हिमाली जिल्लामा हिमपात बिरुद्धको योजना

राजु लामिछाने

रुकुम पूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा हिमपात बिरुद्ध प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति रुकुम पुर्वले हिमपातको समयमा हुने घटनालाई मध्यनजर गर्दै पुर्व तयारीको लागि महत्वपूर्ण योजना तय गरेको हो ।

हिमपातको समय नजिकिदै आएकाले जिल्लाका तीन वटै गाउँपालिका भित्रका के कति घरधुरी हिपातको जोखिममा रहन्छन्, त्यसको विवरण संकलन गर्ने, जोखिममा पर्ने घरधुरीहरुलाई आवश्यक सामाग्रीहरु वितरण गर्ने, विपदको समयमा खटिने जिल्ला स्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

यस्तै उक्त विवरण संकलन गरी आवश्यक पर्ने स्रोत साधन तथा बजेट गृह मन्त्रालयमा माग गरि पठाउने, हिमपात तथा अन्य विपदको समयमा खाद्यान्न अभाव हुन नदिन खाद्य संस्थान र अन्य व्यापार कम्पनीहरुलाई सवै खाद्य सामाग्रीहरु सम्बन्धित पालिकामा पुर्‍याउन सहजिकरण गर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी राईले जनाए ।

जिल्लाको विपद न्युनिकरण प्रतिकार्य योजना २०७७ अनुसार जिल्लामा हुने र हुन सक्ने सवै खाले विपद व्यवस्थापन उद्धार र प्रतिकार्यको लागि लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक बजेट माग गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी अन्जु पोखरेलले बताईन् । हिमपात सम्बन्धि पुर्व तयारी गर्न गृह मन्त्रालयबाट आएको परिपत्र अनुसार यस्तो निर्णय गरिएको सहायक प्रजिअ पोखरेलले उल्लेख गरिन् ।

टिप्पणी थप्नुहोस्