बाबुरामलाई जसपाको संघीय परिषद् अध्यक्षको जिम्मेवारी

काठमाडौं । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्ष बनेका छन् ।

सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका वरिष्ठ नेता डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकपछि मंगलबार पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए ।

यस्तै, बैठकले संघीय परिषद्सँगै ८०१ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । त्यस्तै, समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदलसमेत बनाएको श्रेष्ठले बताए ।

त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारित नियमावलीसमेत पारित गर्ने काम बैठकले गरेको छ ।

बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ ।

यस्तै, पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्तास्वरुप आउने रकम कोरोनापीडितको उपचारमा खर्च गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उहाँको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरुसमेत विभिन्न झुटा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत बैठकले गरेको जनाइएको छ ।

टिप्पणी थप्नुहोस्