व्यापार नहुँदा सुनचाँदी व्यवसायी र कालीगढ समस्यामा

-सिराज खान

नेपालगन्ज । सुनचाँदीका गहनाको विक्री घटेपछि व्यवसायी र गहना बनाउने कालीगढहरु दुबै आर्थिक संकटमा परेका छन् ।
बन्दाबन्दीमा लामो समय बन्द भएको सुनचाँदी व्यवसाय बन्दाबन्दी खुलेपनि राम्ररी नचलेकोले व्यवसायी र सो व्यवसायमा निर्भर कालिगढहरुले काम नपाउँदा उनिहरुको पेशानै संकटमा परेको हो ।

सुनचाँदी विक्री अत्तिनै न्यून हुँदा व्यवसायी र कालीगढ दुबैलाई ठूलो समस्या परेको सुनचाँदी व्यवसायी संघ बाँकेले जनाएको छ । संघका अध्यक्ष सलाहुद्दिन जसगढले हाल आएर आफुहरुको व्यवसाय धरापमा पर्दै गएको जनाउँदै सो को प्रत्यक्ष प्रभाव कालीगढलाई पनि परेको बताए । उनले बाँकेका दुई हजार कालिगढसंगै करिब ५ सय व्यवसायी पनि आर्थिक संकटमा परेको बताए ।

बन्दाबन्दी हटेपनि ग्राहक नआउँदा व्यवसाय प्राय ठप्प जस्तै रहेको अध्यक्ष जसगढको भनाई छ । उनले विगतका वर्षमा तीज पर्व यता गहनाको किनबेच धेरै हुने गरेको जनाउँदै गत वर्षसम्म पनि राम्रो व्यवसाय भएकोमा हाल आएर व्यवसाय घट्दा व्यवसायी र कालिगढ दुबै खाली बसेको बताए ।

लामो समयदेखि काम नपाउँदा केही कालिगढले पसल बन्द गरेर तरकारी विक्रि गर्न थालेको जनाउँदै कालिगढ मोनिस खानले अन्यले काम पर्खेर दिन विताईरहेको बताए ।  उनले नेपालगन्जमा रहेका करिब दुई हजार भन्दा बढी सुनचाँदी कालिगढहरुमध्ये केहीले मात्र छिटपुट काम गरिरहेको र अधिकांशले काम नपाएको जनाएका छन् ।

कोभिड १९ का कारण लामो समयको बन्दाबन्दी, सुनचाँदीको मुल्य बृद्धि लगायतलले गर्दा सुनचाँदीको विक्रि घट्दै गएपछि व्यवसायी र कालिगढ दुबै संकटमा परेको उनीहरुको भनाई छ ।  दसैं तिहार नजिक आएपनि सुुनचाँदीको कारोबार शुन्य जस्तै रहेको अधिकांश व्यवसायीको गुनासो छ ।

नेपालगन्जका अधिकांश सुनचाँदीका पसलहरु हाल सुनसान नै रहेको सदरलाइनका व्यवसायी रईस जसगढले बताए । ‘तीजदेखि नै गरगहनाको किनबेचका लागि खचाखच हुने पसलहरुमा यो वर्ष सुनसान छ । अघिल्ला वर्षमा काँचो सुनको अभावमा व्यापार घटेको थियो तर अहिले भने ग्राहक नआउँदा व्यापार छैन,’–जसगढले भने ।

नेपालगनज ११ का सुनचाँदी कालिगढ दिलिप सोनीले गहना बनाउने काम नआएपछि अब परिवारमा सल्लाह गरेर अर्को व्यवसाय गर्ने सोच बनाइएको बताए । उनले अब कामको पर्खाइमा धेरै दिन बस्न नसकिने जनाउँदै अन्य काममा मजदुरी गर्ने सोच बनाएको बताए ।

टिप्पणी थप्नुहोस्