‘भोकले मर्नुभन्दा कोरोनाले मरे मरौंला’

-सिराज खान

नेपालगन्ज । ‘घरमा खाने अनाज सकिएपछि भोकै बस्ने अवस्था आयो, भोकै बस्नुभन्दा त बरु कोरोनाले मरे मरियाला भनेर रोजगारीका लागि भारततर्फ हिड्नु परेको हो’,नेपाल–भारत सीमानाको जमुनाहमा भारत जाने लाइनमा भेटिएका दैलेख नारायण नगरपालिका–४ का हर्क तामाङको दुखेसो हो यो ।

उनले आफ्नो देशमा काम पाउँला र चित्त बुझाउला भनि पाँच महिना पहिले घर फर्किएको तर कुनै काम नपाएपछि फेरि हण्डर खान भारततर्फ हिंडेको दुखी अनुहार बनाउँदै सुनाए ।

‘आफन्त र साथीभाइले भारतमा कोरोना छ, नजाउ’ भनेपनि आफु भोकै बस्न र परिवारलाई भोकै राख्न नसकिने भएर मरे मरियला भनेर हिडेको तामाङको भनाई छ ।

भारत जाने दर्जनौं नेपाली युवाको लाइनमा लागेका उनीजस्तै दुखेसो अधिकांशको छ । सीमानामा दिनदिनै भेटिने अधिकांशले आफ्नो देशमा रोजगारीको ग्यारेन्टी भएको भए अर्काको देशमा दुःख गर्न किन गइन्थ्यो भन्ने प्रश्न गर्ने गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–२, खोलीगाउँका राजेन्द्र थापाले सरकारले जति ठुला कुरा गरेपनि पहाडी जिल्लाहरुमा दुईछाक टार्न नसक्ने अवस्था रहेको जनाउँदै अब कोरोना भन्दा भोकमरीले धेरैजना मर्न सक्ने बताए ।

उनले आफ्ना बाजेबुवा सबै भारतमै रोजगारी गर्दागर्दै मरेको जनाउँदै अझै कति पुस्ताले यो दुःख उठाउने हो थाहा छैन भने । यो पिडा तामाङ र थापाको मात्र होइन । आफ्नो देशमा काम नपाएपछि बाध्य भएर रोजगारीका लागि भारत जाने अधिकांश युवाहरुको हो । उनीहरुले देशमा जुनसुकै सरकार आएपनि गरिब र विपन्न नेपालीहरु कामका लागि कालापानी जाने क्रम नरोकिएको बताएका छन् ।

कोरोनाका कारण ६ महिनाअघि भारतमा लकडाउन भएपछि कामबाट निकालिएका अधिकांश नेपालीहरु भारतमा लकडाउन खुलेपछि फेरी कामका लागि अहिले भारततर्फ फर्किरहेका छन् ।

सल्यान थारमारेका दिनेश विकले विगतका वर्षमा दशैं मनाउन घर फर्किने बेलामा अहिले आफुहरु खान लाउन समस्या भएपछि चाडवाडको बेला परदेशतर्फ जानुपरेको दुःखी हुँदै भने । उनले गरिब र असहायको दुःख कसैले पनि नसुनेको गुनासो गर्दै पहाडी जिल्लाका वासिन्दाले भोक, रोग र अभावमै जिवनयापन गर्ने नियती नै बनेको बताए ।

केही महिनाअघि नेपाल फर्किने बेला नेपाली नागरिकताको प्रमाणपत्र देखाएर फर्किएका अधिकांश नेपालीसंग भारतीय आधार कार्ड रहेकोले अहिले उनिहरुले सोही आधार कार्ड देखाएर फर्किरहेका छन् ।

दैनिक तीन सय नेपाली भारत जाँदै

दैनिक सरदर तीन सय नेपाली भारत जानका लागि नेपाल–भारत सीमा नाका जमुनाह आउने गरेको इलाका प्रहरी कार्यालय, जमुनाहले जनाएको छ ।

सो कार्यालयका इन्चार्ज सई विष्णु गिरीले आधार कार्ड भएकालाई भारत जान दिने र नागरिकता भएकालाई नेपाल आउन दिने गरिएकोले सोही बमोजिम भैरहेको बताएका छन् । उनका अनुसार नेपालगञ्ज नाका भएर भारतबाट लकडाउनपछि ७७ हजार नेपाली स्वदेश भित्रिएका छन् । यसैगरि ४१ हजार भारतीयहरु भारत गएको पनि सई गिरीले बताए ।

जमुनाह इलाका प्रहरी कार्यालयले भदौ १५ गतेदेखि कामका लागि भारत जाने नेपालीको लर्को सीमानामा लाग्दै आएको जनाएको छ । भदौ १५ देखि हालसम्म करिब ६ हजार नेपाली रोजगारीका लागि भारत फेरी छिरी सकेका छन् ।

औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न भारत जानेहरुलाई केहि छुट गरिएको सो कार्यालयले जनाएको छ । तर, सोही प्रयोजनका लागि भारतबाट नेपाल आउन खोज्ने भारतीयलाई भने कडाई गरेर आउन समस्या गर्दा सीमानाको सम्बन्धमै असर पर्ने गरेको सुरक्षाकर्मीले जनाएका छन् ।

टिप्पणी थप्नुहोस्