एमाले, कांग्रेस र माओवादी

-किशोर नेपाल

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुध्द नेपाल कम्युनिष्ट पार्टीका अर्का नेता यमलाल कँडेलले अबिश्वासको प्रस्ताव दर्ता गरेपछि नेपाल कम्युनिष्ट पार्टी एकताको बास्तबिकतालाई छर्लंग पारी दिएकोछ । जतिबेला एमाले र माओवादीको एकताले नेपालको कम्युनिष्ट आन्दोलनलाई मजबूत बनाएको घोषणा गरिदै थियो, त्यति नै बेला पार्टी बिग्रहको बीउ पनि रोपिदै थियो । यो बीउ ठाउँ ठाउँमा अंकुरित हुँदै थियो । सुर्खेतमा यो बिरुवाको असली आकार र यसको उर्वर चरित्र छर्लंग भयो । अबिश्वासको नाटकको संयोजन कहाँ भएको थियो ? कँडेलले कसका बलले यो नाटकको मन्चन गरेका थिए ? अब यी प्रश्नहरुको कुनै औचित्य छैन ।

नेपाल कम्युनिष्ट पार्टी नामाकरण गरिदैमा एमाले र माओवादी-दुइ भिन्न राजनीतिक प्रबृत्ति-एकहुने गुंजायश पनि थिएन । एमाले र माओवादी बीचको फरक प्रकारको गठबन्धन थियो नेकपा, जसले गएको चुनावमा नेपाली कांग्रेसलाई पराजित गर्यो । निमिट्यान्न पार्न सकेन ।प्रतिनिधि सभामा निर्वाचित सदस्य संख्या साह्रै न्यून भएपनि प्राप्त मतसंख्याको आधारमा भन्दा मतदाताको दोस्रो चयनमा कांग्रेस नै रह्यो ।

चुनावपछि नेकपा एकताको कन्दनी पटक पटक चुँडिएको छ र पटक पटक जोडिएकोछ । यो जनताको सरोकारको कुरा होइन । नेपालमा राजनीतिक पार्टीहरुको निर्माण आपसी अबिश्वास भएका दुइपक्ष मिलेर हुन्छ । त्यसैले यिनको जोडिने र छुट्टिने क्रम चली नै रहेको हुन्छ । खासगरी,वामपन्थी पार्टीहरुका बीचमा यो प्रवृत्तिकैहिसाबले स्थापित भै सकेकोछ । वामपन्थीका अनेक समूहको ‘प्राज्ञिक’ गतिविधिअहिले सीमित देखिएपनिबिभिन्न अवसरमा त्यो उजागर हुने गरेकोछ ।

जनयुध्दको सफल अवतरणपछि, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिष्टहरुलाई एकजूट बनाएर बृहत्त नेपाल कम्युनिष्ट पार्टी बनाउने चाहनातिर आकर्षित भए । नेपाल जस्तो सानो र अबिकसित देशले यत्रो भारी उठाउन सक्दैन भन्ने बिचार उनको मनमा आएन । जनयुध्दपछि यो उनको दोस्रो ठूलो योजना थियो र ठूलो आकांक्षा पनि । तर, उनको यो आकांक्षा पूरा हुनसक्ने परिवेश उपलब्ध थिएन नेपालमा ।

प्रचण्डले बिश्लेषण गरेको राजनीतिक बाटोमा हिडन तयार थिएनन कुनैपनि वामपन्थी दलहरु ।मालेका महासचिव मदन भण्डारीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मनमोहन अधिकारीसंग पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी)गठन गरिसकेको स्थितिमा स्वाभाबिक हिसावले नेपाली कम्युनिष्ट पार्टीको मूलधारका रुपमा चिनिन थालेको थियो एमाले । माओवादी पार्टीले जनयुध्दको घोषणा गर्दासम्म एमालेले अल्पमतको सरकार बनाइ सकेको थियो । यसले पनि त्यतिखेर एमालेलाई मूलधारको पार्टीका रुपमा स्थापितहुन मद्दत गर्यो ।

प्रारम्भदेखि नै एमालेको राजनीतिक पकड दरवारिया बर्ग, कांग्रेस बिरोधी धनीमानी, कांग्रेस राजनीतिले पाखामा फालेका ब्यक्तिहरु तथा आभिजात्य बर्ग माथि बढी थियो । एमालेप्रति दरबारियाहरुको नजर पनि बदलिएकोे थियो । दरबारियाहरु मनमोहन अधिकारीको ब्यक्तित्वबाट सम्मोहित थिए । उनीहरु राजतन्त्रको सहयोगीका रुपमा एमालेलाई स्थापितगर्न अधिकारीको योगदान रहने ठान्दथे । दरबारको भित्री आशय एमालेकांग्रेसलाई टक्कर दिने राजनीतिक शक्तिका रुपमा स्थापित होस भन्ने थियो । यो कुरा राजनीतिको कख बुझने सबैलाई थाहा थियो ।

माओवादी नेतृत्वको हिंसात्मक क्रान्तिका दश बर्षसम्म कांग्रेस लगायतका सबै मूलधारका भनिने राजनीतिक पार्टीहरुमा नराम्रो बिचलन आयो । एमालेको मूल चरित्र पनि यही बेला उदांगो भयो । राजालाई दाम राखेर दर्शन गर्नेदेखि गणतन्त्रका सन्दर्भमा वयल गाडा चढेर अमेरिका पुगिन्न भन्ने सम्मका ‘उद्गार’ त्यही पार्टीबाट निस्कियो । एमाले पार्टीभित्रको बिचलनका लागि यतिबेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खडगप्रसाद ओलीको बदनामी फैलिएपनि माधव नेपालको अतीत पनि जाज्ज्वल्यमान छैन । सत्ताका लागि नेपालका नेताहरु जे पनि गर्न सक्दछन । उनीहरुका लागि गर्नहुने र नहुने भन्ने कुनै बिषय नै छैन । ‘बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नंगा, मगन्ते भेष निन्दित ’ कवि–शिरामणिको यी पंक्तिहरुबाट नेताहरु प्रभावित र प्रेरित रहँदै आएका छन ।

संविधान सभाका लागि भएको पहिलो चुनावमा माओवादी दलले सवभन्दा ठूलो दलका रुपमा संविधान सभामा पाइलो टेक्ला भन्ने कसैले सोचेको थिएन । तर, ठूलाबडा दरबार र घरबार सबैको अपेक्षाका विपरित माओवादीले ठूलो बिजय हासिल गर्यो । माओवादी बीस-तीस स्थानमा खुम्चिने अनुमान जजसले पनि गरेका थिए ती सबैले आफनो मुख लुकाउनु पर्यो । राजतन्त्र बिदा भयो । तर, जुन गतिमा माओवादीले तीब्र परिवर्तनका लागि कामगर्नु पर्दथ्यो त्यो गर्न सकेन ।

सरकारका रुपमा पनि खासै योगदान पुर्याउन सकेन । यो स्पष्ट देखियो, माओवादी पार्टीका नेताहरु नै प्रचण्डका बिरुध्द आन्तरिक षडयन्त्रमा लिप्त भए । प्रचण्डको माथमा जडिएकोजनयुध्द र संविधान सभा चुनावमा बिजयको ‘शेहरा’ धेरैका लागि इष्र्याको बिषय बन्यो । यसबाट डा. बाबुराम भट्टराई, जो आफूलाई जनयुध्दको ‘असली डिजाइनर’ भन्दथे, निकै कुण्ठित भए । पार्टीभित्र गुरु र दार्शनिकको सम्मान पाएका मोहन बैद्यमा पनि केही न केही मात्रामा इष्र्या थियो नै ।

रामबहादुर बादलमा पनि सम्मानको भोक थियो । तर, जनयुध्दका नेता प्रचण्ड नै थिए । दिल्लीमा बसे पनि दिल्लीबजारमा बसेपनि जनयुध्दका नेता उनै थिए । माओवादीको पोष्टरमा उनैको डरलाग्दो तस्वीर छापिन्थ्यो जसले त्यतिबेलाका राजा र प्रधानमन्त्री दुबैलाई झस्काउँथ्यो ।

सरकार प्रमुखका रुपमा प्रचण्डले खासै गल्ती गरेका थिएनन । अलि लामै समय काम गर्न पाएका भए गल्ती पनि गर्ने थिए होलान । उनले गल्ती नगरे पनि उनका केही मन्त्रीहरु आफूले पाएको ‘अधिकार’ को परीक्षणगर्न चाहन्थे । रक्षामन्त्री बादल र अर्थमन्त्री भट्टराईले प्रयोगको तारो बनाए तत्कालीन सेनापति रुक्मांगद कटुवाललाई । शहर भरि सेनापति कटुवाल हटाइने हल्ला चल्यो । कतिले बालुवाटारमा कोतपर्वको पुनर्मन्चनहुने अडकलबाजी पनि गरे । त्यस्तो केही भएन । गणतन्त्रका प्रथम राष्ट्रपति रामवरण यादवले गणतन्त्रका प्रथम निर्वाचित प्रधानमन्त्रीलाई पदबाट हटन नैतिक रुपमा बाध्य तुल्याए । राज्यको रुपान्तरणका प्रक्रियामा ‘ब्रेक’ लाग्यो ।

यो घटनाले प्रचण्डलाई निकै नै अस्थीर बनायो । कुनैपनि काममा उनको ध्यान केन्द्रीत हुन छाड्यो । उनको नेतृत्वमा गठन भएको पहिलो गणतान्त्रिक सरकारले प्रारम्भिक दिनमा यथास्थितिवादीबाट यति ठूलो बाधा र बिरोधको सामना गर्र्नु पर्यो । उनलाई कर्नर गरिएको थियो । उनका लागि अप्ठेरो परिस्थिति थियो । तर, उनलाई ‘कर्नर’ गरिएको बिरोधमा नेपाली जनमत स्पष्ट देखा पर्यो । संविधान सभाका निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका नेता नरहरि आचार्यको टिप्पणी थियो: यो घटनाबाट माओवादीले आशा गरेभन्दा धेरै राजनीतिक लाभ पाए । अरु राजनीतिक दल यो पूरै काण्डमा नराम्रोसंग पछारिए ।

राजनीतिक घटनाको बिकासक्रममा सबभन्दा पछाडि परे कांग्रेसका सुशील कोइराला र उनी पछिका नेताहरु । सुशील कोइरालाले माओवादीसंगको शान्ति सम्झौतामा कहिल्यै पनि आफना नेता तथा सभापति गिरिजाप्रसाद कोइरालालाई पछ्याएनन । गिरिजा कोइरालाले पनि माओवादीसंगको शान्ति प्रक्रियामा कांग्रेसको कार्यसमितिमात्रै होइन, आफू नजीक रहेका कुनै पनि नेतालाई बिश्वासमा लिएनन । शान्ति प्रक्रियाको क्रममा दिल्ली खटाइएका महन्थ ठाकुरले के काम गरे ? अरु कतिपय पर्यवेक्षकले के काम गरे ? कसैले थाह पाएन । बिश्वसनीय रुपमा कोइरालाका सहयोगी भनेर चिनिएका थिए कृष्ण सिटौला र शेखर कोइराला । त्यो कुरा भने जगजाहेर छ ।

अहिले कांग्रेसका नेताहरु धरमरमा छन । उनीहरु माओवादीलाई उपेक्षागर्ने र माओवादीसंग अपेक्षागर्ने दुवै स्थितिमा छैनन । प्रचण्ड आफै नेपाल कम्युनिष्ट पार्टीका दोस्रो (कार्यकारी) अध्यक्ष हुन । तर, उनी माओवादी अध्यक्षकै रुपमा बिख्यात छन । यतिबेला उनी बिलखबन्दमा परेका छन । बिशाल कम्युनिष्ट पार्टी निर्माणको सपना देखेर एमालेसंग एकतामा जानु उनको गम्भीर राजनीतिक त्रुटी सावित हुँदैछ । पार्टीका दुइचारजना नेतालाई मन्त्री बनाउने काममा आफ्नो उर्जा खर्चगरेर उनी आफ्नो क्षमताको अवमूल्यन गर्दैछन । माओवादीले उठाएका एजेण्डाहरु पूरा नभएका सन्दर्भमा उनले आफनो पार्टीलाई पुन संगठितगर्नु आबश्यक छ । अहिले उनी जुन प्रक्रियामा छन त्यसबाट कहीं पुगिन्न भन्ने अहसास उनलाई भएकै हुनु पर्दछ ।

एमालेसंगको एकीकरणबाट प्रचण्डको हातमा सत्ता आउने होइन । त्यो सत्ता आयो भनेपनि त्यसबाट उनले कुनै गतिलो कामगर्न सक्दैनन । एमाले र कांग्रेसभित्र अहिले गिरोह हावी छ । अहिलेसम्म गिरोहवादबाट माओवादी जोगिएको छ । कांग्रेस गिरोहबादबाट उम्किन खोज्दैछ । यो अवस्थामा प्रचण्डले आफूले गर्न नपाएका अपूर्ण कुरागर्ने आँट गर्नुपर्दछ ।

प्रचण्ड खतरा मोल्न डराउँदैनन । जीवनमा धेरै ब्यक्तिगत सुख गुमाएका प्रचण्डले ती सुखलाई पुन प्राप्तगर्न जनताकैै दैलोमा नै जानु पर्दछ । राजनीतिले फेरी एकपल्ट कोेल्टे फेर्न खोजेको छ । यो अवस्थामा नयाँ सत्ता तर्फको शान्तिपूर्ण संक्रमणका लागि प्रचण्डको आबश्यकता छ । उनले त्यो आबश्यकता बुझन सकेभने नेपालका राजनीतिक दलहरु आफनो आयतनमा फैलिन सक्नेछन । अहिले आफूलाई शक्तिशाली ठानी रहेका ओली हुन वा आफनो लिगेसी धान्ने उत्तराधिकारीको खोजीमा रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा हुन-उनीहरुले यो तत्वबोध गर्नै पर्दछ, यो सानो र सुन्दर देशमा धेरै ठूला छाल र उवाल होइन, जीवनमूल्यको खोजी अपरिहार्यछ । के आउँदो समयका नेताहरुले यो कुरा बुझलान ?

टिप्पणी थप्नुहोस्