुन गई आँखा सुक्खा हुने, थाक्ने तथा भारी महसुस हुने हुन्छ ।

अनलाइन कक्षाका लागि अन्य देशले भने निर्देशिका पनि जारि गरेका छन्। भारतमा जारी निर्देशिकामा प्ले-ग्रुपका केटाकेटीलाई दैनिक ३० मिनेट कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई ४५-४५ मिनेटका दुई ’सेसन’ गरी दिनमा ९० मिनेट (डेढ घन्टा), ९ देखि १२ कक्षालाई आधा घन्टादेखि ४५ मिनेटका चार सेसन पढाउन मिल्ने उल्लेख गरेको पाईएको छ। त्यसैगरि अमेरिकामा प्ले-ग्रुप वा समकालीनलाई दैनिक ४५ मिनेट, १-२ कक्षालाई एकरडेढ घन्टा, ३-५ कक्षालाई दुई घन्टा, ६-८ लाई अढाइ घन्टा, ८-१० कक्षालाई तीन घन्टा मात्र अनलाइनमार्फत् पढाउन भनिएको छ ।

आँखा विशेषज्ञहरुले स्क्रिन र निद्रालाई एकअर्काका दुश्मन हो भन्ने गरेको पाइन्छ । एउटा झुल्किए, अर्को बेपत्ता । बढी समय स्क्रिनमा बिताउनेलाई निद्रा लाग्दैन भन्नुको कारण पनि त्यहि हो । अध्ययनअनुसार स्क्रिनबाट निस्कने निलो प्रकाशले निद्रा लगाउने हर्मोनलाई दबाइदिन्छ । अबेरसम्म स्क्रिनको प्रकाशमा बस्दा मस्तिष्कलाई रात परेको अनुभूति हुँदैन ।

मस्तिष्कले रातलाई पनि दिउँसै ठान्छ । जसले गर्दा शरीरले ‘मेलाटोनिन’ हर्मोन उत्पादन गर्दैन। हाम्रो शरीरले निद्रा लगाउन एक प्रकारको हर्मोन उत्पादन गरिरहेको हुन्छ, जसलाई ‘मेलाटोनिन’ भनिन्छ । हर्मोन गडबड भएपछि आँखामा निद्रा पर्दैन । मन भुलेपछि आँखामा निद्रा लाग्दैन र भागेको निद्रा सजिलै फर्काउन गाह्रो हुन्छ । निद्रा नपर्नु भनेको आराम गर्ने समय घट्नु मात्र होइन । हर्मोन उत्पादनमा गडबडी हुनुपनि हो । अहिले धेरै जसो मानिसलाई भएको नि यहि हो ।

काठमाडौं महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) विद्यालय रहेकामा ९१ वटा सामुदायिक विद्यालय छन् । एक दिन विद्यालय बन्द हुँदा सामुदायिक र निजी गरी करीब ३५ हजार विद्यालयका ७८ लाख विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित हुन्छन् । विद्यमान शिक्षा नियमावलीमा वर्षमा कम्तीमा १९२ दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार, २०७६ सालमा देशभरका विद्यालय तहमा ७५ लाख ५८ हजार ३८८ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये करिब ८० प्रतिशत विद्यार्थी सामूदायिक विद्यालयमा पढ्छन् । सरकारले गत आर्थिक वर्षमा शिक्षाका लागि १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो वर्ष कुल बजेटको ११.६४ प्रतिशत अर्थात १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

टिप्पणी थप्नुहोस्