किंगरियनपुरका अधिकांश घरमा दुई छाक टार्न समस्या

-रुपान्तरण सम्वाददाता

नेपालगन्ज । कोभिड १९ का कारण काम नपाउँदा र भएको रोजगारी समेत गुम्दा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ पुरैनीस्थित किंगरियनपुरका अधिकांश वासिन्दालाई विहान बेलुकाको छाक टार्न समस्या भएको छ ।

करिब तीन सय घर परिवार रहेको सो गाउँका सबैजसो पुरुषहरु दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । तर, कोरानाका कारण गत ६ महिनादेखि काम नपाएर अधिकांशका घरमा अहिले दुईछाक टार्न समस्या छ ।

पाँच महिना अगाडी वडा कार्यालयले बाँडेको राहात बाहेक हालसम्म कुनैपनि सरकारी राहात नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको किंगरियनपुरका अधिकांश वासिन्दाको गुनासो छ ।

किंगरियनपुरका अगुवा रज्जब किंगरियाले गाउँका अधिकांशले मजदुरी गरेर पेट पाल्दै आएकोमा धेरै समयदेखि काम नपाउँदा र भएको काम पनि गुम्दा धेरैको घरमा पेट भर्न समस्या भएको बताए ।

उनले भोकभोकै बस्ने अवस्था आएपछि केहीले मागेर जेनतेन जिविका चलाउन थालेको र अरुले अझैपनि कामको खोजीमा संघर्ष गरिरहेको बताए ।

‘सरकारले विकल्प बिनाको बन्दाबन्दीको घोषणा गरेर मात्र दायीत्व निभाएको ठान्यो, तर जनताको पीडा बुझ्न सकेन ।’ ‘हाम्रो घरमा अहिले दिनदिनै चुलो बल्दैन,तरपनि कसैले आएर हाल खबर समेत लिएको छैन’,रज्जबले थपे ।

गाउँका अर्का स्थानीय कलिमुन किंगरियाले पनि काम नपाएपछि अहिले धेरैको घरमा परिवारको पेट भर्न समस्या भएको बताइन् । उनले सरकारले गरिबको लागि कि त काम दिनु परयो अन्यथा दुई छाकको व्यवस्था मिलाउनु पर्ने माग गरिन् ।

यो पिडा रज्जब र कलिमुनको मात्र नभई किंगरियनपुरका सबैजसो वासिन्दाको साझा पिडा हो । काम नपाएकोले अहिले सो गाउँका अधिकांशको अनुहारमा के खाने र कसरी बालबच्चा पाल्ने भन्ने चिन्ता प्रष्ट देख्न सकिन्छ ।

दैनिक ज्याला मजदुरी गर्ने, गाउँगाउँमा पुगेर चुरा र श्रृंगारका सामान बेचेर गुजारा चलाउने तथा केही महिलाहरुले शहरमा घरेलु कामदारका रुपमा काम गरी परिवार पाल्दै आएकोमा अहिले काम नपाएपछि कतिपयले दैनिक मागेर गुजारा चलाइरहेको पनि पाईएको छ ।

गाउँका अगुवा रज्जबले तत्काल दुई छाक टार्ने व्यवस्था मिलाउन तीनवटै तहका सरकारसंग आग्रह गरेका छन् । उनले जिल्लामा काम गर्ने गैर सरकारी संघसस्थालाई समेत सहयोगका लागि अनुरोध गरेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री