कोहलपुरका होटल व्यवसायीद्वारा घरभाडा र कर छुटको माग गर्दै ज्ञापन

-सिराज खान

नेपालगन्ज । लामो बन्दाबन्दीले गर्दा होटल र पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जनाउँदै बाँके कोहलपुरका होटल व्यवसायीले दुई महिनाको घरभाडा र एक वर्षको व्यवसायीक कर छुटको माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

होटल व्यवसायी संघ कोहलपुरको अगुवाइमा कोहलपुर नगरपालिकामा पुगेका स्थानीय पर्यटन व्यवसायीले दुई महिनाको घरभाडा र एक वर्षको व्यवसायीक कर छुटको माग गर्दै नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई ज्ञापन पत्र बुझाए ।

कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै संघले घर भाडामा लिएर सञ्चालनमा रहेका होटलहरुको बन्दाबन्दी अवधीमा कारोवार नै चौपट भएकाले दुई महिनाको घर भाडा छुटकालागि पहल गरिदिन आग्रह गरेको होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष एकनारायण चापागाईले बताए ।

यसैगरी संघले स्थानीय सरकारले लिदै आईरहेको व्यवसायीक कर मिनाहाकालागी पनि नगरपालिकालाई आग्रह गरेको जनाएको छ । आर्थिक वर्ष २०७६–०७७ को व्यवसायीक कर मिनाहाकालागी नीतिगत रुपमै व्यवस्था मिलाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको संघका अध्यक्ष चापागाईले बताए ।

उनले ६ महिनासम्म सबै होटलहरु बन्द रहेको हुँदा व्यापार व्यवसाय ठप्प भएकोले व्यवसायीले घरभाडा र कर तिर्न नसक्ने जनाउँदै सो मिनाह गर्नको लागि स्थानीय सरकारलाई ज्ञापन बुझाइएको बताए ।

ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख रावतले होटल व्यवसायीलाई ठुलो समस्या परेको कुरा आफुले बुझेको जनाउँदै व्यवसायीका माग पुरा गर्ने प्रयास गर्ने बताए । उनले कोभिड १९ ले सबै क्षेत्र प्रभावित बनेको पनि जनाए ।

उता, बन्दाबन्दीको ६ महिनाको समयमा जिल्लाका सबै होटलहरु बन्द हुँदा व्यवसायीलाई ७ अर्ब घाटा लागेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ ।

संघका अध्यक्ष भिम कँडेलले जिल्लाका ४ हजार ठुला साना होटल ६ महिनादेखि बन्द हुँदा ७ अर्बको नोक्सानी भएको जनाउँदै घरभाडा र करमा छुटका साथै अन्य विभिन्न राहातका प्याकेज पनि आवश्यक रहेको जनाए । उनले त्यसो नगरिए होटल व्यवसाय फेरी माथि उठ्न धेरै समय लाग्ने र अधिकांश व्यवसायी पलायन हुने बताए ।

टिप्पणी थप्नुहोस्