सभापति देउवालाई इतर समूहको एक हप्ताको अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले सभापतिलाई २७ केन्द्रिय सदस्यको हस्ताक्षर सहित बिरोधपत्र बुझाएर विधान विपरितका निर्णय फिर्ता लिन एक हप्ताको अल्टिमेटम दिएको छ ।

कांग्रेस भित्रको संस्थापन इतर मानिने रामचन्द्र पौडेल समूहले संस्थापन समूहलाई आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहितको विरोधपत्र बुझाएरै विधान विपरितका निर्णयहरु फिर्ता लिन दबाब दिएको हो ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सोमबार पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचीव कृष्णप्रसाद पौडेलमार्फत् हस्ताक्षरसहतिको विरोध पत्र बुझाएका हुन । जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र जीवन परियारले पार्टी केन्द्रीय समितिमा विरोधपत्र दर्ता गराउन पुगेका थिए ।

पत्रमा १९ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठक अगाडि विधान विपरितका निर्णय फिर्ता नगरिए सभापति शेरबहादुर देउवा बिरुद्ध विरोध कार्यक्रम सुरुगर्ने सो समूहको चेतावनी छ ।

विरोधपत्रमा पार्टीलाई विधानसम्मत संचालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष रुपमा गर्ने वातावरण सृर्जना गरिनु पर्ने, भातृ संस्थाहरुको म्याद थप गरिएकोमा खारेज गरिनुपर्ने, विधान विपरित गठन गरिएका विभाग खारेज गर्नुपर्ने, अन्तरिम संरचनाको समायोजनमा भएको मनोमानी रोकेर छिटो सक्नुपर्ने र केन्द्रले आफूखुसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका विषय समेटिएको छ ।

सभापति बिरुद्धको बिरोधपत्रमा वरिष्ठ नेता पौडेल सहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, डा शेखर कोइराला लगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन ।

टिप्पणी थप्नुहोस्