नेपालगन्जमा लागुऔषध दुव्र्यसन निस्तेज महाअभियान 

-सिराज खान
नेपालगन्ज । प्रहरीले वडा कार्यालयहरुको समन्वयमा नेपालगन्ज उपमहानगरमा लागुऔषध दुव्र्यसन निस्तेज महाअभियान शुरु गरेको छ । सो महाअभियानको शुरुवात उपमहानगरपालिकाको वडा नम्बर ४ बाट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेद्धारा नेपालगन्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा सो महाअभियान संचालन गरिएको प्रहरीले जनाएको छ ।

महाअभियानको शुभारम्भ गर्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बाँके सीमावर्ती जिल्ला भएकोले यहाँ लागुपदार्थ नियन्त्रण ठूलो चुनौतिकारुपमा रहेको उल्लेख गर्दै बालबालिकालाई लागुऔषध दुव्र्यसनबाट जोगाउन यो महाअभियान शुरु गरिएको बताए ।

उनले प्रहरी र जनप्रतिनिधिले मिलेर शुरु गरेको यो अभियानको सफलताका लागि अभिभावकहरुको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोग गर्न सबैसंग आग्रह गरे ।

जिल्ला प्रहरी प्रमुख रानाले बाँकेमा ८० प्रतिशत लागुऔषध कारोवारी दुव्र्यसनीनै रहेका जानकारी दिँदै चोरी, डाँका, लुटपाट, झैझगडामा पनि अधिकांश लागुऔषध प्रयोगकर्ताहरुनै देखिएको बताए ।

उनले प्रहरी एक्लैले मात्र अपराध न्यूनीकरण गर्न नसक्ने भएकाले समुदायको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

वडा नं. ४ बाट महाअभियानको शुभारम्भ गरेकोमा प्रहरीलाई धन्यवाद दिँदै सो वडाका वडाध्यक्ष सफिक बेहनाले लागुऔषध नियन्त्रण र रोकथामका लागि वडा कार्यालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफ्ना बालबालिकालाई पर्याप्त समय दिन र विशेष निगरानी राख्न अभिभावकहरुलाई आग्रह गर्दै सो गर्न सके लागु औषधको दुव्र्यसनबाट जोगाउन सकिने बताए ।

हालका लागि उपमहानगरपालिकामा सञ्चालन गरिएको सो अभियानलाई प्रहरीले क्रमशः जिल्लाभरी नै संचालन गर्ने जनाएको छ । खुला सीमाना भएका कारण सीमापारीबाट दिनदिनै लागु औषध भित्रिने गरेकोले सीमानामा पनि विशेष निगरानी बढाउने योजना बनाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणी थप्नुहोस्