अवैधरुपमा भित्रिएका सामान दैनिकजसो बरामद

-सिराज खान

नेपालगन्ज । सीमापारीबाट अवैध रुरपमा भित्र्याईएका ठुलो परिमाणको मालसामानहरुलाई तस्करी नियन्त्रणका लागि सीमानामा खटिएको शसस्त्र प्रहरीको नम्बर ३० गण बागेश्वरीले दैनिकजसो नियन्त्रणमा लिइरहेको छ ।

कोभिड १९ का कारण सीमानाको मुख्य नाका बन्द हुँदा तस्करहरुले साइड नाकाहरुबाट तस्करी गरिरहेको अवस्थामा दिनहुँजसो शसस्त्र प्रहरीले अवैध माल सामान नियन्त्रणमा लिने गरेको पाईएको छ ।

सोही क्रममा भारतबाट नेपालगन्ज ल्याइदै गरिएको ठुलो परिमाणको अवैध जुत्ता पछिल्लो समयमा बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले जनाएको छ ।

गणका प्रमुख एसपी अशोक बमका अनुसार गणबाट गस्तीमा गएको सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा तस्करीमा प्रयोग भएका साईकल बरामद गरेको छ ।

नेपालगन्जको वडा नम्बर १५ नयाँ बस्तीबाट २३४ जोर सेनथेटिक जुत्ता, ८७ जोर स्पोर्ट्स जुत्ता र ४ थान साइकल बरामद गरिएको गणका प्रमुख एसपी बमले बताए । उनले प्रहरीलाई देखेपछि तस्करहरु सामान फालेर सीमापारी भागेको पनि बताए ।

बरामद गरिएका जुत्ता र तस्करीमा प्रयोग भएका साइकलको मुल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

शसस्त्र प्रहरीले सीमानाका धेरै ठाउँमा बीओपी स्थापना गरेर निगरानी बढाएपछि दिनहुँजसो तस्करीका सामान बरामद हुन थालेपछि तस्करी घट्दै गएको जनाउँदै सो गणले तर पनि चोरीछिपी सामान भित्रयाउने प्रयास भने निरन्तर जारी रहेको जनाएको छ ।

भारतबाट गुटखा, कपडा, जुत्ता, कस्मेटिक सामान तथा बोइलर कुखुरा तस्करी गरेर ल्याउनेहरु सीमानामा सक्रिय रहेको पाइएको छ । यसरी ल्याईएका सामानलाई नियन्त्रणमा लिने क्रममा गत ६ महिनामा ५० वटा भारतीय नम्बरका मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

टिप्पणी थप्नुहोस्