कोरोनाको संकटमा मुख्यमन्त्रीलाई पुल र शौचालय उद्घाटनको चटारो

धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई यो साता चर्चामा रहे । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको कुर्सीको चर्चा चलिरहंदा प्रदेश १ का मुख्यमन्त्री विकासका कामले चर्चामा रहेका हुन् । प्रदेशमा कोरोना भाइरस संक्रमणको हाहाकार मच्चिएको बेला उनैले घोषणा गरेको हजार बेडको कोभिड–१९ अस्पतालको अहिलेसम्म सुरसार नभएकोमा प्रश्न उठिरहेको छ ।

मुख्यमन्त्री राई भने कोभिडको बहानामा विकासका काम नरोक्ने भन्दै पुल र सार्वजनिक शौचालयको उद्घाटनमा व्यस्त रहेकाले चर्चामा आउनु अस्वभाविक होइन ।

प्रदेशका राजधानी विराटनगरसहित प्रमुख शहरहरु कोरोना भाइरस संक्रमणबाट आक्रान्त भएको बेला गएको साउनमा मुख्यमन्त्री राईले विराटनगरमा एक हजार बेड भेन्टिलेटरसहित कोभिड-१९ अस्पताल बनाउने गरेको घोषणा अनुसार अहिलेसम्म काम शुरु भएको छैन् । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले पत्रकार सम्मेलनै गरेर प्रश्न उठाएको छ ।

विपक्षी दलका नेता राजीव कोइरालाले मंगलवार पत्रकार सम्मेलनमा कोभिड अस्पताल बनाउने समय हुँदाहुँदै प्रदेश सरकारकै अक्षमता र अकर्मण्यताले अवसर चुकेकोे, कोरोना संकटका बेला राज्य उदासीन र एकलकाँटे भएको आरोप लगाई रहेका बेला मुख्यमन्त्री राई मोरङको सुन्दरहरैंचामा ईलाइब्रेरी सहितका आधुनिक शौचालय उद्घाटनमा भनिरहेका थिए ‘कोभिडको बहानामा प्रदेशमा विकासका काम रोकिनु हुँदैन ।’

विपक्षी दलले कोरोनालाई राजनीतिक हथकण्डा बनाएको संकेत गर्दै उनले कोभिडको बहाना नगरी काम गर्दा ठूला योजना शुरु भएको उदाहरण दिदैं त्यस्ले कोभिडको बहानाबाजी गरेर हात बाँधेर बस्न नहुने सन्देश दिएको बताए ।

भोजपुर जिल्लालाई सिधै सडक यातायातले धरानसंग जोड्ने पुलको निर्माणलाई पनि मुख्यमन्त्री राईले कोरोना कालमा प्रदेश सरकारले अघि बढाएको विकासको उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका वडा ९ चुहारमा बन्ने उक्त पुलको मुख्यमन्त्री राईले सोमवार शिलान्यास गरेका छन् । पुलले उदयपुर जिल्लाको बेलका नगरपालिकाको मैनामैनी हुँदै बराहक्षेत्र–धरानलाई जोड्ने छ । पुलको निर्माणले भोजपुरको आर्थिक, सामाजिक, पर्यटन विकासमा युगान्तकारी परिवर्तन ल्याउने उनले बताए ।

यसअघि उनले सुन्दरहरैंचामा उद्घाटन गरेको अत्याधुनिक मापदण्डका आठवटा सार्वजनिक शौचालय बनाउने तयारीले नगरको गौरव बढ्ने बताए । उनले यस्ता सिर्जनशील सोच अन्य पालिकाले पनि आत्मसात गरी ती सोचलाई कार्यान्वयन गराउनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्रीले विकासका कुरा गर्नु अस्वभाविक होइन् तर अहिले प्रदेश सरकारको प्राथमिकता कोरोना संकटमा परेको जनताको स्वास्थ्य र जीवन बचाउने हुनुपर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइराला बताउछन् ।

सरकारलाई उसको दायीत्व बोध गराउन कांग्रेसले मुख्यमन्त्री समक्ष १५ दिनभित्र भेन्टिलेटर सहित १ हजार बेडको कोभिड अस्पताल बनाउन माग गरेको हो । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीक अनुसार बीपी प्रतिष्ठान स्थित कोभिड अस्पतालका ८ भेन्टिलेटरमा ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मा २ वटा बिग्रेका छन् ।

प्रदेशको राजधानी विराटनगर स्थित नीजि अस्पतलाहरु नोबेल, न्यूरो र विराट नर्सिङ होमका भेन्टिलेटरहरु स्थानिय बिरामीका लागि पर्याप्त छैनन् । प्रदेशमा कोरोना संक्रमित बिरामीले सामान्य न्यूनतम उपचार समेत नपाउने अवस्था उत्पन्न भएको भएको बेला विकासका ठूला कुराले जनताको ज्यान सुरक्षीत नगर्ने उनको भनाई छ ।

 

टिप्पणी थप्नुहोस्