काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन् ।
पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रुतमार्गनजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो ।
गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको जनाइएको छ ।
उनीहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्वयसँगै अन्य केही नेताहरुलाई पनि गौतमबुद्ध नगरबाट गिरफ्तार गरेको हो ।
कांग्रेस कार्यकर्ताहरुकाअनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उहाँहरुलाई प्रहरीले अवरोध गरेको थियो ।
प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न भने, ‘के यो मुलुकमा मोदीजीमात्रै हिँड्न पाउने व्यवस्था छ ?’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे ।
नेता गान्धीले आफूलाई प्रहरीले जबर्जस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाए ।
उनले आफ्ना सवारी-साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए ।
‘नोइडाको अतिरिक्त नायब प्रहरी आयुक्त रणविजय सिंहले कोरोनाभाइरसको महामारीका कारण सरकारले महामारी ऐनअनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उनीहरुले उल्लंघन गरेको बताए । एजेन्सी
टिप्पणी थप्नुहोस्