रुकुम प्रशासनः हरेक दिन कामको नयाँ अवधारणा

-राजु लामिछाने

रुकुम पूर्व । कार्यालयलाई गुनासोरहित बनाउने अभियान थालनी गरेको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले सेवा प्रवाहलाई सरल, प्रभावकारी, पहुँचयोग्य तथा सेवाग्राहिमैत्री बनाउन हरेक दिन नयाँ कामको अवधारणा ल्याएको छ ।

गत भदौ महिनाबाट सुरु गरिएको गुनासो रहित जिल्ला प्रशासन कार्यालय अभियान अन्तर्गत बिभिन्न रचनात्मक गतिबिधि सुरुवात गरिएको र सकारात्मक प्रतिफल प्राप्त भईरहेको प्रमुख जिल्ला अधिकारी राज कुमार राईले बताए । ‘उत्कृष्ट सेवा प्रवाहको लागि निरन्तर लागि परेका छौ’ प्रमुख जिल्ला अधिकारी राईले भने, ‘हरेक दिनमा उल्लेखयोग्य काम सुरुवात गर्ने र महिनाको अन्तमा त्यसको समिक्षा गर्ने गरेका छौ ।’

सेवाग्राहीलाई सरकारी सेवा प्राप्तीमा झण्झट झेल्नु नपरोस् र हरेक कार्यालयको सेवा प्रवाह नमूनायोग्य बनोस् भन्ने योजनाका साथ काम गरिएको प्रजिअ राईले उल्लेख गरे । कार्य विभाजन तथा कार्य सम्पादन करार सम्झौता गरेर बार्षिक कार्ययोजना बनाइएको र योजना अनुसारको क्यालेण्डर समेत निर्माण गरेर काम गरिरहको प्रजिअ राईको भनाई छ ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण, सचेतना र पूर्व तयारीको कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्नुलाई पहिलो प्राथमिकतामा राखेर अन्य सेवाहरु प्रदान भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अघिल्लो महिनाका कामले यस महिनामा पनि केहि नयाँ गर्न र सुखद प्रतिफलहरुलाई निरन्तरता दिन प्रेरित गरेको सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले बताइन् । ‘हरेक घरमा कार्यालयको नागरिक वडापत्र उपलब्ध गराईदिने सोच छ’, सूचना अधिकारी समेत रहेकी सहायक प्रजिअ पोखरेलले भनिन्, ‘यसो हुँदा सेवाका सबै प्रकार र प्रकृति सर्वसाधारणले छर्लङ्ग बुझ्छन ।’ विकट र दुर्गम गाउँबाट आउने सेवाग्राहिहरुले रित्तो हात फर्कनु नपरोस्, सरकारी सेवाप्रति गर्व गरुन् भन्ने मनसायले हरेक दिन सुनाउँन लायक कामको सुरुवात गरिएको उनले जनाईन् ।

मासिक रुपमा उत्कृष्ट कर्मचारी घोषणा गर्ने कामको सुरुवात गर्नुका साथै सरसफाई र बृक्षारोपनको कामलाई निरन्तरता दिईएको छ । कार्यालय परिसरमा सचेनामुलक डिजिटल बोर्ड, सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउँने, व्यवस्थित अभिलेखिकरण, कार्यालय परिसरमा करेसाबारी स्थापना लगायतका कामले सकारात्मक उर्जा प्रतिक्रिया आएको बताइएको छ ।

सहायक प्रजिअ पोखरेलका अनुसार, कार्यालयमा पुस्तकालय सुरु गर्न थालिएको छ भने हरेक कार्यालयलाई सूचनामैत्री बनाउन पहल थालिएको छ । जिल्लाका अन्य कार्यालयहरुले पनि गुनासोरहित कार्यालय बनाउन प्रतिबद्धता जनाएको सहायक प्रजिअ पोखरेलले जनाइन् । जिल्ला प्रशासनको यस्तोे कार्यशैली र अभियानले सेवा प्राप्ती सरल र सहज हुने विश्वास लिईएको छ ।

टिप्पणी थप्नुहोस्