ठेकेदारलाई कारवाही र विद्युत पुर्‍याउन माग गर्दै चक्काजाम

-सिराज खान

नेपालगन्ज । बाँकेका दुर्गम गाउँका लागि विद्युत पुरयाउने जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई कारवाही र विद्युत पुरयाउन माग गर्दै बाँकेको राप्तीसोनारी र नरैनापुरका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

संविधानसभाका सदस्य पट्टु थारुको संयोजककत्वमा संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका स्थानीयले विहिबार दिउँसो पुर्वपश्चिम राजमार्गको अगैयामा चक्काजाम गरेका छन् ।

समयमा विद्युतीककरणको काम पुरा नगरेपछि ठेकेदार कम्पनी बिरुद्ध संघर्ष समिति गठन गरेर स्थानीयहरु आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक थारुले बताए ।

उनले भ्रष्ट ठेकेदार चाहिदैन, जनता झुक्याउन पाइँदैन, ठेकेदारलाई कारवाही गर जस्ता नाराहरु लगाउँदै राप्तीसोनारी र नरैनापुरबाट जुलुस लिएर आएका स्थानीयले पुर्वपश्चिम राजमार्गको अगैयामा दुई घण्टा चक्काजाम गरेको बताए ।

निर्माण कम्पनीले समयमा काम पुरा गर्नुको साटो उल्टै विद्युत प्राधिकरण बिरुद्ध उच्च अदालतमा मुद्दा हालेकोले उच्च अदालत बाहिर समेत धर्ना दिने कार्यक्रम रहेको उनले बताए । चक्काजामका कारण राजमार्गको दुबैतर्फ सयौं सवारी साधन दुई घण्टासम्म रोकिएका थिए ।

राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी श्री गौरीपार्वती श्रीमउष्मा जेभीलाई कारवाहीको माग गर्दै चक्काजाम लगायतका कार्यक्रम गरिएको स्थानीयले बताएका छन् ।

२०६९ सालमा राप्तीसोनारीको बैजापुर र साबिकको नरैनापुरको वडा नम्बर ४ मा विद्युतिकरणको काम गर्ने जिम्मा लिएको श्री गौरीपार्वती श्रीमउष्मा जेभी कम्पनीले हालसम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्द गरेपछि सो कम्पनीले विद्युत प्राधिकरण विरुद्ध तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा हालेको छ ।

नेपाल विद्युुत प्राधिकरण ५ नम्बर प्रदेस डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले पटक पटक काम पुरा गर्न ताकेता गरिएपनि ठेकेदार कम्पनीले सम्झौता बमोजिम काम नगरेपछि बाध्य भएर २०७७ साल असोज ६ गते सो ठेक्का रद्द गरिएको बताए ।

उनले ८ करोड ७० लाखमा ठेक्का लिएको उक्त निर्माण कम्पनीको लापरवाहीका कारण स्थानिय जनताले विद्युतबाट बन्चित रहनु परेकोले सो ठेक्का रद्द गर्नु परेको बताए ।

साबिकको बैजापुर गाबिसको वडा नम्बर ३ र ४ तथा नरैनापुरको वडा नम्बर ४ मा पुर्णरुपले विद्युतिकरणको काम गर्ने भनि २०६९ सालमा राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्वती श्रीम उष्मा जेभी कम्पनीले ठेक्का लिएको थियो ।

यसअघि पनि ३३ केभिए प्रशारण लाइनको काममा अवरोध सृजना गरेपनि अदालतले जनताको पक्षमा फैसला गरेको थियो । तत् पश्चात विद्युत प्राधिकरणले सुई बघौडासम्मको आफैं विद्युतीकरणको काम पुरा गरेको थियो ।

 

टिप्पणी थप्नुहोस्