नेपालगञ्जमा प्याज लगायत तरकारीको मूल्यमा अत्याधिक बृद्धि

-सिराज खान

नेपालगन्ज । भारतले प्याज निर्यात बन्द गर्नुका साथै बाँके प्रशासनले हरियो तरकारी, माछा र मासुको आयातमा प्रतिवन्ध लगाएपछि नेपालगन्जमा प्याज लगायत तरकारीको मूल्य अत्याधिक बृद्धि भएको छ ।

भारतले प्याज आउन नदिएपछि अहिले अधिकांश स्थानीय व्यवसायीले प्याज लुकाएका छन् भने विक्री गर्नेहरुले पनि तेब्बर भन्दा बढी मुल्यमा विक्री गरिरहेका छन् । केही दिनपहिलेसम्म ४० देखि ५० रुपैंयाँ केजीमा विक्री हुँदै आएको प्याज हाल आएर १४० देखि १५०  केजीमा विक्री भैरहेको उपभोक्ताको गुनासो छ ।

व्यवसायीले महंगोमा विक्री गर्नेभनी लुकाएको कारण बजार अनुगमन समितिले अनुगमन गर्न जाँदा बजारका कुनै पनि तरकारी पसलमा प्याज पाएको छैन । जबकि स्थानीय उपभोक्तालाई १५० रुपैंयाँ केजीसम्म व्यवसायीले प्याज विक्री गरिरहेका छन् ।

उता, जिल्लाका स्थानीय किसानले आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयले तरकारी, माछा र मासुको भारतबाट भैरहेको आयातमा प्रतिवन्ध लगाएको छ । सोही प्रतिवन्धलाई बहाना बनाएर अहिले स्थानीय व्यवसायीले तरकारीको मूल्यमा दोब्बर भन्दा बढी बृद्धि गरेको पाइएको छ ।

संकटको समयमा तरकारीको मुल्य अत्याधिक बृद्धि गरिएपछि उपभोक्ता अतिनै मारमा परेको उनीहरुको गुनासो छ ।नेपालगञ्ज ११ का उपभोक्ता तथा जनप्रतिनिधी मुबारक सिद्दिकीले अहिले तरकारी मूल्यमा दोब्बर भन्दा बढी बृद्धि भएको जनाउँदै आयातमा प्रतिवन्धको बहाना लगाएर मूल्यबृद्धि गरिएको बताए ।

यस्तै नेपालगन्ज–७ का अर्का उपभोक्ता दिनेश मानन्धरले केही दिन पहिलेसम्म ठीकठीकै मूल्यमा पाइने तरकारी अहिले छोइनसक्नु रहेको गुनासो गरे । उनले केहीदिन पहिले ४० रुपियाँ किलोमा आलु खरिद गरेकोमा अहिले आएर ८० रुपैयाँसम्ममा खरिद गर्नु परेको बताए ।

यस्तै ५० रुपैयाँ किलो पाइने खुर्सानी अहिले सय रुपैयाँ किलो पुगेको छ भने ४० रुपैयाँमै पाइने लौकाको मूल्य ८० रुपैयाँ प्रति किलो पुगेको उपभोक्ताले जनाएका छन् ।

नेपालगन्जको रानीतलाउस्थित थोक तरकारी मण्डीका अनुसार, हरियो खुर्सानी प्रतिकेजी एकसय, बन्दा ६० रुपैंयाँ, फुलगोभी ६०, टमाटर प्रतिकेजी सय रुपैंयाँ, लौकी प्रतिकेजी ८० रुपैयाँ, भिन्डी प्रतिकेजी १२०  र करेला प्रतिकेजी सय रुपैयामा बिक्री भइरहेको छ ।

रानीतलाउ सब्जीमण्डीका तरकारी ब्यापारी मुमताज राइनले भारतबाट तरकारी आउन बन्द भएपछि स्थानीय किसानले महंगोमा तरकारी विक्री गरिरहेकोले आफुहरुले पनि बाध्य भएर मूल्य बढाउनु परेको प्रष्टिकरण दिए ।

उनले अहिले नेपालगन्ज बजारमा तरकारीको माग धेरै रहेको तर त्यति मात्रामा तरकारी नआउने गरेकोले समस्या भैरहेको बताए ।

अर्का व्यवसायी रमजान कबडियाले अहिले भारतबाट तरकारी आउन बन्द भएकोले मूल्य बढ्नुका साथै अभाव भएको सुनाए । उनले भारतबाट तरकारी आयात एकदमै बन्द भएपछि ग्राहकलाई तरकारी पुर्‍याउननै मुस्किल भइरहेको पनि बताए ।

व्यवसायी कबडियाले पहाडी जिल्लाबाट आउने तरकारी पनि घट्दै गएकोले झनै समस्या थपिएको प्रष्ट पारे । सो बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसंग प्रतिक्रिया माग्दा उनले भारतबाट आउने तरकारीको आयातमा प्रतिवन्ध लगाईएको जनाउँदै तर सोही बहानामा मूल्य बृद्धि भने गर्न नपाइने बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले मूल्य बृद्धिको बारेमा निरन्तर स्थलगत अनुगमन गर्ने कार्य भैरहेको जनाउँदै कारवाही समेत भैरहेको बताए । उनले केही दिनयता तरकारीमा अत्याधिक बढेको मूल्यका कारण स्थानीयलाई समस्या परेको गुनासो प्रशासनमा पनि आएको बताए ।

टिप्पणी थप्नुहोस्