रुकुम पश्चिमलाई समृद्ध बनाउने अभियान सुरु

-राजु लामिछाने

रुकुम पश्चिम । रुकुम पश्चिममा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियानको थालनी गरिएको छ । जिल्लाको ५ औं जिल्लाले पारित गरेका नीतिगत मार्गदर्शन र कार्यक्रमहरु पत्रकार माझ सार्वजनिक गर्दै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले उक्त अभियानलाई जनताको अवस्था परिवर्तन नहुँदासम्म प्राथमिकता दिइने बताए ।

‘उत्पादन, रोजगार एवम् आर्थिक विकासका साथ समृद्धितिर अघि बढौं, सामाजिक सांस्कृतिक रुपान्तरण र विकास गर्दै समाजवादको आधार तयार पारौं’,भन्ने मुल नाराका साथ उक्त अभियान चलाइएको प्रमुख शर्माले बताए ।

प्रमुख शर्माका अनुसार, आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणको अभियानलाई सफल बनाउन जिल्ला सभाले बिभिन्न योजना र कार्यक्रमलाई अगाडि सारेको छ । जिल्ला सभाले स्वास्थ्य, सुरक्षा, व्यबस्थापन, उत्पादनका साथै दैनिक जीवन संचालनका लागि आवश्यकता अनुसार महिलाको नेतृत्वमा सहकार्य इकाई निर्माण गरी कार्य सम्पादन गर्ने कार्यक्रम तय गरेको छ । सभाले सामाजिक नेतृत्व निर्माणका लागि सामाजिक रुपान्तरण तथा सुधार र रोजगार, उत्पादन तथा विकास निर्माणका दुई ओटा समिति बनाएर बिभिन्न कार्यक्षेत्र समेत तय गरेको जनाइएको छ ।

प्राथमिकतामा शिक्षा
जिल्ला सभाले पारित गरेको पहिलो मार्गदर्शन खण्डका २२ कार्यक्रमलाई प्राथमिककरण गरेर कार्यान्वयन गरिने समेत जनाइएको छ । रोजगारी र आर्थिक समृद्धिको लागि बिषयगत प्राथमिकता दिदा शिक्षा, स्वास्थ्य, कृषि तथा वन पैदावारमा आधारित उद्योग र समाजिक सांस्कृतिक रुपान्तरणका विविध बिषय क्रमैसँग राखिएको समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए ।

कृषि र वन पैदावारमा आधारित उद्योगलाई आर्थिक समृद्धिको हिसाबले पहिलो मानिने समेत शर्माले जनाए । चेतनसिल समाज, परिस्कृत संस्कार, दिगो र प्रभावकारी योजनाको लागि शिक्षा सबैभन्दा अगाडि रहेको उनको भनाइ छ ।

घरबास नहुनेलाई घरबास

जिल्ला सभाले पारित गरेका पहिलो खण्डका मार्गदर्शनमा सामाजिक मूल्य मान्यता, नैतिक शिक्षा, सांस्कृतिक रुपान्तरण, सामाजिक एकता, सचेतनाका कार्यक्रमहरु समेटिएका छन् । बाँझो जमिनको उपयोग र घरबास नभएकाहरुलाई घरबासको व्यबस्था लगायतका कार्यक्रम यसमा समावेश गरिएका छन् । गरिब पहिचान गर्ने, अनिवार्य स्वास्थ्य बिमा गर्ने, उत्पादन तथा कृषि कार्यको लागि सहुलीयत ऋण उपलब्ध गराउने, उत्पादन र रोजगारका कार्यक्रम अघि सार्ने, प्राकृति श्रोतको उचित उपयोग गर्ने लगायतका कार्यक्रम जिल्ला सभाले पारित गरेको छ ।

बालवालिकाहरुलाई भावि समाजको समग्र नेतृत्वको लागि विकास गर्ने, स्थानीय आवश्यकता अनुकुलका पाठ्यक्रम निर्माण गर्ने, लक्षित वर्गको आवश्कता अनुसारका कार्यक्रम ल्याउने लगायतका महत्वपूर्ण योजना जिल्ला सभाले ल्याएको छ ।
सेवाग्राही मैत्री योजना

जिल्ला सभाले पारित गरेको मार्गदर्शनको दोस्रो खण्डमा सरकारको सेवा प्रवाहलाई जनमैत्री र सुशासनयुक्त बनाउन बिभिन्न कार्यक्रम पारित गरिएको छ । आर्थिक समृद्धिका लागि कृषि भन्ने मुल मान्यतालाई मूर्त रुपदिन जिल्लामा एक स्थायी माटो परीक्षण प्रयोगशाला स्थापनाका लागि पहल गर्ने, आवश्यकता र वातावरणीय प्रभाव अनुकुलका योजना संचालन गर्ने जिल्ला सभाले निर्णय गरेको छ ।

सभाले प्रत्येक स्थानीय तहमा सामाजिक सांस्कृतिक रुपान्तरण इकाई गठन गरेर सामाजिक गतिबिधिहरुलाई एकिकृत र प्रभावकारी बनाउने निर्णय गरेको छ भने विकास निर्माणका कार्यलाई बेलैमा प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय गरेको छ ।
समाजवादका लागि विभिन्न कार्य

नेपालको संविधानको मर्म अनुसार समाजवाद निर्माणका लागि बिभिन्न कार्यलाई प्राथमिकता दिने जिल्ला सभाले निर्णय गरेको छ । आफ्नो श्रम आफनै लागि भन्ने नाराका साथ श्रम सहकारीहरु व्यबस्थित र प्रभावकारी रुपमा परिचालन गर्ने, आफ्नो पुँजि आफनै लागि भन्ने मर्मका साथ एक पालिका एक वित्तिय सहकारी निर्माण र व्यबस्थित गर्ने, श्रम सहकार्य समुह बनाई व्यबसायिक उत्पादन र सुलभ ऋणका लागि सहजिकरण गर्ने मार्गदर्शन जिल्ला सभाले तयार पारेको छ ।

त्यसैगरी एक वडा एक नमूना उत्पादन पकेट क्षेत्र बनाइ उत्पादनको विकास गर्ने, जमिन बाँझो नराख्ने, श्रम पलायन हुन नदिने, निर्यातमूखी उत्पादनमा जोडदिने लगायतका निर्णय पारित गरिएको छ । जिल्ला सभाले बिभिन्न बिषयका बिज्ञहरुको उपयोग र क्षमता विकास, स्थानीय तहको वस्तुगत विवरण तयारी, दिर्घकालिन प्रभावका योजना निर्माण, स्थानीय तह, संघीय तथा प्रादेशिक निकाय बीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाई सेवा प्रवाह र विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

सबैको एकिकृत बुझाई र गराइबाट जस्तोसुकै बिपत्ति पनि सामना गर्न सकिने भन्ने कुरालाई मनन् गर्दै संस्थागत विकासबाट मात्र सरकार बलियो र सफल बनाउन सकिने कुरातर्फ लागि गरेको प्रमख शर्माले उल्लेख गर्नुभयो । प्रमुख शर्माले जिल्लाका सबै स्थानीय तहका प्रमुख, उप प्रमुख, सम्बन्धित बिषयमा जिम्मेवारप्राप्त व्यक्तिहरुको सहभागिता र रायको आधारमा सभाले निर्णयहरु पारित गरेको र कार्यान्वयन समेत सुरुवात भएको जनाए । ।

टिप्पणी थप्नुहोस्