दशैंको टीका : शीतल निवासदेखि खुल्लामन्चसम्म

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यसबर्ष दशैं प्रभावित भयो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री देखि नेताहरुको घरदैलोमा सामूहिक टीकाको रौनक देखिएन ।

महामारीका कारण यस वर्षको दशैं विगतका वर्षमा जस्तो उल्लासपूर्ण हुनसकेको छैन । धेरैका लागि यस वर्षको दशैं खल्लो बनेको छ । स्वास्थ्य सुरक्षा अपनाएर घरघरमा टीका लगाउन सरकारले अपिल गरेपछि दशैंको माहोल तातेन ।

यद्यपी, राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा सामान्य टीका आदनप्रदान भएको छ । सर्वसाधारणको उपस्थिति नभएपनि विशिष्टहरुले दशैंको टीका ग्रहण गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिइन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिएकी हुन ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्यलाई पनि राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उनकी धर्मपत्नी राधिका शाक्यलाई दशैंको टीका लगाइदिएका थिए ।

प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामै रहेकाले प्रधानमन्त्री ओलीले यस वर्ष बुवाको हातबाट दशैंको टीका लगाउन पाएनन् ।

शीतल निवास र बालुवाटारमा भीआइपीको दशैं रौनक चलिरहँदा खुल्लामन्चमा पनि खाना खान लाइन बसेकाहरुले पनि टीका लगाए । यस्तो अवसर ‘लकडाउन’ सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको हो ।

गएको चैत १४ गतेबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिहरुलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो ।

लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टिमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर उक्त टिमले सरकारको कमी पूरा गरेको सर्वसाधारणले बताएका छन् । हाम्रो टिमलगायतका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाइ छ ।

हाम्रो टिम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमा(बुवाको हातको आशीर्वादभन्दा पनि सात महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए ।

टिप्पणी थप्नुहोस्