भेरी अस्पतालमा आपतकालिनका सबै सेवा निःशुल्क

नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख रिफरल अस्पतालको रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालले आपातकालिन सबै सेवा निशुल्क गर्ने निर्णय गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले समितिको बैठकले अस्पतालको आपातकालिन (इमरजेन्सी) सेवामा लिइदै आएको शुल्कहरु कात्तिक १ गतेबाट नलिने निर्णय गरेको जानकारी दिएका छन् ।

उनले इमरजेन्सी अवस्थामा आएका विरामीलाई अस्पताल भित्र पाइने सम्पूर्ण सेवा निशुल्क दिने निर्णय गरिएको बताए । कुनै ब्यक्ति विरामी भई वा दुर्घटनामा परि अस्पताल आएमा उसको अप्रेशन समेत निशुल्क गर्ने निर्णय भएको अध्यक्ष धितालले बताए ।

रकम अभावमा कोहीपनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले इमरजेन्सी सेवा निशुल्क गरिएको अस्पताल विकास समितिको भनाई छ । ‘अव उपचारबाट कोही बञ्चित हुनुपर्ने छैन । इमरजेन्सी अवस्थामा अस्पताल आएका विरामीको अप्रेसनदेखि औषधि, भिडियो एक्स-रे, सिटि स्क्यानसम्म निशुल्क हुने छ,’ अध्यक्ष धितालले भने ।

अहिले इमरजेन्सीका लागि पर्चाको २५ रुपैंयाँ शुल्क लिने गरिएको छ भने, विभिन्न जाँच बापतको शुल्क विरामीले तिर्नु पर्छ । तर, कात्तिक १ गतेपछि कुनै पनि शुल्क लाग्ने छैन ।  इमरजेन्सी सेवा निशुल्क भएपछि दुर्घटनामा परेका र अकस्मात विरामी परेका सबैले समान रुपमा निशुल्क र छिटो उपचार पाउने अस्पतालले जनाएको छ ।

टिप्पणी थप्नुहोस्