बाँकेमा ३६१ फरार मोस्ट वान्टेड अपराधी पक्राउ

-सिराज खान

नेपालगन्ज । विभिन्न खाले जघन्य अपराधमा संलग्न भै वर्षौदेखि फरार रहेका मोस्ट वान्टेड अपराधीहरुलाई बाँके प्रहरीले कोरोना कहरबीचनै धमाधम पक्राउ गरिरहेको छ ।

हत्या, अपहरण, बलात्कार र चोरी डाका लगायतका विभिन्न अपराध गरेर फरार रहेका ३६१ जना मोस्ट वान्टेड अपराधीलाई गत चार महिनाको अवधीमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले विभिन्न ठुला अपराधिक घट्नामा संलग्न रहेपनि वर्षौदेखि फरार रहेका ३६१ जना अपराधीलाई गत चार महिनाको अवधीमा पक्राउ गरेर कानुनी दायरामा ल्याइएको बताएका छन् ।

उनले सवारी ज्यान मुद्दा दर्ता भइ फरार रहेका, बम विष्फोटका मुद्दामा फरार रहेका, जबर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका, ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका, नागरिकता किर्ते मुद्दाका फरार, लागू औषध ब्राउन सुगर कारोबारी र प्रयोगकर्ता, जालसाझी मुद्दाका फरार, गौबध, अपहरण, शरीर बन्धक र आर्थिक लाभ मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको बताए ।

गत आर्थिक वर्षमा ५४ जना मात्र फरार अपराधी पक्राउ परेका थिए भने गएको चार महिनामा मात्रै ३६१ जना अपराधीलाई पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ ।

एसपी रानाका अनुसार पक्राउ पर्नेहरुमा अदालतबाट फैसला भएका ३१५ जना, मुल्तबिमा रहेका २३ जना र चालु मुद्दामा फरार रहेका २३ जना गरी ३६१ जना रहेका छन् ।

उनले बाँकेमा २ हजार ३५८ जना अपराधी अझैपनि फरार रहेको जनाउँदै उनिहरुको पनि खोजी भैरहेको जनाए । बाँकेमा अदालतबाट फैसला भई फरार रहेका २ हजार २१० जना र प्रहरीमा मद्दा दर्ता भई फरार रहेका १४८ जना गरी २ हजार ३५८ जना अपराधी फरार रहेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको छ ।

यसैविच केहीदिन अघि मात्रै बाँके प्रहरीले हत्या गरेर फरार भएका एक अपराधीलाई ७ बर्षपछि पक्राउ गरेको थियो ।
२०७० साल असोज १ गते साबिकको उढरापुर गाबिस वडा नं ९ का २० बर्षिय गोलु चमारको हत्या गरी फरार रहेका साविक उढरापुर गाविस वडा नं ६ हाल खजुरा गाउँपालिका वडा नं ६ का २८ बर्षीय बब्लु वेहना भन्ने रहमत अलीलाई प्रहरीले ७ बर्षपछि पक्राउ गर्न सफल भएको जनाएको छ ।

टिप्पणी थप्नुहोस्