कोरोनाबाट नेपालमै पहिलो पटक चिकित्सकको मृत्यु

-सिराज खान

नेपालगन्ज । कोरोनाबाट नेपालमै पहिलो पटक बाँकेमा एकजना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ ।

कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत भै भेरी अस्पतालमा काजमा रहनु भएका वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको कोभिड १९ का कारण मृत्यु भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा.सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको जनाए ।

उनले संक्रमित भएपछि भेरी विशेष कोरोना अस्पतालमा उपचार भैरहेकोमा उपचारका सबै विधि अपनाईएपनि जोगाउन नसक्दा सापकोटाको मृत्यु भएको बताए ।

डा. सापकोटासंगै बाँकेमा विहिबार एकै दिन कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यसअघि विहिबार विहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको थियो ।

विहान कोरोनाबाट निधन हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ बर्षीया महिला रहेकी थिइन् ।

चिकित्सकसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ भने अन्य जिल्लाबाट आएर भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म १ हजार ९१३ जना संक्रमित भेटिएकोमा १ हजार ५४२ जना निको भएर घर फर्किसकेका छन् भने ३५४ जनाको अझै विभिन्न आइसोलेसन अस्पताल र केन्द्रमा उपचार भैरहेको छ । ती मध्ये १८ जनाको मृत्यु समेत भएको सो कार्यालयले जनाएको छ ।

टिप्पणी थप्नुहोस्