बस्ती व्यवस्थापन नहुँदा नौबस्ता औद्योगिक क्षेत्रको निर्माण अलपत्र

रुपान्तरण सम्वाददाता

नेपालगन्ज । निर्माणाधिन बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटक पटक सहमति भएपनि कार्यान्वयन नहुँदा औद्योगिक क्षेत्रको निर्माण अलपत्र परेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र औद्योगिक क्षेत्रको जग्गामा घर बनाएर बसेकाहरुबीच औद्योगिक क्षेत्र निर्माणका लागि धेरै पटक सहमति भएपनि उनिहरुले निर्माणमा अवरोध गर्दै आएकोले निर्माण कार्य अलपत्र परेको हो ।

छलफलमा सहमति गर्ने तर पछि सो विपरित गर्ने गरिएको कारण निर्माण शुरु गर्न नसकिएको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्रका लागि छुट्याईएको ३० विघा जग्गामा २०५४ सालदेखि बसोबास गर्दै आएका ६१ घर परिवार सुकुम्बासीले आफ्नो व्यवस्थापन नहुँदासम्म औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउन नदिने भन्दै अवरोध गर्दै आएका छन् ।

नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार गत साउनमा र असोजमा भएको सहमति सुकुम्वासीहरुले कार्यान्वयन नगरेपछि औद्योगिक क्षेत्रको पुर्वाधार निर्माणका कामहरु अगाडी बढाउन सकिएको छैन ।

स्थापना भएको पाँच वर्षसम्म पनि निर्माण कार्य शुरु गर्न नसक्दा उद्योगी व्यवसायीहरुले निर्माणका लागि निरन्तर दवाव दिईरहेको उनले बताए ।

बाँकेका संघिय सांसदहरु महेश्वर गहतराज अथक, नन्दलाल रोकाया, पुर्णा कुमारी सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष चक्र अधिकारी लगायतको दवावमा पटक पटक छलफल भएपनि समाधान हुन सकेको छैन ।

औद्योगिक क्षेत्र निर्माणसथल रहेको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले केहीले यो स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्नै नदिने षडयन्त्र गरिरहेको बताए । उनले यहाँ विवाद गरेर अन्य ठाउँमा सार्ने षडयन्त्र भैरहेको आशंका हुन थालेको पनि जनाए ।

गत साउनमा भएको सहमति कार्यान्वयन भएको भए पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने योजना रहेको थियो । तर, अवरोध जारी रहेकोले हालसम्म पनि सो कार्य हुन सकेको छैन ।

नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृत भई चालु आर्थिक वर्षका लागि करिब ६० करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको छ ।

२०७२ सालदेखि सुरु भएको औद्योगिक क्षेत्र निर्माणको काममा देखिएको अवरोधकै कारण स्थापना भएको पाँच वर्षपछि पनि निर्माण कार्यले गति लिन नसकेको हो ।

सुरुमा ५२५ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिएपनि सुकुम्बासीहरुको ब्यबस्थापन गर्दा करिब ३३८ बिघा जमिनमा मात्र औद्योगिक क्षेत्र बन्ने भएकोछ । सो औद्योगिक क्षेत्रमा देशभरबाट ३०० बढि उद्योगीहरुले उद्योग संचालनका लागि आवेदन दिई सकेका छन् ।

टिप्पणी थप्नुहोस्