छैन दशैंको रौनक

काठमाडौं । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो ।

शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताइन ।

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस बञ्चित भएका छन् ।

गोकर्णेश्वर नगरपालिका-३ स्थित पर्यटकीय स्थल तारेभीरमा भने स्थानीयवासी दशैँमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौँका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । निजी सवारी हुनेहरु आफन्तकहाँ पुगेपनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो सङ्क्रमणबाट हिँड्न तर्सिएका छन् ।

सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बताए । त्रासकै बीच यस वर्ष राजधानी बाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भीड भएको छैन ।

सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरा सहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केही मानिसले कात्तिक महिनामा परेको दशैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले चान्द्रमास अनुसार अहिले पनि आश्विन शुक्ल पक्ष नै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सवैमा आह्वान गरे ।

टिप्पणी थप्नुहोस्