पिछडिएको नरैनापुरले माग्यो प्रदेश सरकारसंग ७६ वटा योजना

-सिराज खान

नेपालगन्ज । गाउँपालिकालाई विकासमा अगाडी बढाउन अपरिहार्य रहेको जनाउँदै बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारको योजना आयोगसंग ७६ वटा विकासका योजनाहरु माग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अतिनै पिछडिएको आफ्नो गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विभिन्न विकासका योजना माग गरिएको बताए ।

‘नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि संघीय र प्रदेश सरकारसंग निरन्तर विकासका योजना माग गरिरहेका छौं, अध्यक्ष शाहले भने– ‘शिक्षाको अवस्था सुधार्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, उत्पादन र रोजगारीमा स्थानीयलाई जोड्ने उत्कृष्ट अभिलाषाका साथ म निरन्तर लागिरहेको छु ।’

नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् कृष्णा केसी नमुनासँगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतो, राप्तीसोनारी गापाका अध्यक्ष लाहुराम थारुलगायतको टोलीले प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमलाई भेटेर विकासका योजना माग गरेका हुन् ।

गापा अध्यक्ष शाहका अनुसार प्रदेश योजना आयोग समक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट माग गरिएको छ । यसले नेपालगञ्ज पुग्न १८ किलोमिटर दुरी कम हुनेछ ।

त्यस्तै मटेहियादेखि सोनबर्षासम्मको ६ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनबर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक, नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको अध्यक्ष शाहले जानकारी दिए । उनले प्रदेश योजना आयोग समक्ष ७६ वटा योजना माग गरिएको बताए ।

लुुम्बिनी प्रदेश योजना आयोगका अध्यक्ष डा.गौतमले बृहत् गुरुयोजना बनाएर एकिकृत स्वरुपमा प्रस्ताव ल्याएपछि योजनाहरु समावेश गर्ने आश्वासन दिएको जनाइएको छ । पछिल्लो समयमा नरैनापुरमा हुलाकी सडक र विद्युत पुगेपनि अन्य विकासका काममा गापा धेरै पछाडी रहेको स्थानीय वासिन्दाको भनाइ छ ।

टिप्पणी थप्नुहोस्