बडादशैंको मुख्य दिन आज टीका लगाइँदैः उत्तम साइत १०ः१९ बजे

काठमाडौं । नवरात्रको अन्तिम दिन आज(सोमबार) विजयादशमी । बडादशैको दशौं दिन मान्यजनवाट टीका, जमरा र आशिर्वाद थाप्दै एवं आफन्तजनसँग हार्दिकता बाँडेर मनाइदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः ११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।

घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीकाप्रसाद आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिने परम्परा छ ।

दशैँ घर तथा पूजा कोठामा राखिएको जमरा देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ । पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधीमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

टीका लगाउने क्रम आजबाट पाँच दिनसम्म अर्थात कोजाग्रत पूर्णिमासम्म चल्दछ । पश्चिम नेपालका केही भागमा भने एक दिन मात्र टीका लगाउने चलन भए पनि अहिले पूर्णिमासम्म लगाउने चलन बढेको छ ।

 

टिप्पणी थप्नुहोस्