लागुपदार्थको लत : पहिले रहर,पछि अम्मल

Addiction II

-मोनिका वाईबा

एक १९ बर्षीया युवतीको ‘ड्रग्स’ सेवनको नौलो अनुभव छ । उनले पहिलो पटक शिवरात्रीका दिन पशुपतिनाथ घुम्न जाँदा गाँजा तानिन् रे । ‘उसले त खान्छ, मैंले खादा चाहिं के हुन्छ र ?’ भन्ने मनमा लागेर पहिलो पटक आठ कक्षामा हुँदा चुरोटको सर्को तानेको अनुभव उनीसँग छ । पहिलो पटकमा स्वाद मन नपरे पनि फेरी अर्को स्वाद लिनकै लागि चुरोटको धुँवा लिएको उनी बताउँछिन ।

गाँजाको धुँवा चाहिं साथीहरुसँग शिवरात्रिमा पशुपतिनाथ जाँदा रमाइलोका लागि लिएकी हुन उनले । अहिले पनि खान मन लाग्दा साथीहरुलाई मागेर सँगै बसेर तान्ने गरेको उनको भनाई छ । खानमन हुँदा साथीलाई माग्ने बित्तिकै पाउने हुँदा खान नपाएर उनलाई अहिलेसम्म छटपटी चाहिं नभएको उनी बताउँछिन ।

त्यस्तै सात कक्षामा पढ्दा पहिलो पटक स्कूलको पछाडीपट्टीको भागमा साथीहरुसँग चुरोट खाएको २० वर्षीया अर्की युवती अनुभव साटछिन् । ‘सँधै खाने होइन, कहिले काहीं त होनी !’ भन्दै खाएको उनी बताउँछिन । उनलाई चुरोटको साथसाथै गाँजा र गोटीको पनि अनुभव छ । साथीले गाँजा खायो भने खानापनि रुच्ने अनि शरीर पनि पातलो हुने बताएपछि उनले खाएको बताइन । आवश्यकता पर्दा साथीले नै दिने गाँजा उपलब्ध गराउँछ । त्यति मात्र होइन कहिले काहीं साथीलाई पैसा दिएर गाँजा मागेको उनी बताउँछिन । गाँजा खाँदा मनमा उमंग छाएको जस्तोहुने उनीसँग अनुभूति छ । उनलाई पनि अहिलेसम्म लागुपदार्थ खान नपाएर छटपटी भएको छैन । एक्लै हुँदा चाही चुरोट किनेर खाने गरेको बताउँछिन । साथीहरु धेरै जना भए खानको लागि उत्प्रेरित हुने र रमाइलो गर्ने बहाना पाउने हुँदा खाइहाल्न मन लाग्ने उनको भनाई छ ।

पहिलो पटक चुरोट तान्दा नै उनीहरुलाई यसको असरबारे थाहा थियो । तरपनि उनीहरुले सधै खाने होइन भन्दै खाए । अचम्मको कुरा त उनीहरुले अहिलेसम्म आफ्नो घरमा पत्तो दिएका छैनन् । उनीहरुलाई गाँजा कहाँ, कस्तो, के र कति पाइन्छ सबै थाहा छ । त्यसैले नै भनेको होला ‘एउटा प्रहरीलाई भन्दा बढी युवाहरुलाई लागुपदार्थको बारेमा थाहा हुन्छ’ भन्ने । उनीहरुलाई लकडाउन र निषेधाज्ञामा पनि यसले खासै असर नगरेको बताउँछन् ।

शुरुको एक-दुई हप्ता खान मनलाग्दा चुरोट खाएरै बसेको र त्यसपछि साथीहरुसँग भेटमा गाँजा पनि खाएको उनीहरुको भनाई छ । दैनिक १८ वर्षभन्दा कम उमेरका करिब दुई हजार जना युवाहरु चुरोट पिउन शुरु गर्छन् । भने प्रत्येक दिन तीनसय भन्दा बढी युवाहरु चुरोटका लतलाई अंगालिरहेका हुन्छन् । दुई हजार भन्दा बढि किसिमका रसायन भएको चुरोट खान अधिकांश युवाहरु एकछिन पनि नसोचीकन तयार हुनछन् । औसत रुपमा चारजना मान्छेमध्ये एक जनाले चुरोट पिउने गरेको तथ्यांक छ ।

काठमाडौँमा माग्न बसेका वा फोहोर उठाउँदै हिँडेका धेरैजसो बालबालिकाले दूधको प्याकेटमा डेन्ड्राइट राखी सुँघ्ने गरेको पाइन्छन् । लगातार डेन्ड्राइट सुँघिरहँदा भोक र जाडो नलाग्ने र थोरै मूल्यमा पाइने हुँदा उनीहरु सुंगीरहन्छन् । डेन्ड्राइट मात्र नभएर हाइड्रोकार्बनयुक्त अरु पदार्थ पनि लागूऔषधका रुपमा प्रयोग गर्न सकिने चिकित्सकहरुको भनाई छ । कफ सिरप, डाइजिन, रुघा लागेका बेला सुँघ्ने इन्हेलरलाई पनि मानिसले ड्रग्सका रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । त्यसैगरि नङ र जुत्तामा लगाउने पालिस, किताब तथा लुगामा कीरा नलागून् भनी बीचमा राखिने न्याफ्थालिन वा प्याराडाइक्लोरो बेन्जिनयुक्त सेतो पदार्थ, मट्टीतेल, पेट्रोल, ओडोनिल, फेभिकोल, मार्करको मसीसमेत लागूऔषधका रुपमा प्रयोग गरिएका घटना छन् ।

जसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँनुका साथसाथै मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पर्छ त्यस्तो पदार्थहरु लागु औषध हुन । यसले निद्रा लगाउने, खाना रुचाउने, भोक हटाउने, वेहोस बनाउने, उत्तेजना बढाउने, थकाई मेटाउने र चेतनालाई भ्रमित बनाउने जस्ता क्रियाहरु पनि गराउँछन ।

नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुपदार्थका प्रयोगकर्ताहरुको संख्यामा वृद्दि भैरहेको छ । विश्वभर हरेक मिनेट एक करोड चुरोट बिक्री हुन्छ भने हरेक दिन १५ अरब भन्दा बढि बिक्दछ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्ये एकजना वयस्कको अकालमा मृत्यु संसारभरी चुरोट सेवनकै कारणले हुनेगर्दछ ।

विश्वभरिमै फोक्सोको क्यान्सरका कारण मर्ने मानिसहरुमध्ये ९० प्रतिशत धुम्रपान मुख्य कारण हुने गर्छ । मुखमा घाउ हुने श्वासनलीमा समस्या देखिने जस्ताको कारण पनि यहि नै हो । विश्व लागु औषध प्रतिवेदनका अनुसार विश्वका करिब ६ प्रतिशत मानिसहरु लागु औषध सेवन गर्छन् । अमेरिका एक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अमुसार ’धुम्रपान छोडेको निधो गरेका मानिसमध्ये ६० प्रतिशतले छाडेको एक हप्तापछि नै फेरि धुम्रपान गर्न सुरु गर्ने गर्छन् ।’

तर यदि कुनै व्यक्ति सुर्तिजन्य पदार्थमा पाइने निकोटिनका अगाडि कति छिटो आफुलाई समर्पित गर्दछन् भन्ने कुरा थाहा पाउन सकिएमा धुम्रपान त्यागको सफलताको प्रतिशत बढाउन सकिने अध्ययनले निस्कर्ष निकालेको छ ।

हिन्दु संस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागूपदार्थका रूपमा लिइएका कारण पनि युवाहरुले बहाना पाइरहेका छन् । धार्मिक, सांस्कृतिक अवसरहरुमा जस्तै शिवरात्री, होलीमा प्रसादको रूपमा पनि प्रयोग हुने गर्दछन् ।

नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् १९६० देखि १९७० सम्म स्वतन्त्रता र प्रेमको नारासहित हिप्पी युगको सुरुवात भयो । युरोपटबाट टर्की, इरान, अफगानस्तान, पाकिस्तान, भारतहुँदै नेपालसम्म आइपुगेको हिप्पी यात्राले गाँजाको व्यापक प्रयोग गरेको इतिहास छ ।

लामो कपाल पालेका, एकजुट भएर मानवियताको वकालत गर्छौ भन्दै प्रेम र स्वतन्त्रताका नारा लगाउने युवा जमातहरु यो रुटमा गाँजा सेवनका लागि आउने गर्थे । यो रुट विश्व कै सबैभन्दा धेरै गाँजा उत्पादन हुने क्षेत्रमा पर्छ । जसलाई ’हिप्पी ट्रेल’ पनि भनिन्छ । हिप्पी ट्रेलमा लागुपदार्थको अत्याधिक व्यापार हुन थालेपछि केही कडाई गरियो र गाँजा उत्पादन तथा सेवनमा समेत कडाई गरियो ।

टिप्पणी थप्नुहोस्