कोरोनाबाट काठमाडौंमा मात्रै नौ जनाको मृत्यु, देशभर १९ ले ज्यान गुमाए

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंका मात्रै नौजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय र ९१ वर्षीय गरी छ पुरुष र ७६ वर्षीया, ८१ वर्षीया र ८३ वर्षीया गरी तीनजना महिलासहित नौजनाको मृत्यु भएको हो ।

ललितपुरका तीन वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा सर्लाहीका ४२ र ६९ वर्षीय पुरुष तथा सुनसरीका ५५ वर्षीय पुरुष, पर्साकी ६५ वर्षीया महिला, चितवनका ६२ वर्षीय पुरुष, गोरखाकी ४५ वर्षीया महिला र नवलपरासी पूर्वका ३६ वर्षीय पुरुष रहेका छन् ।

योसहित कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । यो कुल संक्रमितको ०.६२ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा देशभर २,४४० जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकाका मात्रै १,५३१ जना रहेका छन् ।

टिप्पणी थप्नुहोस्