भारतीय सेनाध्यक्षको नेपाल भ्रमणबारे चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्ने भएकी छन् ।

कात्तिक १९ गते तीन दिने भ्रमणमा नेपाल आउने नरवणे २१ गतेसम्म काठमाडौं रहने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको हो ।

नेपाली सेनाले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार कात्तिक २० गते नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिन लागिएको हो ।

कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।

तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् ।

सेनाध्यक्ष नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते भने प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाल र भारतका सेनाध्यक्षले एकअर्काको देशका महारथी ग्रहण गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ । प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीचको सीमा विवाद र सुरक्षा चुनौतीका बिषय छलफल हुने जनाइएको छ ।

भारतले नेपाली भूमि कालापानीमा सडक मार्ग उद्घाटन गरेपछि भएको विरोधलाई सेनाध्यक्ष नरवणेले चीनको उक्साहटमा काठमाडौंमा प्रदर्शन भइरहेको भन्ने विवादास्पद अभिव्यक्ति दिएकामा नेपालमा उनको विरोध भएको थियो ।

आफ्नो अभिव्यक्ति नसच्याउँदै नेपाल सरकारले भने नरवणेलाई मानार्थ महारथीको दर्जाबाट सम्मान गर्न लागेको हो । नरवणेको नेपाल भ्रमण गत बर्षको माघ २० गते तय भएकोमा कोराना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।

सीमा विवादले दुई मुलुकबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको अवस्थामा भारतीय सेनाध्यक्षको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर दुई देशबीच चिसिएको सम्बन्धको समयमा भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण हुन गइरहेको हो ।

भारतीय अधिकारीहरुले पनि नरवणेको नेपाल भ्रमणको क्रममा दुई देशबीचको सीमा विवाद र सुरक्षा चुनौतीका विषय मुख्य एजेन्डा भएको बताएका छन् । यसलेपनि भारतीय सेनाध्यक्षको भ्रमणप्रति थप चासो बढेको छ ।

टिप्पणी थप्नुहोस्