बाँकेका होटल व्यवसायीद्धारा बन्दाबन्दीको विद्युत महसुल छुटको माग

-सिराज खान

नेपालगन्ज । बाँकेका होटल व्यवसायीले बन्दाबन्दीको अवधीको विद्युत महसुल छुट गर्नुका साथै नयाँ महसुल दर समेत परिवर्तन गर्न माग गरेका छन् ।

होटल एशोशीयसन नेपाल, नेपालगन्ज च्याप्टरका सक्रिय सदस्य केशव न्यौपानेले बन्दाबन्दीको अवधिको विद्युत डिमाण्ड शुल्क पूर्णरुपमा छुट दिन र नयाँ निर्धारण भएको महसुल दर एवं डिमाण्ड शुल्कमा पनि अन्य उद्योग सरह छुट र सहुलियत प्रदान गर्नका लागि सरकारसंग माग गरिएको बताए ।

उनले पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमणका क्रममा नेपालगन्ज आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई व्यवसायीहरुको तर्फबाट सो माग सहितको ज्ञापन पत्र बुझाएको बताए ।

६ महिना बन्द रहेका होेटलहरुले मासिक दस हजारदेखि एकलाखसम्म विद्युत डिमाण्ड शुल्क तिर्न नसक्ने जनाउँदै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको व्यवसायीको भनाई छ ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले बन्दाबन्दीले होटल व्यवसाय पूर्णरुपमा प्रभावित हुँदा समेत राज्यका तर्फबाट कुनै प्रकारको राहत पाउन नसकेको दुखेसो पोखे । उनले सरकारले माग नसुनेमा आफुहरु बाध्य भएर आन्दोलन समेत गर्ने निर्णयमा पुग्न सक्ने पनि बताए ।

होटल एशोसियसन नेपाल, नेपालगन्ज च्याप्टरले मन्त्रालयका सचिवलाई बुझाएको ज्ञापन पत्रमा बन्दाबन्दीमा ६ महिना होटल पूर्णरुपमा बन्द रहेकाले सो अवधीको डिमाण्ड शुल्क पूर्णरुपमा छुट दिनुपर्ने, विद्युत नियमन आयोगले हालै प्रकाशन गरेकोे बिद्युत यूनिट शुल्क बिभेदकारी र होटल क्षेत्रलाई थप मर्माहत बनाउने किसिमले आएकोले नयाँ निर्धारण गरिएको डिमाण्ड र बिद्युत यूनिटल शुल्क खारेज गरी अन्य उद्योग सरह निर्धारण गरिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीले व्यवसायीहरुका मागप्रति सरकार सकारात्मक रहेपनि यो कुनै एक जिल्लाको मात्र समस्या नभएकोले यसका लागि नितिगत निर्णय गर्नु पर्ने भएकोले छलफल भैरहेको बताएका थिए ।

टिप्पणी थप्नुहोस्