बजारमा मूल्यवृद्धि भएको छैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘लकडाउन’पछि खुलेको बजारमा कुनैपनि खाद्यान्नलगायत दैनिकरुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरे ।

तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक(दुईओटा वस्तुमा मूल्यवृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टको भनाइ थियो । बजार आफ्नो गतिमा गएको बताउँदै उनले भने, ‘कहीँपनि समस्या आएको छैन ।’

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यानकेन्द्रित भएको पनि उनले बताए ।

निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए ।

उद्योगमन्त्री भट्टले आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत गरे । उनले कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको बताए ।

टिप्पणी थप्नुहोस्