कोरोनाका कारण विदेशमा थप २१ नेपालीको ज्यान गयो

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन ।

ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ ।

यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

टिप्पणी थप्नुहोस्