राँगाको पेटमा बच्चा घुसाउने अनौंठो उपचार विधी

-राजु लामिछाने

रुकुम पुर्व । झट्ट सुन्दा अनौठो लाग्ला ! काटेको राँगाको पेटमा बच्चा हाल्ने एउटा अनौठो तर रैथाने उपचार बिधी चल्तीमा रहेको छ । रुकुम पुर्वका स्थानीय वासिन्दाले वर्षौ देखि विश्वासका साथ प्रयोग गर्दै आइरहेको यो उपचार विधी धेरैलाई अनौठो लागेपनि यहाँ भने सामान्य र नियमित रहेको छ ।

हुनत नेपालका प्राय धेरै क्षेत्रमा उपचारका घरेलु विधीहरु आ-आफ्नै तरिकाहरु चलीआएका छन् । स्थानीय रहनसहन, मूल्य, मान्यता र चलनले पनि ती बिधिहरु विद्यमान देखिन्छन् । रुकुम पूर्वमा चलिआएको काटेको राँगाको पेटमा बच्चा घुसाउने उपचार बिधि भने रोग निको हुने जनविश्वासका साथ प्रचलनमा छ ।

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० का प्रथम घर्तीमगर सुकेनास, रुन्चे जस्ता रोग लागेर अस्वस्थ भइरहने बच्चालाई काटेको राँगाको पेट भित्र छिराई हल्लाएर निकालेपछि निको हुन्छ भन्ने जनविश्वास रहेको बताउँनुहुन्छ । उहाँका अनुसार दशैंमा राँगा काटेपछि पेटबाट अलिकति लादी निकालेर केही समयका लागि बच्चालाई भित्र छिराएर हल्लाउने गरिन्छ । यसरी बच्चालाई राँगाको पेट भित्र छिराएर निकालेपछि रोग निको हुने विश्वास गाउँलेहरुको छ ।

बच्चालाई राँगाको पेट भित्र छिराएर निकाल्ने चलन अरुबेला नभएर दशैंमा काटेको राँगामा मात्र यस्तो प्रचलनमा छ । दशैंमा बलि दिइने राँगा काटेपछि मात्र बच्चालाई पेटमा हालेर निकाल्ने गरिन्छ । यो बेला बिशेष शक्ति प्राप्त हुने विश्वास रहेको छ ।

६ देखि १८ महिनासम्मको बच्चालाई यसरी राँगाको पेट भित्र हालेर निकालिने गरिन्छ । पहिला अस्वस्थ बच्चालाई मात्र उपचार गर्न काटेको राँगाको पेटभित्र हाल्ने गरिन्थ्यो तर अचेल स्वस्थ बच्चा अझ निरोगी र बलियो हुन्छ भन्ने विश्वासले एकपटक राँगाको पेट भित्र हाल्नैपर्छ भन्ने तर्फ स्थानीयको विश्वास बढेको छ ।

बर्षौदेखि चलिआएको यो चलनको वैज्ञानिक कारण भने कसैलाई थाहा छैन । यो रुढीबादी परम्परा भएपनि निरन्तरता दिएको स्थानीय शिक्षक राजधन घर्तीमगर बताउँछन । शिक्षक घर्तीले पुरानो पुस्ता मात्र होइन आजको नयाँ पुस्ताले पनि यो पुरानो चलनलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुहुन्छ ।

बच्चालाई राँगाको पेटबाट निकालेर नजिकैको पानीको मुलमा लगेर नुहाइन्छ । यसलाई उनीहरु बच्चा चोख्याएको भन्छन् । यसो गर्दा रोग, काल, कष्ट सबै बगेर जाने उनीहरुको विश्वास छ ।
तस्बिर सौजन्य- मैत्या घर्ती मगर

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री