२४ देशमा दशैंको टीका लगाउने उत्तम समय निर्धारण

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कुन देशका कति बेला दशैंको टिका लगाउने भन्नेबारे उत्तम समय निर्धारण गरेको छ ।

समितिको गत मंगलबार बसेको बैठकले नेपाल सहित कुन देशमा कति बजे दशैंको टिका लगाउने भन्नेबारे समय तोकेर विहीबार सार्वजनिक गरेको हो ।

बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २६ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ बजेर ७ मा, टेक्सासमा ११ बजेर ५७ मा र क्यालिफोर्नियामा १ बजेर ४५ मिनेटमा टीकाको शुभसाइत जुरेको छ ।

यसैगरी बेलायतको लण्डनमा ११ बजेर ३९ मिनेटका लागि साइत जुरेको छ । क्यानडाको टोरन्टोमा ११ बजेर ४३, पोर्चुगलको लिस्बनमा ११ बजेर ३७ र फ्रान्सको पेरिसमा २५ सेप्टेम्बरका दिन ११ बजेर ४१ मा टीकाको शुभ साइत जुरेको छ ।

यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्ड लगायतका देशमा भने सेप्टेम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ बजेर ४३ देखि १० बजेर ३५ मिनेटसम्म उत्तम समय तोकिएको छ ।

समितिका अध्यक्ष भट्टराईले धेरै नेपालीको बसोबास रहेको क्षेत्रका माग बमोजिम टीकाको साइत तयार पारिएको जानकारी दिए । समितिले अमेरिकाको लागि त्यहींको समयसँग मिल्दो पात्रो बनाउने काम समेत गरिरहेको छ ।

टिप्पणी थप्नुहोस्