डेढसय किलोमिटर: कोरोना अनुभव

-किशोर नेपाल

बत्तीसपुतली, काठमाडौ-९ देखि भरतपुरसम्म, लगभग १५० किलोमिटर, राजमार्गका दुबैछेउ हेर्दैजाँदा यहाँका बस्तीलाई कोरोना महामारीले छोएको जस्तो कतै लागेन । नागढुंगाबाट केही किलोमिटर ओरालो लागेपछि चन्द्रागिरि नगरपालिकाको सीमा सकिन्छ । त्यसपछि शुरुहुन्छ धादिंगको धुनिबेशी नगरपालिका । धुनिबेशी नगरपालिकाको सीमादेखि काठमाडौ महानगरसम्मको दूरी त्यस्तै बीस किलोमिटर जति होला । तर, काठमाडौ महानगरमा शीतल समीर चलेरपनि मानिस मुहारमा लगाएको मास्कले निसासिएकोछ, स्यानिटाइजरले लपक्क भिजेकोछ, साबुन–पानीसंग ‘एलर्जिक’ भएर पनि, मिची मिची हात धुन ब्यस्तछ । बिपरित, धुनिवेशी नगरपालिकाका मानिसको मुहारमा मास्क छैन, रक्सीको गन्ध आउने स्यानिटाइजर रक्सी पिउने लत लागेका बाहुन–क्षेत्रीको घरभित्र समेत हुल्न निषेधछ । हात भनेको भातखाने बेलामा धुने हो । अरुबेला के लाई धुनु ? बाल मतलब !

धुनिबेशी नगरपालिका अन्तर्गत पृथ्वी राजमार्ग छेउछाउका प्रख्यात बस्ती हुन : खानीखोला, नौबिसे, धार्के र महादेव बेंशी । त्यसबाहेक अन्य साना-ठूला बस्ती पनि होलान । यी पूरै बस्तीमा मुहारमा मास्क लगाएका एकजना मानिस पनि देखिएन । गरीबसंग मुखमा माड लगाउने पैसा थिएन, मुहारमा मास्ककसरी लगाओस ? किन्ने पैसा नभएर नै त होला । तर, मुहारले नै पैसावाल भनेर चिनिने मानिसको मुहारमा समेत मास्क नदेखिनु चाहीं आश्चर्य थियो । सरकारले कोरोना बिरुध्द टेलिफोनको जाने आउने कलमा मुहारमा मास्क लगाउनुपर्छ भनेर सुनाएकैछ । कोरोना लागेको नलागेको जाँच्न दुइहजार रुपैयाँ लाग्ने समाचार पनि सुनाएकैछ ।

सरकारको नारा लोक-कल्याणकारी समाजको निर्माणगर्नु भएपनि यथार्थमा निर्धन जनताको कोरोना परीक्षण निःशुल्क गराउने हिम्मत गर्नसक्दैन । हरेकदिन कोरोनाले यति बाँचे र यति मरे भन्ने चाहीं सुनाएकैछ । जिउँदा मानिसको पीसीआर परीक्षण निःशुल्क गराउने क्षमता नभएपनि, सरकारलेमसानघाटमा परीक्षक पठाएर मृतक कोरोनालागेर मरेको हो भन्ने पत्ता लगाउने गरेकोछ । ‘यो भन्दा बढी हामी के नै गर्न सक्छौं र ?’ सरकारका अधिकारीहरुको स्पष्ट भनाइ छ । कस्तो बिडम्बना !

कुरा गर्दै थिएँ चितवन यात्राको । हामी आनन्दकुमार माझीको ३२८० नम्बरको ट्याक्सीमा थियौं । धुनिवेशी कटेपछि सडकमा मास्क लगाएका मुहार थुप्रै भेटिने अनुमान थियो मेरो । मेरो अनुमान फेल खायो । गल्छी र बैरेनीमा पनि अवस्था उस्तै थियो । मास्क कसैको अनुहारमा थिएन । बैरेनी कटेपछि हामी हेमलेट रेष्टुराँमा रोकियौं चिया नास्ताका लागि । त्यहाँ स्यानिटाइजरको प्रबन्ध थियो । आगन्तुकहरुलाई मास्क लगाएरमात्र रेष्टुराँमा प्रवेशगर्ने सार्वजनिक अनुरोध थियो । सफाई पनि, अघिपछिको तुलनामा, केही बढी नै गरिएको थियो । कामदारहरु सबैले मास्क लगाएका थिए । रेष्टुराँ मालिकले सरकारको सुरक्षा सम्बन्धी निर्देश राम्ररी पालन गरेको र गराएको थियो । तर पनि, हातका औंलाहरु सबै एकनासका नभएझैं रेष्टुराँका ग्राहकहरु पनि एकनासका थिएनन । रेष्टुराँमा आउने, हामी बाहेक, कसैको मुहारमा मास्क देखेनौ हामीले ।

त्यहाँबाट निस्किएपछि, म सोच्दै थिएँ, गजुरी र मलेखुतिर मुहारमा मास्कवाला निकै भेटिएलान । गजुरी त धादिंग जिल्लाको स–सानो शहर नै हो, एडभान्स बजार । यहाँ सेनाको ब्यारेकछ र ब्यांकहरु छन ।सरकारी र अध्र्द सरकारी कार्यालयमा खटिएर आएका तथा डेरामा बस्ने कर्मचारीहरुका कारण गुलजार भएकोछ गजुरी । मलेखु पृथ्वी राजमार्गको प्रसिध्द माछा बजार नै भै हाल्यो । गजुरी र मलेखु -यी दुबै बजारमा घुमफिर र किनमेलगर्ने मानिसको मुहारमा मास्कको दर्शन भएन । मलेखुपछिका चुमलिंगटार र कुरिनटार जस्ता रमाइला बस्तीमापनि मुहारमा मास्क बिहिन मानिसकै चहल–पहल थियो । मनकामना केबुलकारको मूल व्दार वरिपरिको बजार सूनसान थियो । मनकामना माइको मन्दिर सरकारले बन्द गरिदिएको थियो कोरोनाका कारण । मन्दिर नै बन्द भएपछि केबुलकार कसले चढने ? त्यसैले केबुलकार पनि चलेको थिएन । त्यसपछिको प्रसिध्द मुग्लिन बजारमा पनि मुहारमा मास्क नलगाएका मानिसहरुकै चहल–पहल बढी थियो ।

मुग्लिनबाट भरतपुरतिरको यात्रामा राजमार्गमा देखिएका मानिसको मुहारमा खासै मास्क देखिएन । भरतपुरमा स्वास्थ्य दर्पण पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक तथा त्यसै नामको टेलिभिजन कार्यक्रमका संचालक संदीप श्रेष्ठसंग भेटभयो । संदीप अहिले लायन्सका अभियन्ता पनि हुन । उनले चितवन जिल्लामा कोरोना महामारीको शुरुआतमा त्यसका बिरुध्द सचेतना कार्यक्रम फैलिएको जानकारी दिए । त्यतिखेर कोरोना महामारीले मरेका मानिसको लाश सरकारले सेना लगाएर गाडने वा पोल्ने गरेको थियो । यसको कारण के थियो ? अहिलेसम्म कसैले बुझेको छैन । यहाँका जनताको नजरमा अबपरिस्थिति सामान्य भै सकेको छ । पहिलो चरणमा मानिसहरु कोरोना लागेका मानिसको लाश छुन, बोक्न र जलाउन हच्किन्थे । पछि, घृणाको त्यो लहर रोकियो ।

संघीय सरकारले लकडाउन हटाएपछि जारी गरेको निषेधाज्ञा समेत हटाएपछि नारायणघाट र भरतपुरका बजारहरु उन्मत्त देखिन्छन । खासगरेर, सामान्य बजारमा भन्दा पनि भाटभटेनी सुपर स्टोरमा मानिसको घुईंचो लागेकोछ । चितवनका किसानहरु ठालु भएकाछन । आफनो रुखमा फलेका एभोकाडो ठेकदारको जिम्मा लगाएर आफू भाटभटेनी सुपरस्टोरमा किनेर खान्छन । भाटभटेनी सुपरस्टोरमा बाहिर बजारमा भन्दा सस्तो सामान पाइन्छ भन्छन उपभोक्ता । यो सुपरस्टोर दुवइ, कतार, कुवेत, कोरिया, मलेशिया, सौदी लगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएका मानिसहरुको बिलाशको ठूलो केन्द्र बनेकोछ चितवनमा ।

सोमबार १९ गते असोजको जानकारी अनुसार, चितवनमा २०३८ जनालाई कोरोना लागेकोमा १७ जनाका मृत्यु भएकोछ । यी रजिष्टर्ड गरिएका केस हुन । ‘रजिष्टर्ड नभएका केस धेरै छन’ संदीप बताउँछन । यो अवस्था चितवनको मात्रै होइन, सम्पूर्ण देशको हो । सरकारको अक्षमताका कारण बढीभन्दा बढी पीसीआर जाँच हुन सकेको छैन । सरकारले निषेधाज्ञा फिर्ता लिएर होटल, रेष्टुराँ र सार्वजनिक यातायात माथिको रोकटोक हटाएपछि चितवनमा चहल-पहल व्हात्तै बढेकोछ । मास्कले मुहार ढाक्नेमा, भरतपुर महानगरमा बढीमा तीस प्रतिशत नागरिकमात्रै होलान । अधिकांश मानिसको मास्क कि उसको कमीजको खल्तीमा देखिन्छ कि चिउँडोमा झुण्डिएको । सरकारी कार्यालय वा मास्क अनिवार्य गरिएका कार्यालयमा जाँदामात्रै मास्कको उपयोगिता झल्किन्छ ।

चितवनका मानिसको स्वभाव रौसिया छ । साँझको भेटघाटले सामाजिक चलनको रुप लिइ सकेको शहरमा, सरकारले निषेधाज्ञा फिर्तालिने बित्तिकै, प्यासी आत्माहरु जम्न थाली हाले । उनीहरुले आपसी रमाइलोको बिषयलाई कोरोना महामारीको चुनौतिसंग जोडेर हेरेनन । नेपाली जनतामा कोरोनालाई जित्ने आत्मबल त देखिएकोछ । तर, के आत्मबलले मात्रै कोरोनालाई पछार्न सकिएला त ?यो जीवन्त र ज्वलन्त प्रश्नको उत्तर चितवनवासीलो मात्रै होइन, सबै नेपाली जनताले खोजेकाछन । (किशोर पन्थीको सम्पादनमा न्यूयोर्क, अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकबाट ।)

टिप्पणी थप्नुहोस्