‘राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताएका छन् ।

अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको उनले बताए ।

विभिन्न माग राख्दै अनशनमा रहेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई शनिबार भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतलेसमेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा खेर फालेको बताए ।

महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उनले बताए । उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरासमेत रहेको बताए ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकार कर्मचारीहरु कोभिड-१९ को बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवासुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनशनमा रहेका छन् ।

उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिड-१९ को महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवी पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताए ।

टिप्पणी थप्नुहोस्