झिल्टुङे जालीझेली र विद्रोह

-नारायण नेपाल

विश्वप्रसिद्ध रुसी साहित्यकार मेक्सीम गोर्कीले बुढी इजरगरी कथामा बुढी पात्रमार्फत भनेका थिए, ‘वितेका जुग–जमानाको खोजतलासी गरे तिमीहरुले जिन्दगीका सार–समस्याका समाधान फेला पार्न सक्छौ । तर तिमीहरु खोजतलासी गर्दैनौ, त्यहीँ त तिमीहरु मूर्ख छौ । तर गोर्कीले भनेजस्तो मूर्ख होइन कि, बितेका कथा उतार्न अलि मूर्ख भएरै लाग्दैछु । नलेखिएका गाथाहरु कति होलान् यो समाजको गर्भमा । उजेल्ने औजार छैन, उजेल्ने ढंग भएकाहरुलाई चासो छैन, फुर्सद छैन । जीवनमा भोगिएका र सुनिएका कथाहरु सुनाउने प्रचलन थियो केही अघिसम्म गाउँमा । बाउले छोरा, छोराले नाती, नातीले पनाती त्यही हो अनुभव प्रसारको हाम्रो तरिका । आज आधुनिक समाजमा उहिलेका कुरा खुइलिए भन्दै उनका ज्ञान उपेक्षा गर्नेहरुको कमी छैन । इतिहास खोतल्न तिनैको अनुभव चाहिन्छ । वर्तमान जिउन इतिहासको ज्ञान अमूल्य हुन्छ ।

जानु छ पिपलघारी
स्वर्गको सानो फूलबारी

कुञ्जिनी खण्डकाव्य (२००२)को यो हरफ पढ्दा र त्यो झिल्टुङ गाउँ नियाल्दा मलाईं कहिलेकाहीँ लाग्छ, देवकोटाले मामा-ससुरालीको मानमा कालोमार्सीको भात, काली भैँसीको दुध, घ्यु खाएर पिपलको हावा खाँदै त्यो चौतारोमा पल्टिएर अनुभूत गरेको स्वर्गको फूलबारी मात्रै नहोलाजस्तो लाग्छ यो गाउँका कथाहरु । देवकोटाको ‘पहाडी जीवन’ निबन्धले यो गाउँको कथा बोकेको थियो । प्रकृतिको व्याख्या गरेका थिए । पहाडको सौन्दर्य थियो उनको निबन्धमा । तर देवकोटा गाउँ आए, उनी ससुराली आएका ज्वाँइ थिए । उनका लागी सुसारे राखे मामासुसुरालीले, त्यही सुसारे छत्र भुजेललाई मूलपात्र बनाएर कुञ्जिनी लेखे । उनले लाहुरे सपना र अमर प्रेमको हत्याको कथामा कुञ्जिनीको विरह बोले । उनले गाउँलेको दुःख देखे होलान् तर अनुभूत गर्न पाएनन् । कोशेलीका भरियासँग भलाकुसारी गर्न पाए होलान्, तर जालीहरुको जालमा जिन्दगी जेलिएका गाउँलेको हैरानीका व्यथाहरु सुन्न पाएनन् होला । त्यही भएर भुइँमान्छेका विद्रोहको गाथा लेख्न उनले पाएनन् होला जस्तो लाग्यो । आजको बसाईं विद्रोही चेतका गाथाहरुमाथिको विमर्शको एक प्रयास रहनेछ ।

नेपालमा जहाँनियाँ राणाशासनकोविरुद्ध विद्रोहको चेत पलाउँदै गर्दा प्रजातन्त्र आएको थियो । काजी ललितजंग भण्डारी प्रजातन्त्रको झण्डा बोकेर खडा भएका थिए । गाउँलेले प्रजातन्त्रको भेउ उती पाएका थिएनन् र पनि गाउँलेहरु दंग थिए । त्यसपछि केही स्वरहरु निस्कन थालेका थिए गाउँबस्तीमा । हाम्रा गाउँलेहरुले बोलाउने नाम थियो उनको ०१७ साले भन्ने । उनी एक जनामात्रै पछिल्लो पुस्ताले सुनेको नाम थियो । यो झिल्टुङ गाउँकोमाथि चिलाउने खर्क भन्ने गाउँमा बस्थे उनी । गाउँमा नाम कमाएका झाँक्री थिए । उनी अरु काँग्रेसलाई हप्काउँदा बाँचुन्जेल म ०१७ साले हुँ भन्ने रवाफ राख्दथे । उनको त्यो सान खनायोबास किसान विद्रोहले जन्माएको थियो । उनी खनायोबास किसान विद्रोहमा सामेल भएका एक सिपाही थिए । उनमा त्यो विद्रोहको गौरव थियो । विद्रोहपछि कब्जा भएका सुनजति ललितमान घलेले लिए । तामाजति अमृतमानको घरमा थुप्रो लगाइए अनि यी र यस्तै योद्धाहरु चाहिँ सामल बोकेर घर फर्किएका थिए । आजका अयोग्य बिल्ला भिरेका माओवादी लडाकु छापामार जस्तो खालि हात । विद्रोह र विद्रोही सपनाहरु के-के भए थाहा छैन । तर उनलाई त्यो विद्रोहमा सामेल भएको गर्व चाहिँ थियो जीवनभर । जम्मा जम्मी यति हो,उनको विद्रोहबारे पछिल्लो पुस्ताले पाएका ज्ञान । गाउँलेले देखेका लर्दु झाँक्रीको नलेखेको विद्रोही गाथा गुमनाम भयो ।

देशको पञ्चायती अँध्यारोमा प्रजातन्त्रको उज्यालो किरण खोज्ने एक पात्रको लेखिएको इतिहास भेटेको थिएँ । पुस्तकको नाम ‘मेरो समय’ रहेछ । यो पुस्तकका लेखक थिए पत्रकार किशोर नेपाल । मेरो समय लेख्ने उनी मेरो बा पुस्ताका थिए । मेरा बा पुस्तालाई काला अक्षर भैंसी बराबर भयो । किनकि हाम्रा बा र उनका दौंतरहरुले कखराको धुलौटो कोर्ने अवसर पाएनन् । एकै दौंतर भएपनि उनी चाहिं गाउँका नम्बरी पण्डित गाइने पण्डितका सन्तान परे, संगत, साइँनो, सम्बन्ध आदिले अक्षर चिन्ने अवसर पाए । दुःख,कष्ट झेलेर दाम त के-कसो छ कुन्नी ? तर आज देशविदेश नाम कमाएका छन् । उनले भोगेको त्यो महाभारतमय जिन्दगीमा एक मार्मिक अनुभूति थियो उनको त्यो लेखाई ।

‘एक दिन म जेलरको अफिसमा बसिरहेको बेला ढोकामा बसेको चपटेले एउटा चिठी ल्याएर जेलरको हातमा दियो । जेलरले खाम हेर्‍यो र बिना सेन्सर मेरो हातमा दिँदै भने, ल पढनुहोस् तपाईंको मामाको चिठ्ठी, शायद खाममा लेखिएको ७४ अंकलाई हेरेर नै उनले चिठ्ठीको व्यहोरा बुझिसकेका थिए । मैले चिठ्ठी खोलेर हेरेँ । लेखिएको थियो, भान्जाबावु राजाको र देउताको विरोधमा लाग्ने मान्छे कहिल्यै उँभो लाग्दैन । तपाईंको यो दुष्कृत्यले तपाईंतर्फका सात पुस्ता र मेरातर्फका सातपुस्ता पितृलाई नरकमा धकेल्ने काम गरेको छ । तपाईंले पढेका सबै विद्या कुकुर्नीको कन्डामा गएछ । तपाईंकी आमा पनि कुलको कुनै मर्यादाको परवाह नगरी अर्काको कमारो लाग्न गएकी छन् । यस्ता मानिसहरुसँगको संसर्गले मात्र पनि नरकको बास हुन्छ । उही कंशमामा कृष्ण ।’

राजनीतिमा लाग्दा, समकालीन समाज व्यवस्थाका विरुद्धमा विद्रोहीचेत बोक्दा आफन्तहरुबाट भावनात्मक सम्बन्धविच्छेद र शासकको नजरमा देशद्रोही बन्दा कस्ता-कस्ता अपमानहरु सहनुपर्छ भन्ने एक चित्र नियाल्ने सानो किस्सा मात्रै थियो यो उनले पोखेका शब्दका अंशहरुमा । गाइने पण्डितबाले धुलौटो कोरेर ज्योतिषशास्त्र हेरेर घडी, पला तोकेर गाउँमा जन्माउनपर्छ भन्दै गर्भवती श्रीमती बोकेर गाउँ लगेका थिए । गाउँमा जन्माएको त्यो छोरो त्यही गाउँ समाज र सम्बन्ध सुन्न नचाहने निर्मोही बनेर जीवनको उर्जाशील बसन्तहरुमा गाउँ सुन्दा बटारिने हुनुको मर्म त्यही चोटको होला । यो गाउँबाट बसाईं सर्नेहरुको आँशुको कथा र पीडाको व्यथा सुन्न तराई मधेश चितवनसम्म झर्नुपर्छ र चौतारीमा सुस्ताउँदै दुःखको पोका फुकाउन ती बाहरुको मन बहकाउनुपर्छ । यता गाउँ बस्नेहरुको मन रुवाउने सास्तीका कथाहरुको चिहानमा गाउँका लुटेराहरुलाई त पक्कै यो एक स्वर्ग थियो । तर गरिबलाई सास्तीका कथा उस्तै थिए र छन् आजसम्म ।

पञ्चायतको बेला रुपचन्द्रको विद्रोही आव्हानको जगजगी थियो । त्यो विद्रोहले धेरै उत्साहित थिए । पञ्चायत उदाएपछि पनि नअस्ताएको त्यो विद्रोही चेतको भूत लाग्ने मान्छे पनि थिए यो गाउँमा । यो पाखोमा छ, एक बरपानी धारो । त्यो डबलीको उत्तरतर्फको गाउँमा हो । त्यही धाराछेउ थिए एक विद्रोही चेत बोक्ने मान्छेहरु । रुपचन्द्रको विद्रोही चेत थियो देशमा तर यहाँ गाउँले उपमा दिँदै उसलाई न्वारन गरे गाउँलेहरुले उ भयो सानो रुपचन्द्र । उ थाहा लेख्दै चेतनाको विउ रोप्दैथियो, यही बस्तीमा । के भयो ? किन भयो ? कसले गर्‍यो ? थाहा पाउनुपर्छ भन्दै थियो । जालीहरुले गरेको जाल, गरिबले थाहा पाए, झेलीले गरेको झेल निमुखाले थाहा पाए, गाउँमा ठालुहरुको हैकम कहाँ चल्छ र ? त्यही भएर होला यो गाउँबाट सानु रुपचन्द्र पलायन भयो । तर किन भएँ म पलायन यो गाउँबाट ? भनेर आजसम्म उसले चाहिँ थाहा पायो होला कि छैन होला ? मेरो मनमा जिज्ञासा अझै छ ।

गाउँलेहरु भन्थे, उनले धेरै वस्तीका कथा सुनाएका थिए भेटमा । केही भुलें, केही सम्झेको छु वास्तविक नाम थियो उनको छविलाल अगस्ती । उनी थिए नामीको लेखनदास यो गाउँमा कहलाएको, बुढाले एकपटक जाली तमसुक लेखेछन् । दुई तमसुक एकैपटक एकै मितिको लेखेर दिएपछि गाउँलेले सास्ती पाउने र अड्डा धाउने नै भए । त्यसपछि अड्डाले एकदिन लेखनदासलाई पनि बोलाएछ । उनी अड्डामा गएपछि, के हो एकै मितिमा दुईथरी तमसुक ? तिम्रो हात कलम गर्दिऊँ ? भनेर हाकिमले हप्काएपछि उनी त्यहाँबाट टाप ठोकेका थिए रे ।

त्यस्तै थियो अर्को किस्सा उनको, एकदिन गाउँमा पुलिस एकजना मान्छे खोज्दै उनको घरमा आएको रहेछ, उनले त्यही मान्छेलाई ल ल बावु त्यही मान्छे बोलाएर ल्याऊ त भन्दै त्यसैलाई पठाएछन् र पुलिसलाई प्रतिक्षामा राखेछन् । न बोलाउन जाने आयो न बोलाउन पर्ने नै । अनि त पुलिस जिल्लै परेछन् । उनले पुलिस झुक्याएका पुलिसकै आँखा अघिबाट भगाएछन् । यो त उनले सुनाएका जालझेलका किस्सा न थिए । नसुनाएका कथा कति होलान् उनका जालझेलका । उनको जाली तमसुकले हैरानी र सास्ती खेप्नेका कथाहरु त कति चितामा जले होलान् यो बेलासम्म । कति ओछ्यानमा थला परे होलान् ? कतिका विस्मृतीहरु मेटिदै गए होलान् ? पहल गरे एक दुई किस्सा भेटिएला कि जिउँदो प्रमाण । न्यायको लागि गरे कि सत्यको लागि गरे तर मरेको गरिबको न्यायको तराजु उनले बुढेशकालमा तौलिन्छन् होला कि नाई ? यही गाउँको माटोमा हो बाहुनले हलो जोतेर विद्रोह थाले । तिनै बाहुनहरुको भात पानी बहिष्कारको राजनीतिले समाज थलथलियो । राजनीतिको अस्त्र बनाए सबैले ती हलो जोत्ने किसानहरुलाई । तर यी अगस्ती बा भने किरा परेको माटोमा फलेका फसल खानेहरुको बुद्धिमा पनि किरा परेको हुन्छ भन्दै बसाईं हानिएछन् यो गाउँबाट । यो बेला हेटौँडा बजारमा गुजारा गरेर बसेका छन् ।

यो गाउँमा नेकपाले जरो हाल्ने र विद्रोही पाइलो चाल्ने प्रयत्नको कथा चाहिँ अलि फरक रहेछ । नेकपा स्थापना गरेका थिए यहाँ उदय नेपाल लगायतका दौंतरीहरुले पहल गरेर । जहाँ विपन्नता र उत्पीडन हुन्छ त्यहाँ विद्रोह मौलाउन सक्ने आँकलन थियो उनीहरुको र मंगले मिजारको मियोमा ठडियो गाउँमा कम्युनिष्ट पार्टीको झण्डा । उनको विद्रोहले चर्चा त पायो तर त्यो जम्माजम्मी पेरिस कम्युनभन्दा कम लगभग एक महिना जती, गाउँ पञ्चायतको चुनावसम्म टिक्यो । जब चुनावमा पञ्चहरुको रक्सी र बाख्राको भोज गाउँमा चल्यो, तब मंगलेको विद्रोहको झण्डा ढल्यो ।उदय नेपालहरु पोष्टर टाँसेर सात्तो बोलाए । पढेलेखेका केटाहरु कम्युनिष्ट हुन्छ र त्यो कम्युनिष्ट भएपछि गाउँ भसक्कै पार्छ भन्ने चेतना थियो गाउँका ठालुहरुलाई । तर उनीहरु चाहिँ कता कता हराइरहे ।

पञ्चायतको जालझेलको कथा यो बेला पञ्चायतभरी हल्ली-खल्ली गर्ने बद्री दाहाल, केदार दाहाल र छविलाल श्रेष्ठलाई डबलीमा राखेर आज भोलीको टिभी च्यानल जस्तो टक सो चलाउन पाए आउँदथ्यो होला । कति गज्जबको समाजशास्त्र, न्यायशशास्त्र र राजनीतिशास्त्रको गहिरो अध्ययन हुन्थ्यो होला ? तर अब आजको बेला त्यो सम्भावना छैन । त्यतिबेला यो गाउँमा माले र मशालेहरुको चहलपहल पनि निक्कै चलेको थियो ।

अच्युत दाहाल मशालतिर पुगेछन् । उनको सामाजिक सोचले स्थान नपाउनु र एमालेभन्दा फरक देखिनुको चुरो यही हो । त्यही कित्ताबन्दीको संकिर्णता आजपर्यन्त नियाल्न सकिन्छ एमालेजनहरुमा चाहिँ । भूमिगत मालेमा सुदर्शन नेपालको विद्रोही चेहरा यो गाउँमा देखा परेको थियो । उनी माले भए । उनी विद्रोही कम्युनिष्ट हुँदा । परिवारले भोगेको सास्ती र दुःखका आँशुकथाहरु सम्झँदा कोल्पुझैँ धमीलो मन हुन्छ परिवारलाई आजपर्यन्त । गाउँमा भारो, पर्म, मेलापात बहिष्कार गरेका थिए ठालुहरुले । पञ्चहरु त जेनतेन खान बस्न दिन्थे तर काँग्रेसहरु कम्युनिष्ट मास्नै लागेका थिए गाउँमा । त्यो कठिन समय पार्टीको प्रचार मकै भटमास झोलामा बोकेर विद्रोही चेतनाको जग बसाल्न कुदेका थिए उनी गाउँ वस्तीहरुमा । त्यही भएर गाउँलेहरुले उनलाई भटमासेको उपमा दिएका थिए । आजसम्म कम्युनिष्ट आन्दोलनको एक प्रवाहमा उनै भटमासे कमरेड मियो भएर गाउँपाखा दगुरीरहेका छन् ।

जिन्दगीको यात्रामा आएपाएको हिसाब चाहिँ छिमेकीले राखेका होलान् कि उनका सहयात्रीहरुले ? त्यो उनीहरु नै जानुन् । तर उनलाई फलिफाप होला कि पुर्पुरोमा हात होला यो राजनीतिको यात्रामा त्योचाहिँ अग्नीपरिक्षा हेर्न अझै बाँकी छ यी गाउँलेहरुले । माले एमाले बन्यो । मनमोहनको सरकार बनेपछि गाउँलेहरु केही फेरीन थाले । कम्युनिष्टहरुको सरकार आए बुढाबुढीलाई जम्मा पारेर गोली हान्छ भन्ने भ्रम छरेको विरोधीलाई चक्मा दिएर वृद्धभत्ता दियो । आफ्नो गाउँ आफंै बनाउ भन्दै केही शिर उठाउन पाए एमालेजनहरुले यो बखत गाउँमा ।

एमाले राष्ट्रघाती भयो भन्दै माले विद्रोही रुपमा उदायो । भरत ढुंगाना जिल्लामा नेतृत्वको रुपमा देखा परे । अदुवाबारीको साँध जोडिएको देविघाटको गौँडो जोडिएको नाता बलियो भयो । यो बेला, गाविस अध्यक्ष इन्द्र लामासहित मालेहरुको विद्रोहीपन हाबी थियो गाउँभर । त्यहिबेलातिर भुसको आगोजस्तो भित्रभित्र थियो गाउँमा माओवादी । माओवादीले झिल्टुङ चौकी कब्जा गरेपछि गाउँमा ‘जनअदालत’ सक्रिय भयो । माओवादी ‘जनसरकार’को रातमाटे प्रमुख भए, रमेश लामिछाने, दुईपिपल प्रमुख भए बच्चुराम लामिछाने । निक्कै घुँइचो थियो जनसरकारहरुको । विद्रोही छापामारका कमाण्डर भए मनरथ खतिवडा हिमशिखर, जब देशमा संकटकाल लागेपछि माओवादी सर्मथकहरुलाई पुलिसले समाउने र जिल्ला प्रशासनको गेटमा बसेर एमालेको सदस्यता भिराउने प्रचलन हावी भयो । कति मरे, कोहीले आत्मसमर्पण गरे, कोही गाउँबाट पलायन भए । यो विद्रोहबाट बाँचेका थिए दुई पात्र इश्वरी बाँस्कोटा र कृष्णबहादुर भुजेल । त्यसपछि चन्द्रबहादुर गाउँ जनसरकार सम्हाल्दै उदाए कमरेड जनमको नाममा ।

सहिद कञ्चनहरु उदाए र अस्ताए, झिल्टुङका तारा बनेर क्रान्तिको क्षितिजमा चम्किरहेछन् । त्यतिबेला केही मान्छेहरुचाहिँ दिनभर एमाले, रातभर माओवादी थिए यो गाउँतिर । कमरेड अनिशा र कमरेड दिवाकरहरुले विद्रोह गरेर छापामार बन्ने मौसम थियो गाउँमा । जुवातास जाँड रक्सीविरुद्धको सामाजिक जागरण र भाटेकारवाही अभियानले केही प्रभाव परेको थियो । छापामार हाइवेको गाउँ हो यो । खै कसरी उत्रिएला त्यो सत्य कहानी ? माओवादीको समर्थक मात्रै हुँदा गोविन्द लामिछाने मारिए । त्यहिबेला माओवादीका जिल्ला नेताहरु समातिए, जेल परे र जेलबाट कसरी ज्युँदै फर्केर आए ? तर किन भरत ढुगाना र पार्वती पौडेलहरु चाहिँ दुस्मनको पञ्जाबाट फर्केर आउन पाएनन् ? आज मेरो यो अवोध आँखाले कञ्चना र गोविन्दहरुको रगत तिनको अनुहारमा लतपतिएको मात्रै देख्दै छु म किन होला ?

यो गाउँमा एक समयका विद्रोहको गीत गाउनेहरु, क्रान्तिको झण्डा फहराउनेहरु किन यो गाउँबाट पलायन भए ? किन विचार र आदर्शबाट पलायन भए ? किन सपनाहरुबाट विरक्तिएका होलान् ? यो समाजशास्त्रको त्यो जग खोतल्नुपर्छ । राजनीतिशास्त्रको त्यो गर्द उतार्न जरुरी छ समाजशास्त्रको मझेरीमा । यो गाउँबाट पलायन भएकाहरुले दुईचार पैसा कमाए होलान्, गुजारामा रमाए होलान् । तर विचारबाट पलायन भएकाहरु चाहिँ फेरी झेली भएर उदाए गाउँमा, एकदम नामुद झेली भएका छन् किन होला तिनिहरु ? रुपचन्द्रले भनेजस्तो बेइमानी गर्ने अवसर नपाएर इमान्दार भएका हुन् कि विद्रोही बनेका छन् ? सवाल उजेल्न जरुरी थियो तर अब खाँचो पनि छ । गाउँलेका विद्रोही सपनाहरुमाथि किन बारम्बार बलात्कार भइरहन्छ ? उत्तर खोज्न जरुरी छ । युवा बुद्धिजीवीहरु पल्टने केटाहरुसँग शैक्षिक योग्यताको प्रमाणपत्र थानका थान छ । तर समाजशास्त्र नियाल्ने वर्गचेत छैन । सामाजिक र राजनीतिक सत्ता आज पनि भ्रष्ट जाली झेलीहरुकै हातमा छ । गाउँका जिम्बुवाल, प्रधान, स्कुलका शिक्षक र गाउँका पुलिस यो लोकतन्त्रको राजनीतिका हर्ताकर्ता भएका छन् आजकल गाउँतिर ।

यो गाउँका गरिबका छोराहरु सस्तोमा श्रम बेच्न आज खाडीमा पुगेका छन्, बेसीको फाँटहरु गुरुज्यूको विर्ता थिए र जालीहरुको जालमा पारेर राईहरुको पसिना लुट्दैछन् । एमसीसीको पासो यही फाँटमा थापिएको छ । गरिबहरु लुटिएको छ । त्यही भएर त हो यो गाउँका यी भ्रष्ट र जाली झेलीहरुलाई त्यही डबलीमा राखेर हिसाब किताब उतार्ने न्यायशास्त्र यो समाजलाई आज चाहिएको छ । नक्कली माओवादीहरुले भन्ने गरेको जस्तो होइन कि, मौलिक दुधपानी छुट्याउने जनअदालत चाहिएको छ ।

आज गाउँ समाजमा सके लुट्ने, नसके लुटिने विवशताको कथा धेरै छ । कसैले त्यो विवशताविरुद्ध बागी स्वर बोल त्यसले सिधैँ विप्लवको आरोपमा जेलनेल खेप्नुपर्छ । त्यसपछि कि उनीहरुसामु स्वाभिमान बन्धकी राखेर आत्मसमर्पण गर्नैपर्छ । कि मर्नैपर्छ । जाली र झेलीहरुको झेलका खेलहरु आज भोली झन् गहिरो छ गाउँमा । जब कुनैसमय विद्रोही बनेकाहरु झेली बन्न थाल्छन् । तब नै तिनले झनै झेली खेल खेल्दै दुनियाँलाई सास्ती दिँदै छन् । यो कथा छट्टु स्यालले चिल आयो भनेर कुखुरा चोर्ने चोरबुद्धीको कथाजस्तै छ । तर समयको कठघरामा एकदिन सबैले उभिनै पर्ने दिन आउने छ ।

कहिलेकाहीँ यो झेलीको झेलहरु देखेर लाग्छ, कामरु माईका थानमा पञ्चेबाजा बजाएर पञ्चबली चढाएजस्तो जालीझेली भ्रष्टहरुलाई बली चढाउने बेला कहिले आउला नौमतिबाजा बजाउँदै डबली घुमाएर । नरसिंहा फुकेर सात गाउँ हल्लाएजस्तो क्रान्तिको विगुल फुक्ने दिन कहिले आउला जस्तो लाग्छ । अनि कहिलेकाहीँ लाग्छ त्यही कोटको मौलोमा बाँधेर नवमीको दिन काट्ने राँगोजस्तो मौलोमा लडाउने दिन कहिले आउला ? यी जालीझेली, भ्रष्टहरुलाई त्यही हो हाम्रो प्रतिक्षाको समय स्वाभिमानको झण्डा फहराउने दिन । हिजो गाउँमा पुलिसको अचाक्ली ज्यादती थियो । जनप्रतिरोधमा जनता उठे । माओवादीले साहस गर्‍यो ।

प्रहरी चौकी भत्कायो । पुलिस लखेट्यो, तर कोही गाउँले चौकी बचाउन आएनन् । किनभने व्यापारीले खसीको खुरमा पैसा गन्दा किसान खुसी भएजस्तो थियो गाउँलेहरुलाई । माओवादी जनअदालतले ठाउँको ठाउँमा न्याय निसाफ दिँदा गाउँमा गाउँलेका मनलाई मज्जाले जितेको थियो । जब शान्तिसम्झौता भयो तब प्रहरी चौकी फिर्ता हुँदा जनतालाई त मतलब थिएन तर टंकबहादुर दाई भने पटक्कै कन्भिस थिएनन् । म अहिले सोच्दैछु आजभोली गाउँतिर जालीझेली, भ्रष्टहरु पुलिस देखाएर राजनीतिको खेल फेरी शुरु भएको रहेछ । तर भ्रष्ट, जालीझेली पातकीहरुको राज्य भने गाउँमा पक्कै टिक्नेछैन । आखिर जनता उठेका दिन कसैको केही लाग्दैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री