कोरोना संक्रमणका विरामीबारे नयाँ तथ्य

लन्डन । कोरोना संक्रमण भएको पहिलो साता ५ भन्दा बढी लक्षण देखिनु दीर्घकालसम्म संक्रमणको असर रहने संकेत भएको विज्ञहरुले बताएका छन् ।

किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरुले कोरोना संक्रमण भएको पहिलो साता ५ भन्दा बढी लक्षण देखियो भने दीर्घकालसम्म कोरोना रहने संकेत भएको बताएका हुन् ।

अनुसन्धान अनुसार संक्रमणको पहिलो साता थकान, टाउको दुख्ने, श्वास लिन कठिन हुने, बोल्न गाह्रो हुने, मांसपेशी दुख्ने, स्वाद नपाउने जस्ता लक्षण देखिए दीर्घ संक्रमणको खतरा हुन्छ । कोरोना संक्रमण भएको चार देखि आठ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुने विज्ञहरुको भनाइ छ ।

यस्ता बिरामीमा कोरोना नेगेटिभ नतिजा आए पनि रुघा, खोकी, श्वास प्रश्वासमा कठिन, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरहने अनुसन्धानकर्ताको भनाइ छ । बेलायतका वैज्ञानिकले कोरोनाबाट संक्रमित ४० हजार मानिसमा अनुसन्धान गरेका थिए ।

बेलायत र स्विडेनमा गरिएको अनुसन्धानमा २० प्रतिशत संक्रमितले एक महिनासम्म पनि राम्रोसँग निको हुन नसकेको पाइएको छ । १ सय ९० बिरामीमा भने ८ देखि १० हप्तासम्म लगातार कोरोनाका लक्षण देखिएको छ । एक सय जना बिरामीले संक्रमणको १० हप्तासम्म पीडा महसुस गरेको पाइयो ।

कोरोना संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत मानिसमा महिनौंसम्म भाइरसका असर देखिएको छ । अनुसन्धानकर्ताले यी घटनाले लामो समयसम्म कोरोना भाइरसको असर हुन्छ भन्ने प्रमाणित गरेको भन्दै संक्रमणमुक्त हुनेबित्तिकै काममा सक्रिय भइहाल्न नहुने सुझाव दिएका छन् ।

टिप्पणी थप्नुहोस्