बाँकेमा प्लाज्मा दिनेहरु बढे, २३ जनाले गरे प्लाज्मा दान

-सिराज खान

नेपालगन्ज । पछिल्लो समयमा आएर बाँकेमा कोरोनाका गम्भीर संक्रमितहरु थपिंदै गएपछि प्लाज्मा दान गर्नेहरुपनि थपिंदै गएका छन् । हालसम्म जिल्लामा २३ जना निको भएकाहरुले प्लाज्मा दान गरिसकेका छन् ।

रक्त सञ्चार केन्द्र नेपालगन्जका अनुसार प्लाज्मा दिंदा शरिरलाई कुनै पनि असर हुँदैन भन्ने बारे सचेतना फैलाइएपछि सो बारेमा थाहा पाएर प्लाज्मा दिनेहरु बढ्दै गएका हुन् ।

रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले संक्रमित भएर निको भैसकेकाहरुले शुरुमा प्लाज्माबारे राम्ररी नबुझेको हुँदा दिन नमाने पनि पछि क्रमशः सो बारे राम्ररी बुझ्दै गएपछि प्लाज्मा दान गर्न थालेको जनाउँदै हालसम्म २३ जनाले जिल्लामा दान गरिरसकेको बताएका छन् । उनले अझैपनि धेरैले प्लाज्मा दान गर्ने बारेमा आफुहरुलाई खबर गरिरहेको बताए ।

भेरी अस्पतालका चिकित्सक तथा प्लाज्मा सम्पर्क व्यक्ति डा. खगेन्द्रजंग शाहले दिनदिनै गम्भीर अवस्थाका संक्रमितहरु अस्पतालमा आउन थालेपछि प्लाज्माको आवश्यकता बढ्दै गएकोले प्लाज्मा दानका लागि निरन्तर प्रयास गरिरहेको बताए ।
उनले सो बारेमा सामाजिक संजाल लगायत अन्य सञ्चार मार्फत निरन्तर अपिल गरिरहेको जनाउँदै प्लाज्मा आवश्यक परेको सुचना जारी गर्ने वित्तिकै दान गर्नेहरुले सम्पर्क गर्ने गरेकोले प्लाज्माको समस्या नरहेको बताए ।

भेरी विशेष कोरोना अस्पताल र नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा भर्ना रहेका १५ जना संक्रमितलाई प्लाज्मा दिइएकोमा ती मध्ये अधिकांशको ज्यान जोगिएको रक्त सञ्चार केन्द्र नेपालगन्जले जनाएको छ ।
भेरी अस्पतालका प्लाज्मा सम्पर्क व्यक्ति डा.शाहका अनुसार धेरै गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्मासहित रेम्डिसिभिर पनि दिने गरिएको छ ।

बाँकेमा पहिलो पटक भेरी अस्पतालमा नेपालगन्ज वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालको प्लाज्मा सल्यान शारदा नगरपालिका–६ का प्रविण केसीलाई चढाइएको थियो । कोरोनाबाट गम्भीर अवस्थामा पुगेका केसी त्यहीँ प्लाज्माबाट निको भएर घर फर्किएपछि प्लाज्मा दिनेहरु बढ्दै गएका हुन् ।

टिप्पणी थप्नुहोस्