घरमै बसेर बृद्धभत्ता पाउँदा डुडुवाका जेष्ठ नागरिक दंग

रुपान्तरण सम्वाददाता

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता उनिहरुको घरघरमै पुगेर वितरण गर्न सुरु गरेको छ ।

कोभिड १९ का कारण जेष्ठ नागरिकलाई घरबाट बाहिर वडा कार्यालय वा बैंकमा बोलाउन नसकिने अवस्था रहेकोले उनीहरुलाई घरघरमै गएर हात हातमा भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले नयाँ आर्थिक बर्ष २०७७/०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कात्तिकसम्मको सुरक्षा भत्ता घरघरमा पुगेर दिन थालिएको बताए ।

उनले कोभिड १९ का कारण जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि घरघरमा पुगेर भत्ता वितरण गर्ने योजना बनाई सो कार्यान्वयन गरिएको बताए ।  गाउँपालिकाको ६ वटै वडामा अहिले भत्ता वितरण शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी स्वयं आफंसो कार्यमा खटिएका छन् । उनले वडा नं. २ का जेष्ठ नागरिक बदलु शर्मालाई भत्ता रकम हस्तान्तरण गरेर सामाजिक भत्ता वितरण कार्य सुरु गरेका थिए ।

जेष्ठ नागरिकको स्वास्थ्यको सम्मान गर्दै घर–घरमा पुगेर रकम वितरण गर्ने काम भैरहेको जनाउँदै अध्यक्ष चौधरीले यो महामारीका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्नमा यो भत्ताले राहत दिने विश्वास व्यक्त गरे ।

गाउँपालिका भित्रका आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको हुँदा जेष्ठ नागरिकको पुर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था पनि गाउँपालिकाले गर्ने जनाएको छ ।

प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला गरि तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल महिलालाई प्रति महिना दुई हजार, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार ६ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सय रुपियाँका दरले रकम वितरण भैरहेको जनाईएको छ ।

यसैगरि, अपांगता भएका व्यक्ती (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई  चार सय रुपियाँ प्रति महिनाका दरले आफ्नै स्रोतबाट पालिकाले वितरण गरिरहेको छ ।

कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गरि घरदैलो अभियान अन्तर्गत रकम वितरण गरिरहेको अध्यक्ष चौधरीले बताए ।

टिप्पणी थप्नुहोस्